ल्हारक्याल लामा सांसदबाट निलम्बित

काठमाडौं, ३० फागुन । एमाओवादी सांसद ल्हारक्याल लामा निलम्बित भएका छन् । लामाको इन्भेस्टमेन्ट बैंकमा रहेको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीले उनलाई हातहतियार तथा खरखजनामा मुद्दा चलाएको छ । फौजदारी अभियोग लाग्नासाथ सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

लामाको काठमाडौंको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको शाखाको लकरमा भेटिएको गोली चाइनिज पेस्तोल ‘सेभेन प्वाइन्ट सिक्स टु’को भएको पत्ता लागेको छ । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा आइतबार उनको लकरमा १४ राउन्ड गोली भेटिएको थियो ।

सक्कली नाम डा. खेन्पो छिमे छिरिङ भएका सिन्धुपाल्चोक हेलम्बु–६ को ५३ वर्षीय लामाको प्रोफाइलमा ‘०५७ सालदेखि राजनीतिमा लागेको’ उल्लेख छ । पहिलो संविधानसभामा ल्हारक्याल एमालेबाट समानुपातिक सभासद् थिए । एमाले सभासद् रहेकै बेला लामा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका थिए । तर, दोहोरो नागरिकता रहेको प्रमाण फेला परेपछि उनी मन्त्रीबाट बाहिरिन बाध्य भएका थिए ।

पहिलो संविधानसभामा एमालेले उपयोग गरेका लामालाई दोस्रो संविधानसभामा एमाओवादीले लामालाई सभासद् बनाएको थियो । एमाओवादीलाई मोटो रकम दिएर लामा सभासद् बनेको भन्दै अख्तियारमा उजुरी परेको स्रोत बताउँछ । माओवादीका केही नेताले लामाबाट अपार्टमेन्ट र गाडीसमेत लिएको अख्तियार स्रोतको दाबी छ । यद्यपि, यसबारे अनुसन्धान जारी रहेको उसले जनाएको छ ।

वौद्ध दर्शनमा पिएचडी गरेको भन्दै भिक्षुको जस्तो पहिरनमा सजिएर हिँड्ने लामाका साथबाट पेस्तोलको गोली बरामद हुँदा धेरै मानिस आश्चर्यचकित बनेका छन् । पक्राउपछि लामालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित नगराई जिल्ला प्रशासन कार्यालयमा पु¥याएर ५ दिनका लागि थुनामा राख्ने म्याद लिएको छ । लामालाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराइएको सुनेपछि १ कानुन व्यवसायीले प्रतिक्रिया दिए, ‘अब सर्वोच्च अदालतमा कसैले बन्दी प्रत्यक्षीकरणको रिट हाल्न सक्छ, या सरकारको दबाबबाट सिडियोले उनको मुद्दालाई कमजोर बनाइदिन सक्छ ।’

हातहतियार तथा खरखजना ऐनको दफा २४ अनुसार गोलीसहित पक्राउ परेका सांसद लामाको मुद्दा हेर्ने अधिकारी प्रमुख जिल्ला अधिकारी नै हुन् । तर, सिडियोलाई दिइएको यो अधिकार क्षेत्र नयाँ संविधानको धारा ३०० को उपधारा (१) सँग बाझिएको छ । नयाँ संविधान अनुसार १ वर्षभन्दा बढी सजायँ हुने फैजदारी कसुरसम्बन्धी मुद्दाहरू यो संविधान प्रारम्भ भएपछि सम्बन्धित जिल्ला अदालतमा सर्छन् । प्रहरीले लामालाई हातहतियार खरखजाना ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको छ । ऐनमा बन्दुकलाई हातहतियार अन्तर्गत राखिएको छ भने गोलीलाई खजनाअन्तर्गत राखिएको छ । ल्हारक्यालले बैंकमा गोली राखेर ऐनको दफा ८ को बर्खिलाप गरेको देखिन्छ । यस्तो कार्य गर्नेलाई ऐनको दफा २० (३) अनुसार १ वर्षदेखि ३ वर्षसम्म जेल र २० हजारदेखि ६० हजारसम्म जरिवाना हुन सक्छ ।

नयाँ संविधानको धारा ३०० को उपधारा ७ ले १ वर्षभन्दा बढी सजायँ हुने फौजदारी कसुरसम्बन्धी मुद्दाहरू जिल्ला अदालतले हेर्ने बताए पनि संविधानको नयाँ व्यवस्था अनुसार कानुन संशोधन नभइसकेको अवस्थामा ल्हारक्यालको मुद्दा जिल्ला प्रशासनबाट अघि बढ्ने देखिएको छ ।

सांसद ल्हारक्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालेको थियो । यहीक्रममा लामालाई समेत लिएर आइतबार अख्तियारको टोली दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्न पुगेको थियो । तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करको दाबी अनुसार अचम्म के भयो भने सुन वा विदेशी डलर भेटिएला भनेर खोलिएको बैंकको लकरभित्र त बन्दुकमा प्रयोग गर्ने १४ राउन्ड गोली पो भेटियो । सम्पत्तिमाथि छानबिन भइरहेका बेला लामाका साथबाट गोली भेटिएपछि अख्तियारको छानबिन अब प्रहरीतर्फ मोडिएको छ । तर, यसको अर्थ अख्तियारले उनको सम्पत्तिमाथि अनुसन्धान रोकेको चाँहि छैन ।

प्रतिक्रिया