१० लाख खर्चेपछि कविताको ‘भूलमा भूल भयो’

kabita-Raiकाठमाडौं, २९ फागुन । अरुणा लामाका गीत भनेपछि हुरुक्कै भएर सुन्ने र गाउने कविता राईको नयाँ गीति एल्बम ‘भूलमा भूल भयो’ बजारमा आउन लागेको छ । ‘भूलमा भूल भयो’ कविताको पहिलो एकल एल्बम हो, जुन एल्बम केही दिनमै उनी सार्वजनिक गर्ने उनले जानकारी दिएकी छन् ।
‘एल्बमका लागि सबै गीत रेकर्ड भइसक्यो’ उनले भनिन्, ‘२ वटा गीतको म्युजिक भिडियोसमेत गरेकी छु । केही दिनमै एल्बम रिलिज गर्दै छु ।’ एल्बमका गीत रेकर्डिङ भइसकेपछि आफ्नो एउटा इच्छा पूरा भएको उनले सुनाइन् । गायनप्रति इच्छा र रहर भएर पनि समयमा एल्बम ल्याउन नसकेको पनि उनी दुःखित पनि छिन् । ‘एल्बम गर्छु भन्दा–भन्दै विदेश गएँ’ उनले भनिन्, ‘त्यसैले पनि समयमै इच्छा पूरा गर्न सकिनँ । तर, अब गायनलाई निरन्तरता दिनेछु ।’
हिलो एल्बम ‘भूलमा भूल भयो’ भए पनि कविताका लागि पहिलो गीत भने होइन । उनी ११ वर्षदेखि नै विभिन्न स्टेज सोहरूमा गाउने गर्थिन् । केही गायन प्रतियोगितामा पनि सहभागी जनाएको कविताले सुनाइन् । ‘स्कुलमा हुने हरेक कार्यक्रमहरूमा गाउने गर्थें’ कविताले भनिन्, ‘एनटिभीबाट प्रसारण भएको तिम्रो सुर मेरो गीतमा पनि सहभागी जनाएकी थिएँ ।’
जतिखेरदेखि गीत सुन्न थालिन्, त्यो समयदेखि नै गायिका बन्ने सपना र रहर लिएकी कविता भन्छिन्, ‘मलाई जतिखेर गुनगुनाउन मन लाग्छ । यो मेरो गायनप्रतिको तीव्र इच्छा हो ।’ आफ्नो रहर पूरा गर्ने एल्बम भएकै कारण उनले ‘भूलमा भूल भयो’ मा कुनै कन्जुस्याइँ नगरी पैसा खर्च गरेकी छन् । एल्बमको ८ वटा गीतका लागि कविताले करिब १० लाख रुपैयाँ खर्च गरेकी छन् । त्यो १० लाख खर्चबाटै २ वटा म्युजिक भिडियो पनि भएको उनले सुनाइन् । एल्बममा खर्चिएको लगानी कसरी उठाउने त ? उनी भन्छिन्, ‘खै, कसरी उठाउने थाहा छैन । लगानी नउठे पनि रहर त पूरा भयो नि त ।’
एल्बम ‘भूलमा भूल भयो’ मा भूलमा भूल भयो, आउ सामु मीठो गीत गाउ, तिमी को हौँ, तिमी सुस्तरी, लाखौँ आएजस्ता ८ वटा गीत छन् । सुरेश केसी, डिम्पल वनेम र विरेन्द्र राईको शब्दरचना रहेको ती गीतमा ओमप्रकाश राई, सुरेश अधिकारी, निलम रोजु राई र जन्म राइको संगीत रहेको छ ।

प्रतिक्रिया