उर्जामा लगानी जुटाउन दाता सम्मेलन

काठमाडौं, २७ फागुन । ‘दश वर्षमा दश हजार मेगावाट’ विद्युत उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्ने तयारी गरेको छ ।

सम्मेलनको मिति तय नभए पनि मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने लक्ष्यका साथ सरकारले आवश्यक तयारी गरेको हो । नेपालको जलविद्युत् क्षेत्रमा हाल विश्व बैंक, एसियाली विकास बैंक, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, जर्मन सहयोग नियोग, कुवेती कोष, साउदी कोष, युरोपेली बैंकलगायतले सहयोग गर्दै आएका छन् ।

ऊर्जा क्षेत्रको विकासका लागि भन्दै सरकारले यही फागुनको पहिलो साता ऊर्जा संकट निवारणकाल घोषणा गरेको थियो । हाल उक्त घोषणालाई नीतिगत र व्यावहारिक रूपमा अगाडि बढाउन विभिन्न चरणमा काम सुरु गरिएको छ ।

प्रसारण लाइन निर्माण, विद्युत् खरिद सम्झौता, विद्युत् ऐन तथा नियमन आयोग गठनसम्बन्धी ऐन, विद्युत चोरी नियन्त्रण तथा नियमन ऐनको तयारीमा रहेको ऊर्जा मन्त्रालयले पछिल्लो पटक दाता सम्मेलनको समेत तयारी गरेको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता डा सञ्जय शर्माका अनुसार सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्था र लगानीका क्षेत्र तथा अवसरका बारेमा जानकारी गराइनेछ । संविधानसभाबाट संविधान जारी भइसकेको र मुलुक क्रमशः स्थिरताको बाटोमा लागिरहेको अवस्थामा द्रुततर रूपमा ऊर्जा क्षेत्रको विकासमा लाग्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

भारतको अघोषित नाकाबन्दीपछि ऊर्जा क्षेत्रको विकास र विस्तार मुलुकका लागि अपरिहार्य बन्दै गएको छ । नदी प्रवाहमा आधारितभन्दा पनि जलाशयुक्त र बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यसहित सरकारले ऊर्जा संकटकाल घोषणा गरिसकेको सन्दर्भमा दातृ निकायको सम्मेलनले त्यसमा थप बल पु¥याउने ऊर्जा मन्त्रालयको भनाइ छ ।

‘दातृ निकायबीच द्विपक्षीय रूपमा छलफल र संवाद होओस् भन्ने चासोका साथ सामान्य तयारी गरिएको छ, केही दिनभित्रै हामी मिति तय गर्छौं’, प्रवक्ता डा शर्माले भने । गत वैशाखमा गएको भूकम्पपछि सरकारले पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा दातृ निकायले पुनः निर्माणमा सहयोग गर्ने वचन दिएका थिए । पुनः निर्माण प्राधिकरणमा भएको ढिलाइसँगै केही निराशा पैदा भए पनि पछिल्लो दिनमा प्राधिकरणले काम सुरु गरेपछि सम्पूर्ण अन्योलता हटेको छ ।

ऊर्जा क्षेत्रको विकास गर्ने र विश्वासिलो वातावरण बनाउने लक्ष्यका साथ सम्मेलनको तयारी भइरहेको मन्त्रालयको दाबी छ । कुन कुन आयोजना र कुन क्षेत्रमा कसरी सहयोग लिने भन्ने विषयमा प्रस्ट धारणाका लागि दाता सम्मेलनको तयारी गरिएको बताइएको छ । मन्त्रालयले सम्भवतः दुई सातापछि उक्त सम्मेलनको आयोजना गर्ने गरी तयारी सुरु गरेको छ ।

दाता सम्मेलनको लक्ष्य र अपेक्षाका बारेमा छलफलपछि नै तय हुने उल्लेख गर्दै प्रवक्ता शर्माले ऊर्जा संकट निवारणकालले निदृष्ट गरेका लक्ष्य र चाहनालाई पूरा गराउन स्वदेशी तथा विदेशी निकायसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताए । सरकारले विशेषगरी जलाशययुक्त आयोजना नै ऊर्जा संकट निवारण गर्ने प्रमुख आधारका रूपमा चित्रण गरिरहेको सन्दर्भमा दाता सम्मेलनले सोही दिशालाई आत्मसात् गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउनका लागि सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आग्रह गरिने भएको छ । सोसम्बन्धी तयारी भइरहेको छ ।

प्रतिक्रिया