‘संविधान कार्यान्वयनको नेतृत्व लिन्छौं’

काठमाडौँ, २७ फागुन । काग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई पार्टीले पूरा गर्ने बताएका छन् ।

बूढानिलकण्ठस्थित आफ्नै निवासमा बिहीबार नेविसंघको बधाई तथा शुभकामना ग्रहण गर्दै उनले संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले त्यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कांग्रेस सभापति देउवाले मुलुकमा विद्यमान प्रदेश सीमांकनलगायतका मधेसवादी दलका मुद्दालाई समाधान गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

पार्टीको भ्रातृ संगठन नेविसंघको लामो समयदेखि अधिवेशन हुन नसक्दा युवाको नेतृत्व विकास र शैक्षिक मुद्दा प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै उनले केन्द्रीय समितिले पूर्णता पाएलगत्तै नेविसंघलगायतका सबै भ्रातृ संगठनको अधिवेशन गराउन पहल गर्ने बताए ।

सभापति देउवाले भने, ‘सङ्गठनलाई सक्रिय बनाई पार्टीलाई गतिशील र जीवन्त तुल्याउन नेविसंघलगायतका संस्थाको महाधिवेशन चाँडो हुनुपर्छ, त्यसमा मैले व्यक्तिगत रूपमा भन्नुभन्दा पनि केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डा भ्रातृ संस्थाको महाधिवेशनतर्फ केन्द्रित हुन्छ ।’

नेविसंघ अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसंघको निर्वाचन नहँुदा संगठन गतिशील बन्न नसकेको र नेतृत्व विकासमा ह्रास आएको भन्दै चाँडो निर्वाचनको प्रक्रिया अघि बढाउन पहल गर्न सभापति देउवासमक्ष आग्रह गरे ।

उनले विश्वविद्यालयमा पनि लामो समयदेखि स्ववियु निर्वाचन नभएकाले विद्यार्थी नेतृत्व र शैक्षिक मुद्दा अवरुद्ध भएको भन्दै तत्काल स्ववियु निर्वाचन गर्नका लागि पहल गरिदिन आग्रह गरे ।

सभापति देउवालाई बधाई दिन नेविसंघका अध्यक्ष रञ्जित कर्ण र अन्य पदाधिकारी तथा सदस्यसहितको टोली देउवा निवास बूढानिलकण्ठ पुगेको हो । काँग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवालाई बधाई तथा शुभकामना दिन नेता कार्यकर्ता तथा शुभेच्छुकको देउवा निवासमा बिहानैदेखि भीड लागेको थियो ।

प्रतिक्रिया