समृद्ध नेपालको निर्माणको अभियान आवश्यक : उपराष्ट्रपति पुन

काठमाडौं, २६ फागुन । अपांगता भएका व्यक्तिका लागि स्वावलम्बन जीवन पद्धति केन्द्रले गरेको कार्यक्रमका वक्ताले अपांगता भएका व्यक्तिमाथिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । अपांगता भएका व्यक्तिको महाअभियान (एसिया ट्राई) २०१६ को उद्घाटनका अवसरमा उनीहरूले मानवनिर्मित भौतिक संरचना सडक, सडकपेटी, घर भवन, सार्वजनिक सेवाका भवन, विद्यालय, कार्यालय, सवारीसाधन अपांगमैत्री हुनुपर्ने आवश्यकतामा जोडदिएका हुन् ।

महाअभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको इतिहासमा पहिलोपटक भएको महान जनयुद्ध र त्यसपछिका मधेस आन्दोलन तथा अन्य आन्दोलनबाट अपांग भएका योद्धाको सम्मान गर्नुपर्ने बताए । उनले अपांगता भएका व्यक्तिले आफ्नो अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको फलस्वरुप संघीयता, धर्मनिरपेक्षता, समानता तथा समावेशीतासहितको अग्रगामी संविधान जारी भएको बताए । पुनले २००७ सालदेखिको जनताको इच्छा बमोजिमको संविधान कार्यान्वयनको प्रक्रियालाई तीव्ररूपमा अघि बढाउन राजनीतिक दल तथा सरकारसहित सबैको ध्यानाकर्षण गराएका छन् । उनले,‘समृद्ध नेपालको निर्माणतर्फ हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ ।’ भनेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले नेपालमा अपांग र सपांगमा कुनै भेद्भाव नरहेको बताउँदै अपांगता भएका व्यक्ति कुनै पनि दृष्टिकोणले असक्षम नरहेको बताए । कार्यक्रमका सभापति एवं महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले मन्त्रालयले समुदायमा आधारित पुनः स्थापना कार्यक्रम, अपांगता भएका व्यक्तिलाई भत्ता, विभिन्न परीक्षामा सहयोगी राख्न पाउने व्यवस्था, तथा आयकरमा छुट, सवारीसाधनमा छुट दिँदै आएको बताए ।

यसैगरी राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपांगतामाथि हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउने कार्य निकै चुनौतीपूर्ण रहेको बताए । सो महाअभियानमा जापान, कोरिया, ताइवान, पाकिस्तान, भारत, बंगलादेश, कम्बोडिया, भियतनाम, फिलिपिन्स तथा नेपालका गरी कुल २५० जनाले भाग लिइरहेका छन् ।

प्रतिक्रिया