हाम्रो धर्म हाम्रो संस्कृति

Mohan Prasad Sapkotaलिंगको अर्थ
चिन्ह, शिवमूर्तिविशेष (शब्दकल्पद्रूम) । लिंग प्रकृतिलाई भनिन्छ (लिंगपुराण) । आकाश नै लिंग हो र पृथ्वी त्यसको आधार हो । सबै शून्यबाट उत्पत्ति भएको र शून्यमै बिलाउने भएकोले नै यसलाई लिंग भनिएको हो (स्कन्द पुराण) । प्रलयकालमा पूरै सृष्टि जसमा समाहित हुन्छ र सृष्टिकालमा पूरै ब्रह्माण्ड जसबाट सृष्टि हुन्छ त्यही नै लिंग हो (वायु पुराण) । सबै शिवलिंगको गणना गर्न सकिन्न, यो पूरै भूमि लिंगमय छ, यो सारा संसार नै लिंगमय छ (शिव पुराण) । ज्योतिर्लिंगलाई पुराणहरूमा प्रकाश स्तम्भ, अग्नि स्तम्भ, ऊर्जा स्तम्भ, ब्रह्माण्डीय स्तम्भ पनि भनिएको पाइन्छ ।

ज्योतिर्लिंगको उत्पत्ति : विष्णु र ब्रह्माका बीचमा झगडा भइरहँदा ती दुईका बीचमा एउटा लिंग प्रकट भयो । त्यो अनेकौँ ज्वालाहरूले घेरिएको थियो । अति तेजस्वी थियो । त्यो घट्नेबढ्ने पनि गरिरहेको थिएन । त्यसको आदि र अन्त पनि पत्ता लगाउन सकिँदैनथ्यो । (विज्ञान यसलाई महाविस्फोट सम्झन्छ) त्यसको फेद र टुप्पो पत्ता लगाउन विष्णु बराहको रूप लिएर तलतिर र हाँसको रूप लिएर ब्रह्मा माथितिर गए । १ हजार वर्षसम्म पनि तिनले त्यसको फेद र टुप्पो भेट्टाउन सकेनन् । थाकेर फर्केर ती पहिलेको ठाउँमा आइपुगे । अकस्मात त्यो लिंगबाट ओम जस्तो एउटा ध्वनी निस्कियो (शिव पुराण) ।

वनावट : शिवलिंगका तीन भाग हुन्छन् । फेदमा ब्रह्मा, बीचमा विष्णु र टुप्पामा महादेव । अविर्भाव भएको मन्दराचलतिर नै प्रायः लिंगको धुरा (योनीको मुख) फर्किएको हुन्छ ।

परिक्रमा : शिवलिंगको कहिले पनि पूरा परिक्रमा गरिन्न । सधैँ आधाआधा गरिन्छ ।

पशुपति : देवतादेखि लिएर पिशाचसम्म सबै पशु हुन् । शिव यी सबैका पति हुन् त्यसैले पशुपति भएका हुन् (लिंगपुराण) । त्रिपुर दाह गर्न सम्पूर्ण देवतामय रथमा चढिसकेपछि शिवले सबै देवतालाई सबैले आफूमा पशुत्व भाव स्वीकार गरीे त्यसको स्वामी आफूलाई माने मात्र त्रिपुरदाह गर्न सकिने बताएका थिए । त्यसपछि सबैले आफूमा पशुत्व भावलाई स्वीकारे र तिनका पति भएका कारण शिव पशुपति भनिन थाले (शिवपुराण) ।

shiva_ling

शिव : शिवको अर्थ कल्याण हुन्छ (शिवं कल्याणं विद्यतेकस्य शिवः । श्यति अशुभमिति वा । शेरतेकवतिष्ठन्ते अणिमादयोकष्टौ गुणा अस्मिन् इति वा शिवः) । कविकल्पलतामा शिवका शम्भु, ईश आदि १ सय १९ पयार्यवाची शब्द दिइएका छन् । महाभारत अनुशासन पर्वमा शिवका हजार नाम दिइएको छ ।

सत्व, रज र तम यी तीन गुणको सृष्टि गरेका कारण शिवको कण्ठ तीन रेखामय बन्यो (लिंगपुराण) । शिवले निधारमा लगाएको तीन धर्काको टिका (त्रिपुण्ड्र) ले ब्रह्मा, विष्णु र रुद्रको सारतत्वलाई बुझाउँछ (शिव पुराण) ।

शिवरात्री : जब ज्योतिर्लिंग उत्पत्ति भएपछि त्यसको फेदटुप्पो पत्ता लगाउन नसकी ब्रह्मा विष्णु थाकेर फर्किए तब तिनलाई शिवले भन्नुभयो – आजका दिनलाई शिवरात्री भनिनेछ । जसले आजका दिन मेरो लिंग र त्यसको वेष्ठन (योनी आकारको भाग) को गच्छे अनुसार विधिपूर्वक पूजा गर्दछ, आज दिनरात निराहार बस्दछ, त्यसले एक वर्षसम्म नित्य मेरो पूजा गरेको फल प्राप्त गर्दछ । यो अनादि र अनन्त ज्योतिर्लिंग सबैले पूजा गर्न सकुन् भन्ना खातिर अब अति सानो रूपको हुनेछ । यो लिंग नै भोग र मोक्षको एक मात्र साधन हो । अग्निको अभेद्य पहाडसमान ज्योतिर्लिंग जहाँ प्रकट भएको छ त्यसलाई अरुणाचल भनिनेछ । भक्तहरूले मेरो लिंगकै स्थापना गर्नु, मूर्ति लिंगका अगाडि केही होइन । शिवलिंग नभएको तर मूर्तिहरू भएको कुनै पनि स्थानलाई क्षेत्र मानिने छैन ।

मेरो उत्तरी मुखबाट अ, पश्चिमको मुखबाट उ, दक्षिणको मुखबाट म, पूर्वको मुखबाट थोप्लो र बिचको मुखबाट नाद उत्पत्ति भई ॐ जन्मिएको हो । यही ॐ बाट ॐ नमः शिवाय जन्मिएको । यही पाँच अक्षरको मन्त्रबाट मातृका वर्ण जन्मिएका हुन् । मातृका वर्णबाट नै गायत्री मन्त्र जन्मिएको हो । गायत्री मन्त्रबाट नै सबै वेदको उत्पत्ति भएको हो । पूजा गर्न मेरो मूर्ति र लिंग समान हो । तै पनि लिंगको स्थान उच्च छ । मोक्ष चाहनेले मेरो लिंगकै पूजा गर्नु । लिंगलाई ॐ ले र योनी आकारको भागलाई नमः शिवाय मन्त्रले पूजा गर्नु । जहाँ शिवको लिंगसहितको पुण्यक्षेत्र हुन्छ त्यहाँ पाप मनले सोचे पनि त्यो लाखौं गुना बढेर जान्छ (शिवपुराण) ।

बेलपत्र : पार्वतीले आफ्नु निधारमा आएको पसिना हातले पुछेर फाल्दा त्यो मन्दार पर्वतमा गएर खस्यो र खसेको ठाउँमा बेलवृक्ष उम्रियो (स्कन्दपुराण) ।

बेलवृक्षको फेदमा जसले लिंगरूपी अविनाशी महादेवको स्थापना वा पूजा गर्दछ उसको कल्याण हुन्छ । जसले वेलवृक्षको फेदमा जल चढाउँछ उसलाई सबैतीर्थ नुहाएको फल मिल्दछ (शिवपुराण) । नयाँ बेलपत्र नपाइए एकपटक चढाइएको बेलपत्र पखालेर पटकपटक चढाउन हुन्छ । सकेसम्म सग्ला बेलपत्र (प्वाल नपेरको, नच्यातिएको, नदोब्रिएको, दाग नलागेको, तीन पात भएको) चढाउनु पर्दछ । (स्कन्दपुराण) । बेलपत्र सामान्यतः तीन पाते हुन्छ तर २१ पातसम्म भएका बेलपत्र पाइन्छन् ।

पूजामा ध्यान दिनुपर्ने केही कुरा (मान्यता) : शिवलाई चढाइने अक्षता कुनै हालतमा पनि खण्डित हुनु हुन्न (शिवपुराण) । केतकीको फूल कहिल्यै नचढाउनु । तुलसीको पात नचढाउनु । नरिवल चढाउन हुन्छ तर नरिवलको पानी चढाउन हुन्न । बेसार वा हलेदो चढाउन हुन्न । सिन्दूर चढाउन हुन्न । स्त्रीले शिवलिंगको स्पर्श गरेर पूजा नगर्नु, नजिकैबाट परिक्रमा पनि नगर्नु । तर यी कार्य शिवमूर्तिमा भने हुन्छ ।

सामान्य पूजा विधि : सबेरै उठेर नुहाउनु । अल्छि नगर्नु । नित्य कर्म गर्नु । शिवालयमा गई विधिपूर्वक यसरी शिवलिंगको पूजा गर्नु । फेरी रातमा जानु । संकल्प गर्नु । पूजासामग्री जम्मा गर्नु । पूजा त्यस्तो शिवलिंगको गर्नु जसको शास्त्रले महत्व बताइएको हुन्छ । लिंगको दक्षिण वा पश्चिमतिर पूजासामान राख्नु । अनि नुहाउनु । सुन्दर कपडा लगाउनु । तीनपटक आचमन गर्नु । पूजा गर्न सुरु गर्नु । चन्दन आदि जे चढाइन्छ मन्त्र नपढी नचढाउनु । गायन, वादन, नृत्य गरी चार प्रहर रातका प्रत्येक प्रहरमा यसरी नै पार्थिव शिवलिंग बनाई पूजा गर्नु । शिवरात्रिव्रतको महात्म्य सुन्नु, सुनाउनु । रातभर जाग्राम बस्नु । बिहान फेरी पूजा गर्नु । प्रार्थना गर्नु । पुष्पाञ्जली गर्नु । यथाशक्ति दानदक्षिणा दिनु । शिवभक्त ब्राह्मण र सन्यासीलाई खुवाउनु र आफूले खानु ।

शिवलिंग र विज्ञान :
पूरै ब्रह्माण्ड जसको वरिपरि घुम्दछ त्यो अक्ष (बहष्क) नै लिंग हो । ऐतिहासिक प्रमाणका आधारमा विक्रम संवत् भन्दा केही हजार वर्ष पहिले पृथ्विीमा असंख्य उल्कापात भयो । आदिमानवले यसलाई रुद्र उत्पत्ति भएको माने । जहाँजहाँ उल्कापिण्ड खसे, त्यहाँत्यहाँ यी पिण्डको सुरक्षाका लागि मन्दिर बनाइए । यसरी पृथ्विीमा हजारौँ शिवमन्दिर बनाइए । शिवलिंग अरू केही होइन न्युक्लियर रियाक्टर हो, त्यसैले यो शान्त भइरहोस् भनेर यसमा जल चढाइन्छ । महादेवलाई मनपर्ने भनी बताइएका बेलपत्र, आँक, धतुरो आदि सबै कुराले न्युक्लियर शक्तिलाई सोस्दछन् त्यसैले चढाइने गरिन्छ । शिवलिंगमा चढाइएको पानी पनि न्युक्लियरको प्रभाव लिएरै बगिरहेको हुन्छ, त्यसैले त्यसको असरबाट जोगिन नाघ्न हुन्न भनिएको हो । सबै ज्योतिर्लिंगका वरिपरि अधिक न्युक्लियरको सक्रियता पाइन्छ ।

पशुपतिनाथ  केही जानकारी
pasupatiहरेक वर्ष माघशुक्ल चतुर्दशीका दिन मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर त्यसमा पशुपतिको शिवलिंगको छायाँ प्रतिविम्वित गराई भक्तजनलाई छायाँदर्शन गराइन्छ । यो क्रम दिउँसदेखि साँझ आरती नहुँदासम्म चलाइन्छ । धोबीखोलादेखि पूर्व र वागमती नदीदेखि पश्चिममा जन्मिएका स्थानीय श्रेष्ठ समुदायले यस किसिमको संस्कृतिको समन्वय गर्ने परम्परा रही आएको छ ।

पशुपतिका चार मुख क्रमशः पूर्वका तत्पुरुष, दक्षिणका अघोर, पश्चिमका सद्योजात, उत्तरका वामदेव र आकाशतिरका ईशान हुन् । प्रत्येक मुखाकृतिमा दायाँ हातमा रुद्राक्ष माला र बायाँ हातमा कमण्डलु रहेको छ । ईशानरुप सबभन्दा श्रेष्ठतम रुप हो । पञ्चमुखमा गणना नगरिने शिवलिंगको तलतिर पनि मुख नै रहेको मानिन्छ र यसलाई कालाग्नि रुद्र मानिन्छ । दक्षिण दिशाको अघोर मुखलाई दक्षिणामूर्ति रूप भनिन्छ । यो गुरुमुख पनि हो । गुरुमुखको पूजा र दर्शन नगरी फल नमिल्ने हुनाले पहिले दक्षिणतिरबाटै पशुपति भित्र छिर्ने चलन थियो ।

पशुपतिलाई गोपाल वंशी राजा भुक्तमानले सुनको पाताले मोडेका थिए । मन्दिरको स्थापना प्रचण्डदेवले, देवल निर्माण सुपुष्प देवले, पञ्चामृतले नुहाउने चलन पृथ्वीनारायण शाहले, अहिलेको मूर्ति बनाएको जयसिंह देवले, महास्नान गराउने चलन अभय मल्लले, भट्ट पूजारी राख्ने चलन यक्ष मल्लले, राष्ट्रिय देवताको मान्यता दिएको अंशुवर्माले र स्वर्णमय बनाएको भाष्कर वर्माले, सुनको छाना बनाएको शिवदेवले, भनीे उल्लेख भएको पाइन्छ । पहिलो पूजारी शेखरानन्द रहेको बताइन्छ । यस मन्दिर परिसरको क्षेत्रफल २ सय ४० हेक्टर रहेको छ ।

पशुपतिनाथको परिक्रमा विधि
पशुपतिक्षेत्रमा दर्शनको क्रम केही पुस्तकहरूमा यसरी बताइएको छ । पश्चिम ढोकामा रहेको गणेश, कुमार र त्यसपछि मूलद्वारको दर्शन । पशुपतिको मूल मन्दिरको गजूरको दर्शन । त्यसपछि षोडशमातृका, शरभ, रामकुल (पश्चमतिर), शिवकुल (उत्तरतर्फ), कृष्णकुल (पूर्वतर्फ), पाण्डवकुल (दक्षिणतर्फ), अष्टमातृका, अष्टभैरव र दिक्पाल आदिको दर्शन । त्यसपछि बेलवृक्षको दर्शन । त्यसपछि तुलसीको दर्शन । त्यसपछि नृत्येश्वरको दर्शन । त्यसपछि अन्नपूर्णा देवीको दर्शन । त्यसपछि ज्वरेश्वरको दर्शन । त्यसपछि भृंगिगणको दर्शन । त्यसपछि त्रिशूलको दर्शन । अनि चण्डेश्वरको दर्शन । अनि अर्धनारीश्वरको दर्शन । वासुकी नारायणको दर्शन । अनि सिद्धेश्वरको दर्शन । त्यसपछि गुप्तेश्वरको दर्शन । त्यसपछि पूर्वतर्फ रहेका नारायणको दर्शन । अनि लालगणेशको दर्शन । निद्रेश्वरको दर्शन । श्रीकृष्णको दर्शन । सूर्य नारायणको मूर्तिको दर्शन । गरुड भगवानको दर्शन । सरस्वतीको दर्शन । वागमतीको दर्शन । तारकेश्वरको दर्शन । श्रीयन्त्रको दर्शन (पैसा खसालेर अड्याउने ठाउँ) । कलीश्वरको दर्शन । गुह्येश्वरी दर्शन । वत्सलादेवीको दर्शन । मुक्तिमण्डप दर्शन । सन्तानेश्वरको दर्शन । कीर्तिमुखभैरबको दर्शन । शीतला माताको दर्शन । चौसट्ठी तथा कोटिलिंगेश्वरको दर्शन । उन्मत्त भैरवको दर्शन । सप्तमातृका दर्शन । अनन्तेश्वरको दर्शन । नवग्रहको दर्शन । हनुमानको दर्शन । सत्य नारायणको दर्शन । नन्दीको दर्शन । छत्रचण्डेश्वरको दर्शन । धर्मशिलाको दर्शन । पशुपतिको उध्र्वमुख ईशानको दर्शन । पूर्वमुख तत्पुरुषको दर्शन । दक्षिणमुख अघोरको दर्शन । पश्चिममुख सद्योजातको दर्शन । उत्तरमुख वामदेवको दर्शन । शिवार्पणमस्तु ।

प्रतिक्रिया