जापानमा एकतिहाई कामदार महिला कार्यक्षेत्रमै यौनहिंसामा

टोकियो, १९ फागुन । जापानका कम्तीमा पनि एकतिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामना गर्नुपरेको एक तथ्यांक सार्वजनिक गरिएको छ ।

कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एकतिहाई महिलालाई उनीहरूको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो । यसमध्ये दुईतिहाई यस्ता महिलाले उनीहरूले आफ्ना बारेमा गरिएका यस्ता हिंसाका घटनाको सार्वजनिकीकरण नगर्ने गरेको पनि देखिएकोे छ । जापानको स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्रालयले गरेको सर्वेक्षणमा यस्तो तथ्य पाइएको छ ।

जापानका २२ वर्षदेखि ४४ वर्षको उमेर समूहका महिला कर्मचारीमा गरिएको सर्वेक्षणमा यस्तो पाइएको छ । ती महिलामध्ये कम्तीमा पनि १० हजार जनामा यो सर्वेक्षण गरिएको छ । लिखित प्रश्नका आधारमा गरिएको यस सर्वेक्षणमा यस्तो परिणाम आएको हो । गत सेप्टेम्बर र अक्टोबर महिनामा जापानका विभिन्न सहरमा ३ हप्ता लगाएर यो सर्वेक्षण गरिएको हो ।

मंगलबार सार्वजनिक भएको सो सर्वेक्षणमा भनिएको छ, त्यहाँ कार्यरत कम्तीमा पनि ३० प्रतिशत महिलाले आफूहरू कार्यक्षेत्रमा नै यौन हिंसामा पर्ने गरेको पाइएको जनाएका थिए । ती कर्मचारी महिलामध्ये करिब ४० प्रतिशतले त आफूहरूलाई अस्वाभाविक रूपमा पुरुष कर्मचारीले छुने गरेको जनाएका छन् ।

सर्वेक्षण गरिएका १० हजार महिलामा करिब ३८ प्रतिशतले आफूहरूलाई यौनसँग सम्बन्धित विषयमा पुरुष कर्मचारीले कुरागर्ने एवं जिस्क्याउने गरेको बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया