सुखानीकासहित २२ सहिद थपिए

काठमाडौं, १९ फागुन । सरकारले पञ्चायती निरंकुशताविरुद्ध लड्दा मारिएका २२ योद्धाहरूलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले निरंकुश पञ्चायती शासनविरुद्ध संघर्षमा रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट जीवन हरण गरिएकाको योगदानलाई कदर गर्दै झापा आन्दोलनका सुखानीका योद्धासहित विभिन्न २२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

नयाँ सहिद घोषणा भएकामा भीमदत्त पन्त (डडेल्धुरा), दुर्गानन्द झा (धनुषा), शमशेरबहादुर खत्री (गुल्मी), रामनाथ दाहाल (झापा), नेत्र घिमिरे (झापा), वीरेन राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली) क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), भीमनारायण श्रेष्ठ (धनकुटा), राम उपाध्याय (सिरहा), लक्ष्मण उपाध्याय (सिरहा), लीलानाथ दाहाल (ओखलढुंगा), खगेन्द्रराज दाहाल (ओखलुढुंगा), गोकर्णबहादुर कार्की (ओखलढुंगा), रत्नकुमार वान्तवा (इलाम), सूर्यनाथ यादव (सिरहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (संखुवासभा) र चन्द्र डाँगी (झापा) रहेका छन् ।

यसैगरी मन्त्रिपरिषद्ले टिम्बुरबोटे र छिन्ताङलगायतका स्थानमा मारिएकालाई सहिद घोषणा गर्ने सम्बन्धमा सुझाव दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सिँचाइमन्त्री उमेश यादव रहेको समिति गठन गरेको छ ।

प्रतिक्रिया