मरिचमानले दिए स्कुललाई ५० हजार

dhurbe copyगोरखा, १८ फागुन । हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले गोरखाको माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग दिएका छन् । ताकुकोट गाविस–१ स्थित रहेको विद्यालयको जग्गा खरिद गर्न उनले रकम दिएका हुन् ।

वैशाखमा गएको भूकम्पले विद्यालयका भवनहरू भत्काएको र पुनर्निर्माणका लागि आवश्यक जग्गा पनि नभएकाले जग्गा खरिदका लागि श्रेष्ठले आर्थिक सहयोग गरेको बताएका छन् । केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यंग्य कार्यक्रमबाट जुटेको सो रकम ताकुकोटस्थित बाँसपानी खानेपानी आयोजनाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठमार्फत विद्यालयलाई प्रदान गरिएको ध्रुवेले सुनाए ।

‘गाउँको विद्यालय भवन बनाउन जग्गाको अभाव भएको थाह पाएँ,’ उनले भने, ‘कार्यक्रम गरेर संकलन भएको रकम दिएको हुँ ।’ स्थानीय दीपशिखा युवा क्लबको सहयोगमा उनले हास्यव्यंग्य कार्यक्रम गरेका थिए ।

विद्यालय भवनहरू पुनर्निर्माण गर्दा कम्तीमा १० रोपनी जग्गा हुनुपर्ने दातृ निकायको नियम भएकाले माइकोट माविले थप जग्गा खरिद प्रक्रिया अघि बढाएको थियो । तर, अर्थाभाव हुँदा आवश्यक भएजति जग्गा खरिद गर्न नपाएको शिक्षकहरूले जनाएका छन् ।

कलाकार श्रेष्ठले सोमबार गाउँमा आयोजित एक कार्यक्रममा विद्यालयका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरेका थिए । श्रेष्ठ मेरी बास्सैलगायत हास्य टेलिशृंखला, नेपाली चलचित्रका साथै गीत, संगीतमा राम्रै स्थापित हुँदै आएका कलाकार हुन् ।

प्रतिक्रिया