कक्षा जान्छन् मुसहर बालबालिका

Musahar-3 copyबर्दिवास । उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसा मार्न हिँड्ने महोत्तरीको बर्दिवास–२ को मुसहर बस्तीका केटाकेटीको दैनिकी फेरिएको छ । खेतबारीमा मुसाका प्वाल नियाल्दै समूह बनाएरै घन्टौँ मुसा मार्ने काममा तल्लीन हुने यस बस्तीका ५ वर्षमाथिका बालबालिका अब बस्तीमै सञ्चालित ट्युसन कक्षामा पढ्न बस्न थालेपछि उनीहरूको परम्परागत दैनिकी फेरिएको हो ।

बर्दिवास–२ स्थित ५० घरको मुसहर बस्तीमा अहिले त्यसै बस्तीबाट एसएलसी उत्तीर्ण गरेर ११ कक्षामा अध्ययन जारी राखेका एक मात्र मञ्जय सादा मुसहरले बिहानी र सन्ध्याकालीन ट्युसन कक्षा चलाएका छन् । कक्षामा बस्तीका १० वर्षमुनिका बालबालिका कापी, कलम, स्लेट (पाटी) र खरी लिएर पढ्न बसेका देखिन्छन् । आफ्नो अशिक्षा, गरिबी र सामाजिक पछौटेपनप्रति कहिल्यै कुनै गुनासो नपोखेका मुसहर समुदायमा पछिल्लोपटक हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)को लगातारको प्रेरणाले पढ्नु र पढाउनुपर्ने चेत खुलेको देखिँदो छ ।

गत पुस र माघ गरी दुईपटक बर्दिवासको मुसहर बस्ती पुगेका हास्यकलाकारद्वय सुन्तली र धुर्मुसले नानीहरू पढाएपछि सामाजिक तथा आर्थिक हैसियतमा सकारात्मक सुधार आउन सक्ने कुरा सम्झाएपछि यो बस्तीमा नानी पढाउने कुरामा मुसहर अभिभावक सहमत भएका हुन् ।

‘हामीले पनि नानीहरू पढाउनुपर्छ त भनेकै हौँ तर त्यसको प्रभाव मुसहरमा परेन,’ मुसहर बस्तीसँगैको बस्तीका सामाजिक कार्यकर्ता गोविन्द पौडेलले भने, ‘तर धुर्मुस र सुन्तलीले उनीहरूको सोच फेरिदिनुभएको छ । अब मुसहर बस्तीका बालबालिका पढ्न थालेका छन् ।’

बस्तीका एक मात्र एसएलसी उत्तीर्ण मञ्जयले सञ्चालन गरेका ट्युसन कक्षामा अहिले ४० भन्दा बढी मुसहर बालबालिका पढ्न थालेका छन् । अब वैशाखमा सुरु हुने नयाँ शैक्षिकसत्रमा ६० जना बालबालिकाको औपचारिक शिक्षाका लागि बस्ती नजिकैको प्रारम्भिक तह कक्षा १ देखि १२ सम्म पठनपाठन हुने जनता उच्चमाध्यमिक विद्यालयमा भर्ना गरिने तयारी रहेको मुसहर बस्तीका अगुवा शिव सादा मुसहरले बताए ।

‘पढ्नेलेख्ने कुरा त हाम्रा ‘मालिक’ का छोराछोरीको मात्रै हो जस्तो लाग्थ्यो,’ मुसहर बस्तीका अगुवा शिवु सादाले भने, ‘हँसाउने कलाकारका बूढाबूढी ( सीताराम कट्टेल र कुञ्जनाको जोडी) ले हाम्रो आँखा खोलिदिए । अब हाम्रा नानीहरू सबै पढ्न स्कुल जानेछन् ।’ बस्तीका आपूm काम गर्न जाने घरका किसान वा बस्तीका धनीमानीलाई मुसहर मालिकको सम्बोधन गर्ने गर्छन् । धुर्मुस र सुन्तलीले आफ्नो समुदायप्रति सद्भाव राख्दै मञ्जयलाई अझै पढ्न हौसला दिँदै ५ हजार नगद दिएर दिएपछि उनले ससाना नानीको पढाइमा समेत ध्यान दिन थालेका शिवुको ठम्याइ छ ।

जम्मा ५० घरको मुसहर बस्तीमा ५ देखि १२ वर्षसम्मका करिब १ सय बालबालिकामध्ये आधाजसो ट्युसन कक्षाको सम्पर्कमा आएका ट्युसन सञ्चालक मञ्जयको भनाइ छ । ‘अहिले नै ४० जना त नियमित कक्षामा आइरहेका छन्,’ मञ्जयले बस्तीमै ट्युसन कक्षामै पुगेका सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘बस्तीका अरू अभिभावकले पनि नानीहरू सम्पर्कमा ल्याइदिएका छन् । अब अर्को एकजना सहयोगी खोजेर थप ट्युसन कक्षा खोल्ने तयारी छ ।’ मुसहर बस्तीमा पढाइप्रति बढेको जागरणले सो बस्तीका मुसहरलाई सहयोग गर्न स्थानीय विद्यालय, नगरपालिका कार्यालय, खानेपानी संस्था र विद्युत् प्राधिकरणसहितका बर्दिवासस्थित कार्यालयले चासो बढाएका छन् ।

जनता उच्चमाध्यमिक विद्यालय बर्दिवासले मुसहर बालबालिकालाई लक्ष्यित गरी शैक्षिक सामग्री बक्स (कापी, कलम र पोसाक)सहित नामांकनका लागि अघिल्लो शैक्षिकसत्र सुरु हुनु एक महिनापूर्व नै विशेष सचेतना अभियान चलाउने तयारी गरेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए ।

त्यसैगरी, बर्दिवास नगरपालिकाले खानेपानी सरसफाइ उपभोक्ता संस्था, विद्युत् प्राधिकरण बर्दिवास उपशाखा र अन्य निकायसँग समन्वय गरेर मुसहर बस्तीमा खानेपानीको धारा, शौचालय निर्माण र सम्भार तथा विद्युत् मिटर जडानका लागि पहल थालेको नपाका कार्यकारी अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

गत पुसमा पहलोपटक राजमार्ग क्षेत्र सरसफाइ अभियानका क्रममा पहिलोपटक बर्दिवास आउनुभएका हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीको जोडी आफ्नो बस्तीमा आएर कुराकानी गरेपछि बस्तीका अभिभावक आफ्ना नानीलाई पढाउन तयार भएका र अन्य निकायले पनि बस्तीबारे चासो बढाएका बस्तीकै पाको उमेरकी ६० वर्षीया मानकी सादाले बताइन् । खानेकुराको परिकारमा आफैँले मारेको मुसा पोलेर बनाइने चटनी र घोंङी (हिलोमा बस्ने जाँते किरा)को तरकारीका पारखी मुसहर तराई क्षेत्रमा कृषि मजदुरी गरेर जीविका चलाउने समुदायका रूपमा परिचित छन् ।

कृषि कार्यमा कडा मिहिनेत गरेर त्यसबाट पाउने ज्यालाले जीवनयापन गर्ने यो समुदाय सम्पत्ति जोड्ने, लेखपढ गर्ने र राज्यसँग अवसरको माग गर्ने कुरामा कहिल्यै उत्साही नदेखिएको उनीहरूको गतिविधिलाई नजिकबाट नियाल्दैआएका अन्य समुदायका सामाजिक तथा राजनीतिक कार्यकर्ताको ठम्याइ छ ।

‘मुसहरमा आफ्नो अशिक्षा र गरिबीप्रति कुनै गुनासो देखिँदैन,’ जिल्लाको मुसहर बस्तीबारे अभिरुचिपूर्वक अध्ययन अनुसन्धान गरिरहनुभएका बर्दिवास बहुमुखी जनता क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘रैथाने आदिवासी भए पनि अझै नागरिकता नबनाएका मुसहर महोत्तरीका गाउँनगर बस्तीमा धेरै छन् ।’

अशिक्षा, अवसरबाट वञ्चितीकरण र राज्य एवं सामाजिक बेवास्ताले गर्दा आफ्नो अधिकारप्रति बेखबर रहेका मुसहरलाई पछिल्लोपटक हास्यकलाकार धुर्मुस र सुन्तलीसँगको भेट बस्तीकै स्वरूप फेर्ने अवसरमा परिणत भएको सामाजिक अभियन्ताहरू बताउँछन् । पछिल्लो २ महिनादेखि बर्दिवासको मुसहर बस्तीका बालबालिकासँग बाक्लो भेटघाट बढाएका सामाजिक अभियन्ता पत्रकार राजकरण महतोले मुसहर अभिभावक र बालबालिकामा शिक्षा र सरसफाइप्रति गहिरो चासो बढेको अनुभव सुनाए ।

जिल्लाका रैथाने आदिवासी मुसहरको बर्दिवासस्थित बस्तीमा आएको शिक्षा र सरसफाइप्रतिको लगाव र त्यसका लागि सुरु गरिएका प्रयत्नको जिल्लाका अन्य मुसहर बस्तीमा पनि सकारात्मक प्रभाव परेको छ । बर्दिवासमा विवाह गरिएकी छोरी भेट्न १५ दिन पहिले पुगेका भंगाहा–४ का किस्ना सादा मुसहरले आफ्नो बस्तीका आफन्तलाई बर्दिवास पुगेर पढाइलेखाइ र सरसफाइ हेर्न सुझाएको बताए ।

‘मैले यसपालि बर्दिवास बेग्लै देखेँ,’ किस्नाले भने, ‘बस्ती सफासुग्घर र केटाकेटी सबै पढ्दै ।’ बर्दिवासका मुसहर बस्तीजस्तै आफ्नो बस्तीमा पनि नानीहरूलाई पढाउन र गाउँघर सफासुग्घर राख्न पहल सुरु गरिएको किस्नाले बताए ।

जिल्लाका बर्दिवास र गौशाला नगरपालिका तथा हतिसर्वा, धमौरा, सोनामाई, फुलकाहा, हरिहरपुर, हरिनमरी, धर्मपुर, खोपी, भंगाहा र मेघनाथ गोरहन्नासहितका गाविसमा सघन बसोबास रहेका मुसहरको जनसंख्या ३० हजारभन्दा बढी रहेको जिविस महोत्तरीले जनाएको छ । जिल्लाका यो समुदायबाट एसएलसी उत्तीर्ण गर्ने ५ जना मात्र पुगेका छन् ।

जिल्लामा पहिलोपटक २०६८ सालमा मुसहर समुदायबाट एकै वर्ष ३ जना एसएलसी उत्तीर्ण भएका जिल्ला शिक्षा कार्यालय महोत्तरीले जानकारी दिएको छ । मुसहर समुदायमा पछिल्लोपटक शिक्षा र सरसफाइप्रति देखिएको सकारात्मक सोचले अत्यन्त पिछडिएको भनिने जाति र समुदायलाई प्रयत्नले फेर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको टिप्पणी जिल्लाका बुद्धिजीवीले गरेका छन् ।

प्रतिक्रिया