अभियानकै रूपमा बाँसखेती गर्न सुझाव

काठमाडौं, १८ फागुन । बाँसको उपयोगिता महत्वलाई ध्यानमा राखेर बाँसखेती अभियानका रूपमा चलाउनुपर्ने एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् । निर्माणको काममा बाँस महत्वपूर्ण हुने र यसले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले बाँसखेतीलाई अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको हो ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड) र बाँसको अन्तर्राष्ट्रिय नेटवर्कले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा भूसंरक्षण र वन तथा पैदावारको संरक्षणमा बाँसको उपयोगिता महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पबाट नराम्ररी प्रभावित भएको अवस्थामा भूकम्पपछिको नवनिर्माण तथा पुनर्निर्माणका लागि बाँसको उपयोगिता महत्वपूर्ण हुने विचार राखेका थिए । उनले गत १२ वैशाखको ‘गोरखा भूकम्प’का कारण १४ जिल्लामा ३ लाख बढी नेपाली घरबारविहीन भएको र ७ लाख ३० हजार भौतिक संरचना ध्वस्त भएको अवस्थामा बाँसको प्रयोग गरेर ती संरचनाको पुनर्निर्माण सकिने बताएका छन् ।

बाँस नवीकरणीय सामग्री भएकाले यसले वातावरण संरक्षण र पर्यावरणको रक्षाका लागिसमेत प्रभावकारी रहेको मन्त्री सापकोटाको कथन थियो । सो अवसरमा बाँससम्बन्धी जानकारले बाँसको उपयोगिता र प्रभावकारिताबारे स्पष्ट पारेका थिए ।

कार्यक्रममा मुलुकको कुल ६३ हजार हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमा बाँस रोप्न सकिने पाइएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया