पर्वतारोहीलाई सरकारले दियो छुट

काठमाडौं, १८ फागुन । सरकारले पर्वतारोहणको अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएका व्यक्तिका लागि आरोहण गर्न २ वर्षका लागि शुल्क मिनाहा गर्ने भएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को दोस्रो वार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले हिमाल आरोहणका लागि अनुमति लिएका तर आरोहण गर्न नपाएका आरोहीका लागि २ वर्ष मिनाहा गर्ने व्यवस्था गरेको बताए ।

‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पर्वतारोहण गर्न अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएर समय सकिएका पर्वतारोहीलाई २ वर्षका लागि मिनाहा गर्ने निर्णय भएको छ’ मन्त्री पोखरेलले भने ।

पर्वतारोहण लागि शुल्क बुझाइसकेका तर भूकम्पका कारण आरोहणको समय सकिएको भए पनि त्यही शुल्कबाटै पर्वतारोहीलाई २ वर्षका लागि जान दिने व्यवस्था गरेको हो । भूकम्पपश्चात् सरकारले पर्वतारोहणका लागि स्थगित गरेको थियो । नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटन नै पहिलो क्षेत्र भएकाले त्यसका लागि सरकारले कानुनी र व्यावहारिक रूपमा भएका त्रुटि र कमीकमजोरीलाई सच्याएर अगाडि जान मन्त्रालय तयार रहेको बताए । ‘नेपाल पर्यटकीय गन्तव्य हो, नेपालको गरिबी निवारण र अर्थतन्त्रको आधार पनि पर्यटन नै हो, राम्रो स्वागत–सत्कार गरेर पर्यटकलाई आकर्षित गर्ने काम सबैले गर्नुपर्छ’ मन्त्री पोखरेलको भनाइ थियो ।

पछिल्लो समयमा २ वटा विमान दुर्घटनाले निकै दुःखी बनाएको भन्दै मन्त्री पोखरेलले जहाज दुर्घटना हुनुका कारण खोजी सुधार गर्न विगत १० वर्षका अवस्था अध्ययन गरिरहेको बताए । दुर्घटना हुनुका सत्यतथ्य पत्ता लगाउन दुवै दुर्घटनाको छानबिन समिति गठन भइसकेको हुनाले यर्थात जतिसक्दो छिटो सार्वजनिक गर्ने जानकारी दिए ।

नाटोजको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा गन्तव्य नेपालका पत्रकार शिव अधिकारी सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

नाटोजको दोस्रो वार्षिक साधारणसभाबाट पत्रकार अधिकारीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । नाटोजको उपाध्यक्षमा विकास लोहनी, मधुजंग पाण्डे, भूषणकुमार पोखरेल, प्रतीक लामिछाने र संगम बाँनिया चयन भएका छन् ।

त्यस्तै, महासचिवमा प्रकाश खालिङ, उपमहासचिवमा सिवी अधिकारी, सचिवमा भूमिराज तिवारी, कोषाध्यक्षमा नवीन काफ्ले र सहकोषाध्यक्षमा कल्पना महर्जन चयन भएका छन् ।

प्रतिक्रिया