पदाधिकारी संख्या बढेन

Congress-flag_308312814 copyकाठमाडौं, १६ फागुन । कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीको विधान परिवर्तन नगर्ने निर्णय गरेको छ । तर, नयाँ संविधानबाट मुलुकलाई ७ प्रदेससहितको संघीय ढाँचा गएपछि त्यसैअनुसार महाधिवेशनमा हरेक अञ्चलबाट एकजना केन्द्रीय सदस्य रहने पूर्वव्यवस्था परिवर्तन गरी हरेक प्रदेशबाट २ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । तर, कांग्रेले अझै नीति तथा कार्यक्रम पारित गरिसकेको छैन । बैठकले नीति तथा कार्यक्रमलाई केन्द्रीय सदस्यबाट आएको सुझावसहित महाधिवेशन हलमा प्रस्तुत गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेललाई जिम्मेवारी दियो ।

आइतबारको वर्तमान केन्द्रीय कार्यसमितिको आन्तिम बैठकमा विधान संशोधन समितिले कुनै प्रस्ताव नै पेश गरेन । तर, सो बैठकमा महामन्त्रीको प्रतिवेदन भने पारित ग¥यो । आनन्द ढुंगाना नेतृत्वको विधान संशोधन समितिले तयार पारेको प्रस्तावमा वरिष्ठसहित तीन उपसभापति रहने र कोषाध्यक्षको सट्टा वरिष्ठ उपसभापतिको चुनाव गर्ने उल्लेख थियो । साथै केन्द्रीय समितिलाई ८५ बाट ९७ सदस्यीय बनाउने प्रस्ताव थियो । कुनै पनि हालतमा विधान संशोधन हुन नदिने रहेको देउवा पक्षको अडानकाका कारण संस्थापनले यसलाई छलफलमै लगेन ।

बैठकले पूर्वनिर्धारित समय (२० फागुन) मा हुने अधिवेशनको मिति भने यथावत हुने निर्णय गरेको छ । कांग्रेसभित्र अधिवेशन सार्ने विषयमा पनि छलफल चल्दै आएको थियो । निर्धा।ित समयमा अधिवेशन हुने भएपछि विशेष अतिथिलाई निम्ता पठाइएको छ । आइतबारको बैठक कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक हो । ‘यो कार्यकालको अन्तिम केन्द्रीय समिति बैठक सकियो,’ कांग्रेस नेता प्रकाशशरण महतले भने ।

नेतैपिच्छे सम्पर्क कार्यालय

कांग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरू सम्पर्क कार्यालयमार्फत आफ्नो पक्षमा निर्वाचन माहोल बनाउन सक्रिय देखिएका छन् । महाधिवेशनमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षण गर्न सम्पर्क कार्यालय खोल्ने र भड्किला गतिविधि गर्ने होडबाजी नै चलेको छ । पार्टी सभापतिका आकाक्षीदेखि पदाधिकारी र केन्द्रीय सदस्यसमेतले सम्पर्क कार्यालय खोलेका छन् ।

गाउँ र जिल्लाबाट आएका नेता र कार्यकतालाई शीर्ष नेतासँगको पहुँच र साक्षात्कारका लागि सम्पर्क कार्यालय खोलिनु त ठीकै हो तर कतिपय नेताले महाधिवेशनको संघारमा तडकभडकका साथ सम्पर्क कार्यालय खोली गुटको भेला गरिरहेका छन् । यसलाई महाधिवेन प्रतिनिधिहरूले निको मानेका छैनन् । ‘नेता नै पार्टीमा विकृति भित्र्याउने काम गरिरहेका छन्’ खोटाङका एक प्रतिनिधिले भने । सम्पर्क कार्यालयले काठमाडौँ बाहिरबाट आउने कार्यकर्तालाई आफ्ना नेतासँग सम्पर्क गर्न सहज बनाएको त छ नै, उनीहरूबीच नजिकबाट घुलमिल हुने अवसर पनि दिलाएको छ । यसरी नेतैपिच्छे व्यक्तिपिच्छेका सम्पर्क कार्यालयभन्दा पनि पार्टी केन्द्रीय कार्यालयलाई नै भेटघाटको मुख्य थलो बनाउँदा उपयोगी हुने धेरै प्रतिनिधिको भनाइ छ ।

‘महाधिवेशनको संघारमा नेता कार्यकर्तालाई पायक पर्ने सहज ठाउँमा सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक हुन्छ भन्नुहुन्छ,’ केन्द्रीय सदस्य तथा गुट परिवर्तन गरेर देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार बन्न लागेका अर्जुननरसिंह केसीले भने, ‘कार्यकर्तालाई पार्टी कार्यालय पुग्न टाढा हुने र नेतासँग भलाकुसारी गर्न असहज हुने भएकाले महाधिवेशनको संघारमा सम्पर्क कार्यालय खोलिनु सामान्य हो, तर यसलाई तडकभडक नगरी सामान्य भेटघाटको थलोका रूपमा मात्र उपयोगमा ल्याइनुपर्दछ ।’

पार्टी सभापति, महामन्त्रीलगायतका पदाधिकारीले सम्पर्क कार्यालय खोल्नुलाई स्वाभाविक मानिए पनि केन्द्रीय सदस्यले समेत व्यक्तिपिच्छे सम्पर्क कार्यालय खोल्नुलाई धेरैले स्वाभाविक मानेका छैनन् । केन्द्रीय सदस्य शंकर भण्डारीले सम्पर्क कार्यालय खोल्दा अनावश्यक खर्च बढाउने मात्र नभई गुटगत प्रवृत्ति मौलाउने बताए । महाधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न नेताले पार्टी कार्यालयलाई नै सम्पर्क र भेटघाटका लागि प्रयोग गर्नसके नेता कार्यकर्तामा सकारात्मक सन्देश जाने उनको तर्क थियो ।

महाधिवेशनमा सभापतिको आकाँक्षी कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपा र बोहोराटारस्थित आफ्नै निवासमा नेता र कार्यकर्तासँग भेटघाटको थलो बनाएको उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए । पार्टी समापतिका अर्का आकाँक्षी शेरबहादुर देउवाले केही महिना अघिदेखि नै नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेर आफ्नो पक्षका कार्यकर्तासँग संवाद गर्दै आएका छन् । त्यहाँ काठमाडौं बाहिरबाट आउने नेता कार्यकर्ताको सम्पर्क कार्यालयमा भीड लाग्ने गरेको छ ।

महाधिवेशन नजिकिँदै जाँदा पार्टी केन्द्रीय कार्यालयमा भन्दा सम्पर्क कार्यालयमा चहलपहल र भीडभाड बढ्ने गरेको छ । पार्टी सभापतिका आकाँक्षी महामन्त्री कृष्णप्रसाद सिटौलाले गैरीधारामा सम्पर्क कार्यालय खोलेका छन् । अर्का सभापतिका आकाँक्षी महामन्त्री प्रकाशमान सिंहले बिजुलीबजारस्थित पुरानो सम्पर्क कार्यालयलाई प्रयोग गरिरहेका छन् । सभापतिका अर्का आकाँक्षी सुजाता कोइरालाले मण्डिखाटारस्थित आफ्नै निवासलाई सम्पर्क कार्यालय बनाएकी छन् ।

त्यस्तै महामन्त्रीका आकाँक्षी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले डिल्लीबजारमा सम्पर्क कार्यालय खोलेका छन् । केन्द्रीय सदस्य गगनकुमार थापा, डा. शेखर कोइराला, शशांक कोइराला, चन्द्र भण्डारी, शंकर भण्डारी, मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताले छुट्टै सम्पर्क कार्यालय खोलेर भेटघाटलाई तीव्रता दिएका छन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले बहुदलीय संसदीय पद्धतिमा नेतृत्वको होडबाजीलाई स्वाभाविक मान्नुपर्ने धारणा व्यक्त गर्दै आफ्नो सम्पर्क बढाउन धेरै नेताले काठमाडौँमा सम्पर्क कार्यालय खोलेको स्वीकारे । ‘सम्पर्क कार्यालय खोल्नु सान्दर्भिक हो, तर कतिपयले होटल र पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाई तडकभडक गर्ने गरेका छन्, यसले पार्टीलाई विकृत तुल्याउँछ’, नेता विश्वकर्माले भने ।

पार्टी कार्यालयमा निजी कार्यकक्ष नहुने र पदाधिकारीलाई नै अपुग हुने भएकाले आफ्ना नेता र शुभेच्छुकसँग भलाकुसारी गर्न सहज स्थानमा सम्पर्क कार्यालय खोलिएको नेताहरूको भनाइ छ ।

पूर्वराष्ट्रपतिको आफ्नै दाऊ

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति भएपछि डा. रामवरण यादव पार्टी राजनीतिबाट टाढिए । तर, आफ्नो मातृ पार्टी कांग्रेसभित्र उनको चासो बाँकी नै छ । उनी अहिले छोरा चन्द्रमोहनलाई कोषाध्यक्ष बनाउन लागिपरेका छन् । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले राष्ट्रपति हुँदाताका नै छोरालाई राजनीतिमा तानेका थिए । चन्द्रमोहन हाल प्रत्यक्ष निर्वाचित सांसद छन् ।

स्रोतका अनुसार चन्द्रमोहन कोषाध्यक्षको उम्मेदवार बन्ने प्रयासमा छन् । उनी कांग्रेस संस्थापनबाट उम्मेदवार बन्ने प्रयासमा रहेको स्रोतले बतायो । तर, चन्द्रमोहन अझै महाधिवेशन प्रतिनिधि भइसकेका छैनन् । उनको क्षेत्र धनुषा ५ मा सोमबार चुनाव हुँदैछ ।

ससुरा–ज्वाइँ भिड्दै

कांग्रेसको आसन्न १३औं महाधिवेशनमा महामन्त्री पदमा रोचक भिडन्त हुने देखिएको छ । नाताले ज्वाइँ–ससुरा अर्जुननरसिंह केसी र गगन थापा महामन्त्रीका लागि आकाँक्षी हुन् । बीचमा कुनै तालमेल भएन भने उनीहरूको भीडन्त निश्चित देखिएको छ । शेरबहादुर देउवाको प्यानलबाट केसी र कृष्ण सिटौलाको प्यानलबाट थापा महामन्त्रीमा उठ्न लागेका हुन् । सिटौला सभापतिमा उठेनन् भने पनि गगन स्वतन्त्र उम्मेदवारका रूपमा लड्ने तयारीमा छन् ।

प्रतिक्रिया