बोक्सीले दुःख दिएको भन्दै ठगी गर्ने कृष्णमाया खोरमा

तनहुँ, १७ फागुन । तनहुँको घाँसीकुवा–१ निवासी ५१ वर्षीय कृष्णमाया कसाईले ‘बोक्सीले दुःख दिएको’ भन्दै मानिसलाई अन्धविश्वासमा पारेर ठगी गरिरहेकी कसाईलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्लाको आँवुखैरेनी–६ बस्ने ३७ वर्षीय कृष्णबहादुर गुरुङलाई कसाईले बोक्सीले दुःख दिएको छ म ठीक पार्छु भेटी चढाउनुपर्छ भन्दै नगद र गरगहना गरी १ लाख ६० हजार ९०० रुपियाँ बराबर ठगी गरेको प्रहरीले जनाएको छ ।

कसाईले बिरामी गुरुङलाई आफ्नै घरमा १० देखि १५ फागुनसम्म बन्धक बनाएर फोनसमेत गर्न नदिएर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त स्थानबाट प्रहरीले नगद ८४ हजार, सुनको सिक्री एक थान, पञ्चरत्ने बाला एक थान, मोबाइल एक थान, रुद्राक्ष माला आठ थान, हँसिया एक थान, त्रिशूल एक थान बरामद गरेको छ । कृष्णमायालाई आइतबार शरीर बन्धक राखी ठगी गरेको शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य भइरहेको प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए ।

प्रतिक्रिया