सहकारी विपन्नको पहुँचमा पुग्नुपर्छ : राष्ट्रपति भण्डारी

Bidya Bhandari copyकाठमाडौं, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी अभियान विपन्न वर्गको पहुँचसम्म पुग्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १२औँं वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले वित्तीय पहुँच पुग्न नसकेका क्षेत्र र तहमा सहकारीका माध्यमबाट आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरिन् ।

ग्रामीण विपन्न क्षेत्रको आर्थिक समुन्नतिको आधार नै सहकारी बन्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘आर्थिक रूपमा पछाडि परेको महिला र सम्वद्ध पक्षलाई समृद्ध बनाउने आधार नै सहकारी हो । यो अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन जरुरी छ ।’ सहर तथा सुगम क्षेत्रमा मात्रै सहकारी केन्द्रित रहेको भन्दै उनले दुरदराजका बस्ती तथा क्षेत्रमा पनि सेवा विस्तार गर्न सहकारीकर्मीलाई आग्रह गरिन् ।

औपचारिक रूपमा सहकारी अभियान सुरु हुनु पहिले ग्रामीण क्षेत्रमा पर्म, एैचौपैँचौ, धर्मभकारी जस्ता परम्परागत कर्म सञ्चालनमा रहेको प्रसंग जोड्दै राष्ट्रपति भण्डारीले रोजगारी अभिवृद्धि, गरिबी निवारण, पशुपालन, साधन स्रोतको परिचालन एवं परनिर्भरता अन्त्यका लागि सहकारी अभियानलाई नै बढावा दिनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले निजी, सार्वजनिक क्षेत्रले मात्र मुलुकको आर्थिक गतिविधि अगाडि बढाउन नसक्ने भएकाले नेपालको संविधानले नै सहकारीलाई महत्वपूर्ण स्थान दिएको बताए ।

मुलुकको स्वाधिन अर्थतन्त्रको विकासका लागि नै संविधानले सहकारी क्षेत्रलाई बढावा दिने नीति अख्तियार गरेको उल्लेख गर्दै उनले सरकार सो क्षेत्रलाई थप सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले नेपालको संविधानको प्रस्तावमा नै समाजवाद उन्मुख संविधान उल्लेख गरिएको, संविधानको धारा ५० र ५१ ले समेत सहकारीलाई समेटेकाले यो क्षेत्र महत्वपूर्ण रहेको बताए । समयानुकुल सहकारी ऐन आवश्यक रहेको भन्दै उनले केही संस्थाले गल्ती गरे भन्दैमा सबैलाई एउटै डालामा राखेर व्यवहार गर्ने प्रवृत्ति गलत भएको धारणा राखे ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ८ वटा विभिन्न सहकारी संस्थालाई सम्मान गरेकी थिइन् । सहकारी अभियन्ताहरू ओमप्रकाश शर्मा (मरणोप्रान्त), राजेशहरि जोशी, गोविन्दबहादुर मल्ल, डा विश्वमोहन आचार्य र नवीन पौडेललाई समेत सम्मान गरिएको थियो ।

०६० साल २५ असारमा सहकारी क्षेत्रको बैंकको रूपमा स्थापना भइ २०६१ साल साउन १९ गतेबाट कारोबार सुरु गरेको सो बैंकले हालसम्म ८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । नेपाल राष्ट्र बैंकमा प्रतिवद्धता व्यक्त गरे बमोजिम चुक्ता पुँजी ६४ करोड रुपैयाँ पु¥याउन बैंक सफल भएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सापटी लिई बैंकमा आवद्ध भएकामध्ये १ सय ६९ सदस्य सहकारी संघ संस्थामार्फत विनाधितो लघु तथा विपन्न वर्ग कर्जा ४४ करोड ५० लाख रुपैयाँ लगानी गरिएको बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए । बैंकले हालसम्म ३६ वटा शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया