फेरि विमान दुर्घटना

main copyकाठमाडौं, १४ फागुन । तारा एअरको विमान दुर्घटना भएको ३ दिनपछि फेरि अर्को हवाइ दुर्घटना भएको छ । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको हो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको ९एन–एजेबी कलसाइन विमान कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको मृत्यु भएको छ । उडान भरेको केही समयमै जहाजमा समस्या आएपछि पाइलटले कालीकोटको एक समथर भूभागमा फोर्स ल्यान्डिङ गरेर ९ जनाको ज्यान बचाए पनि चालक र सहचालक भने बाँच्न सकेनन् ।

विमानमा एक्कासी खराबी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चालक दिनेश न्यौपानेको तत्काल घटनास्थलमा र सहचालक सन्तोष रानाको करिब डेढघन्टा पछाडि घटनास्थलमै उपचारका क्रममा मृत्यु भएको हो । यस्तै विमानमा सवार रहेका मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनञ्जय खत्री र दुइवर्षीय एक बालक घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर रहेको छ ।

सबै घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातका अनुसार श्री एयरलाइन्सको हेलिकप्टरबाट सबै घाइतेलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको हो । दुर्घटनामा ज्यान गुमाएका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको शव पनि कोहलपुर नै लगिएको छ । घाइतेको अवस्था हेरेर थप उपचारका लागि काठमाडौं पठाइने एसएसपी बस्नेतले जानकारी दिएका छन् ।

विमानका चालक न्यौपानेले ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ भनेर जानकारी दिएको एक यात्रुहरूले बताए । न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरू चिच्याउने तथा रुन थालेपछि तत्कालै उनले सबैलाई सान्त्वना दिँदै ‘हामी मरेर पनि तपाईंहरूलाई जोगाउने छौँ, सचेत भएर बस्नुहोला’ भनेको घाइतेमध्येका मेघराज गिरीले बताए । गिरीले भने, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’

विमान चालकहरूका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो । यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिम्रिक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ,’ उनले भने, ‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्यान्ड गराउनु र यात्रुहरूलाई बचाउनु ठूलो सफल हो ।’

उद्धारमा कालिकोट पुगेका श्रीएयरलाइन्सका चालक कर्णेल मदन केसीका अनुसार ल्यान्ड गराउने क्रममा विमानको पाग्रा दाउराको कुन्यूमा ठोकिएपछि खेतको कान्लामा ठोक्किएको थियो । उनले भने, ‘अप्ठेरो ठाउँमा पनि एकदमै राम्रो जजमेन्ट गरेर खेतमा ल्यान्ड गराउन खोजिएको रहेछ । जहाज सेफल्यान्ड गर्ने क्रममा अगाडिको भाग क्षतिग्रस्त भएकाले पाइलटहरू बाँच्न सफल हुनुभएन ।’

दुर्घटनामा परेको यो जहाज सिंगल इञ्जिनको जहाज थियो । प्यासिफिक एरोस्पेसले निर्माण गरेको ‘प्याक ७५० एक्स एल’ मोडलको यो जहाजमा जम्मा ९ जना मात्रै अटाउने क्षमता रहेको छ । २ जना चालक र अन्य ९ जना गरी अधिकतम ११ जना मात्रै यात्रु राख्न मिल्ने यो विमानलाई अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओले अझसम्म पूर्ण स्वीकृति दिएको छैन । यद्यपि, यो जहाजले सन् २०१२ मा अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन ‘एफएए’ बाट उडानका लागि स्वीकृति पाएको भनिएको छ । तर, नेपालमा एफएएलाई आधार मात्रै मानेर आइकाओकै नियमलाई अनुसरण गर्ने गरिएको छ । एफएएले सन् २०१२ मा मात्रै यसलाई स्वीकृति दिएको थियो ।

यो विमान मुख्यतः कार्गो र स्काई डाइभिङका लागि प्रयोगमा ल्याइने गरिएको छ । त्योबाहेक जमिनको सर्भे, कृषिजन्य काम वा सर्भे आदिका लागि पनि प्रयोग गरिएको पाइएको छ । यो जहाज पहाडी भूभाग वा हिमाली क्षेत्रमा उडानका लागि पनि उपयोगी भनिएको छ । मुख्यतः हिमालको माथिबाट प्यारासुटबाट हिमालमा हामफाल्ने अर्थात् स्काई डाइभिङका लागि यो सबैभन्दा महत्वपूर्ण भनेर यसको निर्माता कम्पनी प्यासिफिक एरोस्पेसले दाबी गरेको छ ।

यो जहाजको तौल खाली हुँदा १ हजार ४ सय ९७ किलो हुन्छ र यसले कार्गोमा थप १ हजार ८ सय १४ किलो बोक्न सक्छ । जहाजको निर्माता कम्पनी एरोस्पेसले आफ्नो वेभसाइटमा जनाएअनुसार यसले अधिकतम १ हजार ९ सय ५ किलो वजन बोक्न सक्छ । जहाजको तौल र अधिकतम बोक्न मिल्ने तौल गरी यो जहाजको अधिकतम क्षमता ३ हजार ४ सय २ किलो हुने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ‘आइकाओ’ले हवाई उड्डयनका लागि विभिन्न मापदण्ड तोके पनि नेपालमा भने त्यसको पूर्ण पालना भएको पाइँदैन । आइकाओले सिंगल इञ्जिन विमानका लागि विभिन्न मापदण्ड तोकेको थियो । आज दुर्घटनामा परेको यो विमानलाई पनि ‘आइकाओ’ले स्वीकृति दिएको हो वा होइन भन्ने यकिन भइसकेको छैन ।

खासमा विश्वभर नै सिंगल इञ्जिन जहाजको बारेमा धेरै वादविवाद भएका छन् । सन् २००८ मा न्युजिल्यान्डमा ५० वटा सिंगल इञ्जिनको यही मोडलको जहाज किन्न लाग्दा त्यहाँका मिडियाहरूले नागरिक सुरक्षाका लागि भन्दै विरोध जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको थियो । कतिपय देशमा सिंगल इञ्जिन जहाजलाई प्रतिबन्ध लगाइएको छ भने कतिपय देशका स्थानीय स्तरमा यसको प्रतिबन्ध छ ।

सरकारको प्रतिबन्ध

एयर काष्ठमण्डपको सिंगल इञ्जिनको जहाज दुर्घटनामा परेर चालक र सहचालकले ज्यान गुमाएपछि शुक्रबारबाट लागू हुनेगरी सरकारले सिंगल इञ्जिनका जहाजमा यात्रु बोक्न प्रतिबन्ध लगाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले सिंगल इञ्जिन भएका विमानमा यात्रु बोक्न रोक लगाएका हुन् ।

सिंगल इन्जिन भएका सबै जहाज हाललाई ग्राउन्डेड गर्न मन्त्रीले निर्देशन दिएका हुन् । परीक्षणपछि केही दिनपछि रोक्का फुकुवा गर्ने मन्त्री पोखरेलले जनाकारी दिएका छन् । उनले भने, ‘मैले आफू मातहतका सबै निकायलाई सिंगल इन्जिन भएका जहाजलाई तत्काल यात्रु नबोक्न भनेको छु, ।’

छानबिन समिति गठन

सरकारले नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखायामा भएको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको छ ।

पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । सदस्यमा हवाई महानिर्देशनालय नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्यसचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का रहेका छन् ।

मन्त्रिस्तरीय निर्णयबाट सो छानबिन समिति गठन गरेको र समितिले २ महिनाभित्र सत्यसत्य पत्ता लगाई प्रतिवेदन बुझाउन समय दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए ।

आफु मरेर यात्रु बचाए दीनेस र सन्तोषले

Dineshneupane-and-Santosh-rana copyएयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा मृत्यु भएका सहचालक सन्तोष रानाको काठमाडौं, कपन निवासी हुन् । पूर्वमन्त्री तथा एमाले सांसद दलबहादुर रानाका छोरा सन्तोषको परिवारमा बुबा आमा तथा एक दाजु छन् । छोराको विमान दुर्घटना हुँदा दलबहादुर भैरहवामा रहेका थिए ।

फिलिपिन्समा पढेका र अमेरिकामा ट्रेनिङ गरेका २८ वर्षका सन्तोषले गत वैशाखबाट मात्रै काष्टमण्डप एयरलाइन्समा काम थालेका थिए । कामका सिलसिलामा सुर्खेतमा बस्ने उनी १० दिनअगाडि घरमा आएका थिए । परिवारले उनको बिहेका लागि केटी खोजिरहेका थिए । तर, सन्तोष भने मुख्य पाइलट भएपछि मात्रै बिहे गर्ने अडानमा थिए । उनका दाजु युकेको रिटायर्ड आर्मी हुन् र आफ्नो परिवारसहित युकेमा बस्दै आएका छन् । उनको बुबा दलबहादुर पाल्पा–२ का एमाले सांसद तथा पूर्वभूमिसुधार मन्त्री हुन् ।

निजामति सेवाबाट अवकास प्राप्त मानदत्त न्यौपानेका कान्छा छोरा हुन् दिनेश न्यौपाने । उनका दाजु पनि हवाइक्षेत्रमै कार्यरत छन् । उनका २ दिदी रहेका छन् । काठमाडौंको लिटल एन्जल एकेडेमीबाट विद्यालय तहको पढाइ पूरा गरेका उनी डोल्पाको सदरमुकाम दुनै घर भइ नेपालगञ्ज बस्दै आएका थिए ।

एयर काष्ठपण्डपमका चालक न्यौपाने क्याप्टेन भएको १ वर्ष पनि बितेको छैन । उनले विमानलाई ‘फोर्स ल्यान्डिङ’ गराउने प्रयास गरेका थिए । कालिकोटको चिलखायामा भएको दुर्घटनामा सबै ९ यात्री घाइते भए पनि उनी भने बाँच्न सकेनन् ।

प्रतिक्रिया