‘मैले ध्यानाकर्षण गराएको थिएँ’

rambaran_yadav copyकाठमाडौं, ११ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसको समस्या समाधान गर्नेतर्फ सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । उनले संविधान घोषणा गर्नुपूर्व मधेसी, आदिवासी, थारूजस्ता सबै समुदायलाई समेटेर संविधान निर्माण गर्न राजनीतिक दललाई आफूले सुझाव दिएको बताएका छन् ।

तेज–तीर्थ ट्रस्टले मंगलबार आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै डा यादवले नेपालको अस्तित्व र पहिचानलाई बचाइराख्ने नेपाल भाषाको विकास तथा बोलीचालीमा व्यापकता लिच्छविकालदेखि नै भएको बताए । नेपाल भाषा र मैथिली भाषाका ग्रन्थ र त्यसमा उल्लिखित तथ्य आजको सन्दर्भमा पनि निक्कै महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा डा यादवले नेपाल भाषाका वरिष्ठ साहित्यकार तिलकप्रसाद कायस्थ र महिला साहित्यकार डा सुवर्णकेशरी चित्रकारलाई ‘तेज–तीर्थ नेपाल भाषा साहित्य पुरस्कार’ प्रदान गरेका थिए । सो पुरस्कारको राशि जनही ५० हजार तथा सम्मानपत्र छन् ।

ट्रस्टका अध्यक्ष तीर्थराम डंगोलले नेपाल भाषाका क्षेत्रमा साहित्यको माध्यमबाट लामो समयदेखि योगदान गर्ने साहित्यकारलाई प्रोत्साहन दिन हरेक वर्ष ५० हजारको पुरस्कारको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार पत्रकारिता तथा प्रजातान्त्रिक आन्दोलनमा भाग लिने व्यक्तिलाई प्रोत्साहन दिन पनि पुरस्कारको स्थापना गरिएको हो । सो ट्रस्ट स्थापनाका लागि डङ्गोलले एक करोड प्रदान गरेका थिए ।

नेवार समुदायले बोल्ने नेपाल भाषाले देशको नै पहिचान राख्ने भएकाले यसको विकासका लागि राज्यले प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । झन्डै ५ सय वर्षअघिदेखि नेपाल भाषामा गीत, संगीत, कविता, निबन्धजस्ता साहित्यको लेखन सुरु भएको बताइएको छ ।

लिच्छवि, मल्ल तथा शाहकालमा पनि नेपाल भाषाको साहित्य निरन्तर रूपमा विकास तथा जनस्तरबाट संरक्षण भइआएको छ । हालसम्म नेपाल भाषामा २० हजारभन्दा बढी शीर्षकका पुस्तक प्रकाशन भइसकेको छ । झन्डै ४ सय वर्षअघिदेखि नेपाल भाषामा नाटक लेखन सुरु भएको हो ।

प्रतिक्रिया