लगानीकर्ताको खातामै नगद लाभांश

dhitopatra_boardकाठमाडौं, ९ फागुन । लगानीकर्तालाई कम्पनीले दिने नगद लाभांश अब बैंक खातामै जम्मा हुने भएको छ । यसका लागि धितोपत्र बोर्डले सम्पूर्ण कम्पनीलाई परिपत्र गरिसकेको छ । क्लियरिङ हाउसको सदस्य भएका बैंकहरूमा खाता हुने लगानीकर्ताहरूले अब नगद लाभांश खातामै पाउनेछन् । यसअघि बोर्डले बोनस सेयर डिम्याट खातामै जम्मा गरिदिने व्यवस्था मिलाइसकेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीका अनुसार यस सम्वन्धमा नेपाल बैंकर्स एसोसिएसनसित पनि राय मागिएको हो । ‘बैंकर्सको पनि सहमति लिएर बोर्ड अघि बढेको हो’ कुराकानीमा कार्कीले भने ‘बैंकर्सको सहमति आएलगत्तै सम्पूर्ण कम्पनीहरूलाई नगद लाभांश बैंक खातामै जम्मा गरिदिन परिपत्र गरेका हौँ ।’

त्यस्तै बैंकर्स एसोसिएसनले पनि धितोपत्र बोर्डको यो तयारीलाई समर्थन गरेको छ । बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले बैंकका लागि चुनौतिहरू नरहेको स्पष्ट पारे । ‘वास्तविक लगानीकर्ताको खाता बैंकमा छ÷छैन भन्ने कुरा हो, सबैको खाता बैंकमा खोल्नका लागि पहल गरेर पनि यो व्यवस्था लागू गर्न अप्ठेरो छैन’ उनले भने । यसबाट बैंकहरूको चेकवापतको रकम समेत जोगिने हुँदा धितोपत्र बोर्डको सकारात्मक कदमलाई साथ दिने उल्लेख गरे । क्लियरिङ हाउसले गर्नसक्ने सबै कारोवारलाई अझ प्रभावकारी र व्यवस्थित गरी ग्राहकलाई सुविधा दिइनुपर्नेमा पनि अध्यक्ष पौडेलले जोड दिए ।

धितोपत्र बोर्डको यो व्यवस्थापछि लगानीकर्ता नगद लाभांश लिन मोटो रकम खर्चिएर केन्द्रमा धाउनु पर्दैन । यस्तो व्यवस्था नहुँदा कम्पनीले घोषणा गरेको नगद लाभांश कम्पनीमै थुप्रिने गरेको छ । ०७०÷७१ को तथ्यांकअनुसार डेढ अर्बभन्दा बढी लाभांश रकम विभिन्न कम्पनीहरूमा थुप्रिएको छ । लगानीकर्तालाई कम्पनीले दिने नगद लाभांश बैंक खातामै जम्मा गरिदिने व्यवस्था भएमा पुरानो रकम पनि लगानीकर्ताले खातामै पाउनेछन् ।

घोषित नगद लाभांश कम्पनीले पनि परिचालन गर्न नसक्ने र लगानीकर्ताले वास्तविक लाभको महसुस गर्न नसक्ने विद्यमान अवस्था देखिँदै आएको छ । ग्रामीण भेगमा रहेका लगानीकर्ताहरू आफ्नो नगद लाभांश लिन केन्द्रमा आउन नसक्दा कम्पनीमै लाभांश थुप्रिने गरेको हो । थोरै नगद लाभांशका लागि केन्द्र आवतजावत गर्दा कयौँ गुणा बढी रकम खर्चिनुपर्ने हुँदा लगानीकर्ताहरू लाभांश लिन नआउने गरेका थिए ।

कम्पनी ऐन २०६३ को दफा १८२ (९) ले कम्पनीको साधारणसभाले लाभांश वितरण गर्ने निर्णय गरेको मितिले ५ वर्षको अवधिसम्म कुनै सेयरधनीले लाभांश नबुझेमा उक्त लाभांशको रकम लगानीकर्ताले नपाउने व्यवस्था गरेको छ । यसबाट लगानीकर्ताहरूलाई नै ठूलो मार पर्नेछ । विश्लेषक रविन्द्र भट्टराई लगानीकर्ताको संरक्षण गर्नु धितोपत्र बोर्डको कर्तव्य भएको भन्दै अहिलेको बोर्ड नेतृत्वले यसको समाधान गर्ने विश्वास व्यक्त गर्दछन् ।

लगानीकर्ताको खातामै नगद लाभांश जम्मा हुने व्यवस्था लागू भएपछि कम्पनीहरूलाई प्रत्येक लगानीकर्ताको लाभांश दिँदा छुट्टाछुट्टै चेक काट्नुपर्ने अवस्था अन्त्य हुनेछ । जसले गर्दा चेक बचत भई कम्पनीहरूलाई पनि फाइदा पुग्नेछ । हाल लगानीकर्ताका लागि कम्पनीले ३ लाखभन्दा बढी चेकहरू काट्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाहरूका लागि मात्रै चेक काटे पुग्नेछ ।

त्यस्तै लगानीकर्ताहरूले आफ्नो व्यस्तता वा भौगोलिक जटिलताका कारण लाभांश लिन वर्षौसम्म लाग्ने गरेकोमा अब तुरुन्तै खातामार्फत पाउनेछन् ।

प्रतिक्रिया