मातृभाषा दिवस र यस दिनको सन्देश

loknarayan_subediयो निश्चत कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरू जोडिएको हुन्छन् । वास्तवमा मानिस भाषा बिशेषकै अस्तित्वको निशानी बन्नजान्छ । यसै कुराको सम्झना गराउनका निमित्त संयुक्त राष्ट्र संघको यूनेस्कोले २१ फेब्रअरीका दिनलाई ’अन्तर्राष्ट्रिय मातृ भाषा दिवस’ घोषित गरेको देखिन्छ । यसको पछाडि एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ ।

त्यसलाई जान्नु बुझनु पनि महत्वपूर्ण र आवश्यक छ । वास्तवमा आजको पाकिस्तान बन्नुभन्दा पहिला नै त्यहाँ के बहस चलेको थियो भने त्यो देशको राष्ट्र भाषा कुन हुने ? त्यस महत्वपूर्ण बहसको प्रश्नलाई वेवास्ता गर्दै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले १९४८ मा ‘ऊर्दू’ भाषालाई पाकिस्तानको राष्ट्र भाषा घोषित गरिदिए । त्यस घोषणाले तत्कालीन पूर्वीपाकिस्तान (आजको बंगलादेशमा) मा ठूलो प्रतिक्रिया उत्पन्न भयो र त्यहाँ बंगला भाषालाई र राष्ट्रिय भाषा बनाइनु पर्ने माग लिएर आन्दोलन छेडियो । त्यतिबेला ढाका बिश्वबिद्यालयका बिद्यार्थीहरूद्वारा ‘राष्ट्र भाषा संग्राम परिषद’ नै गठन गरेर मार्च १९४९ का दिन ‘बंगला राष्ट्र भाषा दिवस’ मनाउने घोषणा गरिएको थियो । त्यस घोषणाकासाथ बिरोधमा सडकमा उत्रेका बिद्यार्थी आन्दोलनकारीहरूमाथि लाठी चार्ज गरिनुकासाथै अश्रुग्यास पनि प्रहार गरियो । त्यसबाट त्यो भाषा आन्दोलन दबेर जानुको साटो झन् तीब्र भएर फैलियो । अनि त्यस आन्दोलनको तीन बर्ष बित्दानबित्दै बिद्यार्थीहरूको त्यो संघर्ष बृहत राजनीतिक संघर्षको रूपमा व्किसित भयो ।

यस्तो स्थितिमा २१ फेब्रुअरी १९५२ का दिन ढाकामा बिधानसभाको बैठक बस्ने तिथिमिति तय थियो । भाषा आन्दोलनकारीहरूले त्यस सभालाई ज्ञापनपत्र दिने निर्णय गरेका थिए । त्यस क्रममा आन्दोनलकारीहरू जब ढाका बिश्वबिद्यालयबाट बाहिर मूल सडकमा निस्किन शुरु गरे पुलिसले तिनमाथि गोली चलायो, जसमा परेर कयांै मानिसहरू मारिए । त्यस घटनापछि पूर्वी पाकिस्तानमा हरेक बर्ष २१ फेबु्रअरीका दिनलाई ‘भाषा शहीद दिवस’ कोरूपमा मनाउन थालियो । यसरी त्यो दिन जीवन संर्घषको प्रेरणाको प्रतीक बन्न पुग्यो । भाषाबाट संस्कृति, संस्कृतिबाट स्वायत्तता र स्वायत्तताबाट स्वाधीनताको माग उठ्दै गयो । यस प्रकार त्यो भाषिक आन्दोलन अघि बढ्दै गएर पूर्वी पाकिस्तानको भाषा आन्दोलनले बंगलादेश मुक्ति संर्घषको रूप लियो र अन्ततः एउटा नयाँ देश जन्मिन पुग्यो ।

बंगलादेशको भाषा शहीद दिवसलाई संयुक्त राष्ट्र संघले पनि केही बर्ष पहिला ‘मातृ भाषा दिवस’को रूपमा मान्यता दियो । हुन पनि मातृ भाषाबाट मानिसहरूको एउटा बिशेष पहिचान बन्दछ । ‘अग्रेज’, ‘जर्मन’, ‘चीनीयाँ’ या ‘नेपाली’, ‘बंगाली’ जस्ता शब्दहरू जत्तिको भाषासँग जोडिएका छन् त्यत्तिकै तिनले समुदाय बिशेषको पनि बोध गराउँद छन् । भाषालाई मानिसले निश्चय नै बिकास गर्दछन् । अनि के कुरा पनि उत्तिकै सत्य हो भने भाषाले पनि मानिसको या समुदाय बिशेषको रचना गर्दछ र त्यसले तमाम बिशेषताहरू, क्षमताहरू, मूल्य दृष्टिहरू पनि स्थापित गर्दछ । त्यसो हुनु स्वाभाविक किन हुन्छ भने जीवनका सारा कुरा अर्थात् आ–आफ्ना दुःख–दर्द, हास–परिहास, लाभ–हानी, यश–अपयश मानिसले भाषाको माध्यमबाट स्वयं महसुस गर्दछ र अरूलाई पनि त्यसको महसुस गराउँदछ । भाषासँगको मानिसको यो सम्वन्ध यत्ति गहिरो र अटुट हुनजान्छ कि त्यो जीवनकै पर्याय बन्दछ ।

स्वाभाविक परिस्थितिहरूमा जन्मकासाथ साथै प्रत्येक बाल बच्चाले एउटा खाश किसिमका ध्वनीहरू र तिनबाट बनेका भाषाहरूको बातावरण पहिलादेखि नै तयरीरूपमा प्राप्त गर्दछन् । त्यसभन्दा पनि अझ गम्भीर कुरा त के हुन्छ भने भाषा उपयोगको उपकरण पनि बाल बच्चाका शरीरका अन्य अंगहरूको तुलनामा बढी तयार र सक्रिय रहेका हुन्छन् । एक किसिमले ती भाषाको लागि तत्पर अर्थात् ‘रेडिनेश’ले सुसज्जित भएरै यस संसारमा बाल बच्चाहरूको पदार्पण हुन्छ भने पनि फरक पर्दैन । यसरी बाल बच्चाहरूको पहिलो भाषा ’मातृ भाषा’ नै हुन्छ । त्यसैले भन्ने गरिन्छ कि ‘आमाको काखमा बच्चाले जुन भाषा सिक्दछ त्यही नै बच्चाको मातृ भाषा हो ।’ सुत्दा जाग्दा बच्चाले हर पल मातृभषाको गुञ्जन सुन्ने गर्दछ । त्यसरी त्यो भाषा सिक्न सहज र एक किसमले अनायास नै सजिलो पनि हुन्छ । त्यसैले पनि प्राथमिक शिक्षा मातृ भाषामा दिइनुपर्ने कुरामा जोड दिइएको हो ।

वैज्ञानिक अध्ययनहरूले के बताएका छन् भने आठ महिनाको आयुमा नै बाल बच्चाहरू धेरैजसो ध्वनीका रूपहरूलाई ग्रहण गर्न सक्षम हुने गर्दछन् । उनीहरू बाह्र महिनाको पुग्दा नपुग्दै पहिलो शब्द बोल्न थाल्दछन र त्यस बेला नै झण्डै पच्चास शब्द सम्झने गर्दछन् । अठार महिनाको पुग्दा बच्चाहरूले ५०(६० शब्द बोल्न थाल्छन् र तिनका दोब्बर या तेब्बर शब्दहरूलाई याद गर्न थाल्दछन् । यस प्रकार लेख्ने, पढ्ने कतिसम्म भने बोल्ने क्षमता अउनुभन्दा पहिला नै बच्चाहरूले त्यस भाषाका अनेकौ शब्दहरूको अर्थ बुझ्न शुरु गर्दछन् । यो स्वभाविकरूपले हुने गर्दछ । किनकि मातृ भषामा सिक्न सरल हुन्छ । हुन पनि बाल बच्चाले त्यसै भाषामा श्वास लिन्छन् र बाच्दछन् । त्यो उनीहरूको आफ्नो भाषा हुन्छ । अनि त्यस भाषालाई ब्यवहारमा ल्याउनु बच्चाको मानब अधिकारकै कुरा बन्दछ । तर आज राजनीतिक, आर्थिक तथा प्रबिधिको बिकासको कारणले भाषा र मातृभाषको प्रश्न जटील बन्दै गएको छ । आजको कटु वास्तविकता के छ भने भाषागत साम्राज्यवादका कारणहरूले अग्रेजी प्रभु भाषाकोरूपमा स्थापित छ र आजको प्रतिस्पर्द्र्धीीथा भूमण्डलीकृत बिश्वमा त्यसैलाई स्वीकारेर बसेको देखिन्छ ।

वास्तवमा हामी के बिर्सन्छौ भने भाषा सिक्ने बनी बनाऊ आधार मातृ भषा नै हुने गर्दछ र त्यसैको माध्यमबाट बिचार, अबधारणा आदि सिक्न नि सजिलो हुन्छ । यसो नगरेर हामीले बाल बच्चाहरूको सम्झने र बुझने बिषयलाई छोडेर एउटा अर्को अर्थात् बिदेशी भाषा सिकाउनमा लगाइदिन्छौ र त्यसरी कुनै पनि बिषय सिक्नुले केवल अनुवादको मानसिकतालाई मात्र बल पुग्दछ । साथै प्रत्येक भाषा कुनै न कुनै संस्कृति र मूल्य व्यवस्थाहरूको बाहिका (बाहक) हुने गर्दछ । हामीले अग्रेजीलाई अँगालेर आफ्नो आचरण र मूल्य ब्यवस्थाहरूलाई बदल्दछौ र त्यसै क्रममा आफ्ना साँस्कृतिक धरोहरूलाई पनि बिस्मृतिको गर्भमा धकेलिदिन्छौँ । आज अग्रेजी माध्यममा बिद्यालयहरूको जुन बाढी आएको छ त्यससँग जोडिएर उच्च बर्गमा शामिल हुन पाउने सम्भावना जस्तो देखिन्छ भने अन्य मातृ भाषाको स्थिति भने अझ कमजोर भएर गएका देखिन्छ । सम्मान प्राप्त नहुँदा तिनले नराम्रोसँग उपेक्षाको सामना गर्नु परिरहेको छ । कतिपय बिद्यालयहरूले त मातृ भाषाको प्रयोगलाई नै दण्डनीयजस्तो पनि बनाएको पाइन्छ ।

यस स्थितिमा न मूल भाषामा प्रवीणता आउन पाउँदछ न अग्रेजी प्रयोगको क्षमताकै अभिवृद्धि हुन सक्तछ । बाल बच्चा मात्रै होइन, यस परम्परामा दीक्षित प्रौढहरू पनि सोच–बिचार र मौलिक चिन्तनभन्दा धेरै बढी अनुबादको काममा नै लागेका हुन्छन् । सिर्जनात्मकताको दृष्टिले यसरी आज मानिसको मानस नै अधकल्चो बन्ने गरेको छ । यस प्रकार भाषिक अपरिपक्कताको कमी जीन्दगीभरी नै भोग्नुपर्ने र त्यसबाट पिढीपछि पिढी प्रभावित हुँदै जाने गर्दछ ।

यस प्रसंगमा के बुझनु पनि अत्यावश्यक छ भने अग्रेजीको हौवा केवल भ्रममा टिकेको छ । बिभिन्न देशहरूमा गरिएको अध्ययनबाट के पत्ता लागेको छ र स्थापित भएको छ भने मातृ भाषामा सिक्नु प्रभावकारी तरीकाले सिक्ने मूल आधार हो । आज ‘सबैकोलागि शिक्षा’ लक्ष सामाजिक बिकासका लागि महत्वपूर्ण मानिएको छ । यो लक्ष प्राप्ति गर्न मातृभाषाको माध्यामले मात्रै सम्वभ हुन सक्तछ । मातृ भाषाको माध्यमले सिक्नाले बौद्धिका बिकासमा बहु आयामिक र सकारात्मक प्रभाव पर्दछ । त्यसो भएको हुनाले आरम्भिक शिक्षाका लागि मातृभाषालाई माध्यम नबनाउनु आजको एउटा गम्भीर समाजिक तथा साँस्कृतिक चूनौति बनेको छ । जसको उपेक्षा गर्न सकिदैन ।

प्रतिक्रिया