नाकाबन्दी फेरि हुन सक्छ : ठाकुर

Mahantha Thakur copyकाठमाडौं, ८ फागुन । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना कुरा नसुनेमा फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका छन् । ‘संविधान हामीलाई उपेक्षा गरेर ल्याइयो, संशोधन पनि त्यसरी नै ल्याइयो, सीमांकनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फीरूपमा गठन ग¥यो’, शनिबार भएकोे साक्षात्कारमा उनले भने, ‘यस्तै रबैया जारी रहे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर सशक्त आन्दोलनको कार्यक्रम ल्याउँछौँ ।’

सरकारले अहिले पनि आन्दोलनमा दमन गरिरहेको उनको आरोप थियो । ‘सरकारले अहिले पनि दमनलाई कायम राखेको छ । फेरि दमन, निषेधित क्षेत्र घोषणा गरी, कफ्र्यू लगाए हामी नाकामा गएर फेरि नाकाबन्दी गर्छौं’, उनले भने, ‘पहिला पनि सरकारले त्यस्तै व्यवहार गरेर नाकाबन्दी गरेका हौँ ।’

सरकारले सहमति विपरीत अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोश व्यक्त गर्दै अहिले मौसमको प्रतिकूलताले आन्दोलनको स्वरूप बदले पनि केही दिनमा बसेर सशक्त आन्दोलन लिएर आउने जानकारी दिए । ठाकुरले सरकारले आफूहरूको सहमतिविना गठन गरेको राजनीतिक संयन्त्र अस्वीकार्य भएको भन्दै संयन्त्रलाई संवैधानिक मान्यता दिने र आफूहरूले उठाएको कुरा कार्यविधिमा समेटे संयन्त्रमा सहभागि हुने स्पष्ट पारे । ‘संयन्त्रलाई संवैधानिक हैसियत दिएर आफूहरूले उठाएका सरोकारलाई कार्यविधिमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन’, उनले भने ।

ठाकुरले देशको प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली भारत भ्रमणमा गएकोले स्वागतसम्म ठीकै भएको भन्दै यो भ्रमण आफूहरूको लागि हर्ष न विस्मात जस्तो भएको टिप्पणी गरे । उनले २ प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा नयाँ कुनै कुरा नभई पुराना विषय मात्रै समेटिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलादेखि भन्दै आएको सबैलाई समेटेर मिलेर अघि बढ्ने कुरा मात्रै गरेको बताए । ‘मधेसमा सडक विस्तारको कुरा पुरानै हो । भूकम्पपछिको पुनर्निर्माणको कुरा पनि पुरानै हो’, ठाकुरले भने, ‘अब यसको कार्यान्वयन कसरी हुन्छ त्यसमा हाम्रो रुचि छ ।’

प्रतिक्रिया