रंगमञ्चमा युवाको क्रेज

d copyकाठमाडौं, ६ फागुन । नेपाली रंगमञ्चले भर्खरै १५ वर्ष पूरा गरेको छ । नियमित रूपमा रंगमञ्चमा नाटकहरू मञ्चन भइरहेका पनि छन् । तर योभन्दा नेपाली दर्शकहरूमा यसको क्रेज खास देखिएको थिएन । पछिल्लो करिब ३ वर्षको अवधिमा नेपाली रंगमञ्चलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ । अहिले काठमाडौं उपत्यका तथा मोफसलमा खुलेका विभिन्न नाटकघरमा धमाधम नाटक मञ्चन भइरहेका छन् ।

यसलाई पछिल्लो समयमा नेपालमा नाटक कल्चर बसेको पनि भन्न सकिन्छ । फिल्महरूको तुलनामा रंगमञ्चमा जीवन्त अभिनय गर्न र देखिन पाउने भएपछि पछिल्लो समयमा रंगमञ्चको आकर्षण बढेको हो । दर्शकहरूका लागि रंगमञ्च अहिले दिनभरिको थकान मेट्ने थलोको रूपमा विकसित भएको छ ।

लगभग सुस्ताएको जस्तै देखिएको रंगमञ्चका कलाकारहरूले अभिनय गरेका फिल्महरू एकाएक चर्चित बनेपछि यसको महत्व एकाएक बढेको सबैले अनुमान गर्छन् । विभिन्न पुराना उपन्यासलाई अनुवाद गरेर त्यसलाई जीवन्त देखाउने, यस्तै समाजका विकृतिका कुराहरूलाई उठाएर अभिनयको माध्यमबाट समाजमा चेतना पैmलाउने काम पनि रंगमञ्चले गरेको छ । यसैबीचमा ०७२ मा नाटककको क्रेज निकै देखियो । विभिन्न नाटक घरमा १ वर्षसम्म डेढदर्जन बढी नाटक मञ्चन भए । जसलाई नेपाली दर्शकहरूले अति नै रुचाएको पाइएको छ । विभिन्न नाटक घरहरूले राखेको ३ महिने प्रशिक्षण अनि केही पुराना कलाकारहरूलाई मिश्रण गरेर उनीहरूले गरेको जीवन्त अभिनयलाई सबैले मन पराएको देखिए । यस्तै रंगमञ्चमा नै जीवन्त अभिनय देख्न र गर्न पाउने भएकाले पनि पछिल्लो समय नाटकमा युवा पुस्ताहरूको क्रेज बढेको मण्डला थिएटरका नाटक निर्देशक सुनील पोखरेलले बताए ।

उनले यसरी युवा पुस्ताहरू रंगमञ्चमा आकर्षित हुनुलाई राम्रो संकेत रहेको पनि बताए । ‘पछिल्लो समय नाटकमा युवा पुस्ताहरूको क्रेज देखिएको छ । यो रंगमञ्चको लागि राम्रो सन्देश हो’ निर्देशक पोखरेलले भने, ‘रंगमञ्चमा आएर उनीहरूले हात पारेको सफलताका समाचारहरू सुन्दा गर्वले छाती फुलेर आउँछ ।’ जीवन्त अभिनय गर्न पाउने ठाउँमा आउन खोज्नेहरूलाई उनी आपूmलाई मनपर्ने काम गर्न आग्रह गर्दछन् । पछिल्लो समय नाटक हेर्न र नाटकमा अभिनय गर्न आउनेको क्रेज देख्दा ज्यादै खुसी लाग्ने उनले प्रतिक्रिया दिए । निर्देशक पोखरेलले नाटक हेर्ने दर्शकको क्रेज बढे पनि यो सहर केन्द्रित मात्रै भइरहेकोमा उनको गुनासो छ ।

उनले भने, ‘केहीवर्ष यता रंगमञ्चमा दर्शकको क्रेज बढेको छ । तर यो सहर केन्द्रित बनिरहेको छ । यसलाई सरकारले केही गर्ने प्रयास गर्ने हो भने हामी हाम्रो क्षेत्रबाट जे पनि गर्न तयार छौं ।’ कमेडी थिएटरका सडक नाटकहरू ग्रामीण परिवेशमा बढी प्रचलनमा रहेको बताउँदै उनले पछिल्लो समय मोफसलमा पनि नाटक घरहरू खुल्ने क्रम सकरात्मक रहेको बताए । यसका लागि उनले ४० भन्दा बढी समूहसँग साझेदार गरिएको पनि जानकारी दिएका छन् । उनले आर्थिक श्रोत सीमित हँुदा प्रभावकारी रूपमा कार्यान्वयन गर्न भने नसकिएको पोखरेलले गुनासो गरेका छन् ।

यस्तै रंगमञ्चमै पछिल्लो १ वर्षदेखि रमाइरहेका कलाकार सन्देश लामिछानेले पनि रंगमञ्चमा दर्शकको क्रेज बढिरहेको स्वीकारेका छन् । ‘जीवन्त अभिनय गर्ने ठाउँ जहाँ रियल कुरा हेर्न पाइन्छ ।’ कलाकार लामिछानेले भने । लामिछानेले जे हो त्यही प्रत्यक्ष रूपमा दर्शकलाई देखाउँदा नै रंगमञ्चको लोकप्रियता बढ्दै गएको बताए । नाटकले मान्छेको सबै इन्द्रियलाई आराम दिने माध्यम बनेको पनि उनले थपे ।

‘विशेष प्रशिक्षणको आधारमा गरेको अभिनय कलाकारलाई पनि विशेष नै हुन्छ । यसले कलाकारलाई पोख्त बनाउँछ, भने दर्शकलाई पनि सन्तुष्टि दिने काम गर्छ ।’ कलाकार लामिछानेले भने, ‘साना कुरालाई पनि मिहेनत गरेर गरेको अभिनयले सबैको मन छुँदा पछिल्लो समय दर्शकको क्रेज बढेको हो ।’ उनले रंगमञ्चमा केही गराँै भन्ने पनि रहेको भन्दै केही कलाकारहरू भने ठूलो पर्दातिर जान खोज्नेहरू पनि भेटिएको उनले बताए । रंगमञ्चबाटै आएका कलाकारहरू पछिल्लो समयमा ठूलो पर्दामा सफल भएको उदाहरणले पनि नाटकका कलाकारहरू आपूmलाई सफल कलाकार बनाएर नेपाली फिल्मक्षेत्रमा लाग्ने गरेको उनले बताए ।

यस्तै अर्का कलाकार नजिर हुसेनको बुझाइ पनि त्यस्तै छ । दुवै दृष्टिकोणबाट रंगमञ्च अहिले युवा पुस्ताका लागि नशा नै बनेको छ । युवा पुस्ताहरूको पछिल्लो सोचाई पढेरै केही गर्नुपर्ने मानसिकताले नै क्रेज बढ्दै गएको उनले थपे । रंगमञ्चमा सफलता प्राप्त गर्दै गएपछि केही कलाकारहरू आर्थिक स्थिति बलियो बनाउन मुभी नै गरौँ भन्नेसम्म आइपुग्छन् । करिव ५ फिल्ममा अभिनय कला देखाइसकेका कलाकार हुसेनले भने, ‘आर्थिक अवस्था बलियो बनाउनकै लागि मैले पनि मुभी खेलेँ । तर, मेरो सोच रंगमञ्चमै केही गरौँ भन्ने छ ।’ उनले फिल्मको तुलनामा रंगमञ्चमै काम गर्दा बढी रमाइलो हुने अनुभव पनि सुनाए । फिल्ममा लामोसमय काम गर्नुपर्दा गाह्रो हुन्छ । तर, नाटकका लागि १ महिना रिहर्सल गरेपछि नै तयार हुने र स्पटमै अभिनय देख्न पाइने भएकाले अभिनय गर्ने कलाकारसँगको ग्याप नहुने उनले बताए । कलाकारलाई प्रत्यक्ष भेट्न पाइने र जीवन्त अभिनय पनि हेर्न पाइने भएकाले कलाकारको खुबीसमेत प्रस्तुत हुने भएकाले नाटकमा क्रेज बढ्दै गएको उनले थपे ।

नियमित नाटक हेर्न राजधानीका विभिन्न नाटक घरमा पुग्ने दर्शक विनोद भट्टराईले स्टार कलाकारलाई प्रत्यक्ष रूपमा भेट्न पाइने भएकैले पछिल्लो समय नाटकमा क्रेज बढ्दै गएको बताए । उनले नाटकबाटै आएका कलाकारहरूले खेलेका फिल्महरू एकपछि अर्काे हिट हुँदै गएको बताउँदै यस्ता कलाकार जन्माउन सक्ने रंगमञ्च नै भएको ठोकुवा गरे । रंगमञ्चमा प्रत्यक्ष सबै कुरा देख्न पाइने भएकाले युवा पुस्ताको आकर्षण बढेको उनले बताए । ‘मलाई नै थाहा थिएन । तर, नाटकबाट आएका कलाकारहरूको क्रेज चलचित्रमा बढ्दै गएको देखेपछि नाटक कस्तो रहेछ भन्ने लागेर हेर्न थालियो वास्तवमा त्यहाँ जीवन्त अभिनय हुँदो रहेछ ।’

०७२ सालमा काठमाडौं उपत्यकाका विभिन्न नेपाली नाटक घरमा करिव २ दर्जनभन्दा बढी नाटक मञ्चन भएका थिए । त्यसमध्ये ‘मान भर्सेस मति’, ‘र’ माइलो’, ‘कथा एक्सप्रेस’, ‘तार्तुफ’, ‘मान्छे पोल्ने भट्टी’ मा दर्शकहरूको उल्लेख्य सहभागिता थियो । यसबाहेक ‘सिरुमा रानी’, ‘वैतरणी क्याफे’, ‘सरजमिन’, ‘बादलका आकारहरू’, ‘म र अरू’, ‘लाटो पहाड’, ‘योनीका कथाहरू’, लोकतन्त्र जस्ता नाटकहरू मञ्चन भएका थिए ।

प्रतिक्रिया