बालबालिकालाई दिने यस्तो पनि सजाय

टोकियो, ५ फागुन । एकजना जापानी आमाले आफ्नी छोरीलाई सजायस्वरुप ३० वटा माछा खान कर गरेपछि जापानमा बालबालिकालाई दिइने सजायको पछिल्लो शृंखला सार्वजनिक भएको छ । जापानी सञ्चारमाध्यम र पत्रकारहरुले जापानी बालबालिकालाई दिइने सजायका विविध रुपहरु सार्वजनिक भएका जनाएका छन् ।

ती बालिकाकी आमा युको ओगाता र केटासाथी ताकेसी एगामीले सो काम गरेपछि उनीहरुलाई प्रहरी थुनामा राखिएको छ । उनीहरुले ती बालिकालाई गत जुन महिनामा सो सजाय दिएका बताइएको छ । ती बालिकालाई जबर्जस्ती सो कारबाही गरिएको उनीहरुले स्वीकार गरेका छन् ।

ती महिला र उनको केटासाथी दक्षिणपश्चिमी जिल्ला फुकुओकामा बस्छन् । उनीहरुले छोरीले सामान्य गल्ती गरेपछि त्यसको सजायस्वरुप घरैमा पालेका ३० वटा माछा मारेर उसलाई खान भनेका थिए ।

जापानको निप्पोन टेलिभिजनले मंगलबार दिएको जानकारीअनुसार घरको ट्यांकीका माछा मारेर एक एक गरी खान दिएका थिए । चिकित्सकले उनको स्वास्थ्यमा त्यस्तो कुनै असर नपरेको जनाएका छन् । ती बालिकाले आफ्ना साथीलाई भनेपछि त्यो सजाय बाहिर आएको थियो ।

सजाय दिने नाममा जापानमा बालबालिकालाई यस्ता खालका कडाभन्दा कडा कारबाही गर्ने गरिएको पाइन्छ । गत महिनामात्र पनि सोही जिल्लामा एक महिलाले आफ्नी तीन वर्षीय छोरीलाई तातो पानी खनाइदिएपछि उनको ज्यान गएको थियो ।

जापानमा बालबालिकालाई दिइने सजायका घटना वर्षेनी बढ्दै गएको बताइन्छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जापानमा गतवर्षको अन्त्यसम्ममा ८९ हजार यस्ता बालबालिकामाथि गरिएका कारबाहीका घटना सार्वजनिक भएका छन् ।

प्रतिक्रिया