ग्यास लुकाउनेलाई नछाडिने

काठमाडौं, २ फागुन । ग्यास लुकाएर सर्वसाधारणलाई मार पार्न थालेपछि सरकारले यसको अनुगमन थाल्ने भएको छ । कम्पनीले भनेजति ग्यासको मात्रा सर्वसाधारण उपभोक्ताले नपाएको गुनासो आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

बुद्धनगरका सर्वसाधारण हरिश्चन्द्र खरेलले नजिकैको राजभण्डारी स्टोरमा नेपाल ग्यास वितरण हुने सूचना पाए । बिहान व्यापारीसित उनले ग्यासबारे जिज्ञासा राख्दा, ग्यास आएमा पाउने आश्वासन पाए । साँझ पुनः बुझ्दा व्यापारीले थोरै ग्यास आएको र दिन नसकेको जवाफ दिए । उनका अनुसार त्यहाँका कसैले पनि ग्यास पाएका छैनन् । व्यापारीको पसल भने बन्द नै रहेको उनले बताए ।

कम्पनीले सामाजिक संजालमा ग्यास वितरण गर्ने डिपोहरूको सूचना दैनिक निकाल्ने गरे पनि कतिपय ती डिपोहरूले ग्यास नबाँडेको नजिकका सर्वसाधारण बताउँछन् । केहीले अन्यन्त्रै ग्यास झार्ने गरेको र ग्यास नआएको भन्ने गरेको सर्वसाधारणको गुनासो छ । ‘कि उद्योगको सूचना भूmठो हो कि त व्यापारीले कालोबजारी गरेका छन्’ खरेलले आक्रोश पोखे ।

‘मैले मात्रै होइन, यहाँका कसैले पनि ग्यास पाएका छैनन्, सूचना भूmटो हो या व्यापारीले कालोबजारी गरेको ?’ उनले भने । सर्वसाधारणलाई नभई उद्योगले व्यापारीलाई ग्यास दिएको र व्यापारीले कालोबजारी गरेको उनको आरोप छ ।

नाकाबन्दीको समयमा ग्यास वितरण हुँदा सरकारी टोली पनि सँगसँगै हुने गरेकोमा अहिले सरकारी टोली र सुरक्षा निकायको सहभागिता हुन छाडेको छ । सो बेला डिपोमा ग्यास गई सर्वसाधारणले लाइनमा बसेर पाउने गरेका थिए । वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका निर्देशक हरिनारायण बेल्बासे पछिल्लो समयमा सरकारी सहभागिता नभएको स्वीकार गर्छन् ।

‘सर्वसाधारण पनि चनाखो भइसके, त्यसैले अहिले सरकारी उद्योगबाट व्यापारीकोमा ग्यास जाँदा सहभागिता भएको छैन’ उनले भने । यदि कसैले ग्यास लुकाएको र सर्वसाधारणलाई नदिएको सूचना दिएमा आफूहरूले अनुगमन गर्ने बेल्बासेले बताए । ‘यदि तपाईंको नजिक कसैले ग्यास लुकाएर राखेको छ, भने हामीलाई जानकारी दिनोस्, हामी गएर अनुगमन गरेर तपाईंलाई ग्यास दिन्छौँ’ उनले भने ।

यता ग्यास बिक्रेता महासंघले पनि कालोबजारी गर्ने व्यापारीहरूलाई संघले नै कारबाही गर्नका लागि सघाउने प्रतिबद्धता जनाएको छ । महासंघका महासचिव चन्द्र थापाले कालोबजारी गरेको पाइएमा आफूहरूले सरकारी निकायलाई कारबाही गर्न घचघच्याउने दाबी गर्छन् ।

‘हामी कारबाही गर्ने निकाय त होइनौँ तर कारबाही गर्नका लागि सघाउँछौँ, अनुगमनका लागि पनि सघाउँछौँ’ उनले भने । पछिल्लो समयमा सरकारी टोली ग्यास वितरणमा सँगै नभएकाले पनि यसरी कालोबजारी बढेको हुन सक्ने थापाले बताए ।

यसैबीच वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले सघन अनुगमन टोली गठन गरेको छ । १ सय ८० जनाको टोलीलाई काठमाडौं उपत्यका र बाहिरी जिल्लामा समेत खटाउने गरी सघन अनुगमन टोली गठन गरिएको हो । सो टोलीलाई केही सातादेखि विभागले प्रशिक्षण दिँदै आएको थियो । वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वमा गठन गरिएको यो टोली भोलिबाट नै जिल्ला तहमा खटिने भएको छ ।

पर्सिबाट अनुगमन हुने बेल्बासेले बताए । पहिलो चरणमा काठमाडौं र आसपासका १२–१५ वटा जिल्लामा अनुगमन हुने र त्यसपछि विभिन्न चरणमा अनुगमन हुने उनले बताए । एउटा टोलीमा ५–६ जना रहने र उपत्यकामा मात्रै २०÷२२ वटा टोली खटाइने विभागले जनाएको छ । 

टोलीले विभिन्न ठूला खाद्यान्न स्टोरमा गई मूल्य पनि संकलन गर्नेछ । प्रत्येक टोलीमा निरीक्षण प्रमुख रहने र कसैले कालोबजारी गरेको पाइएमा कारबाहीसमेत गरिने उनले बताए । ‘जनशक्ति थोरै रहेको थियो, अब जनशक्ति थपिएपछि अनुगमन प्रभावकारी हुन्छ’ उनले दाबी गरे ।

प्रतिक्रिया