‘राष्ट्रको नेतृत्व माओवादीले गर्छ’

काठमाडौं, २ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अब राष्ट्रको नेतृत्व माओवादीले गर्ने दाबी गरेका छन् । संविधान बनेपछि पार्टी नेतृत्वले लिएको पहलकदमीबाट देशभर एमाओवादीमा नयाँ रक्त सञ्चार पैदा भएको र जनताले पनि एमाओवादीलाई राजनीतिक शक्तिकारूपमा लिएको उनले दाबी गरेका छन् । ‘राजनीतिमा लिएको पहलकदमीले जनतामा आशा जगाइदिएको छ, त्यसलाई संगठनमा रूपान्तरण गर्नुपर्छ,’ आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सरकारमा पहल आएको छ । राष्ट्रको नेतृत्व गर्ने अब माओवादीले नै हो । जनताले पनि एमाओवादीलाई नै राजनीतिक शक्तिका रूपमा लिएको छ ।’

जातीय÷क्षेत्रीय मोर्चा समन्वय समितिद्वारा आयोजित प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएका हुन् । वैचारिक र सांगठनिक एकताले पार्टी मजबुत हुने भन्दै उनले सबै माओवादी एक भए जनता पनि माओवादीप्रति एक हुने उनले विश्वास व्यक्त गरे ।

दहालले नेपालको नयाँ संविधानले नै समाजवादलाई आत्मसात् गरेकाले त्यसलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । सामाजिक न्यायसहितको आर्थिक समृद्धि नै राजनीतिक दलको प्रमुख विचार र कार्यनीति हुनुपर्ने उल्लेख गर्दै दाहालले राजनीतिसँगै आर्थिक विषयलाई पनि योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गरे । दाहालले नयाँ संविधानले अल्पसंख्यक समुदाय र वर्गलाई समेत अधिकार सम्पन्न बनाएको दाबी गरेका थिए । मधेसका जनताको वास्तविक मुक्ति एमाओवादीले मात्र गर्ने भन्दै उनले तराईमा भ्रम पारेर आफ्नो स्वार्थसिद्ध मात्र गर्न खोजेकाहरूप्रति सबै सचेत हुनुपर्ने धारणा राखेका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताए । दाहालले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो, कुनै सन्धी र सम्झौता गर्न होइन ।’

प्रतिक्रिया