सुल्झेन प्रतिनिधि विवाद

काठमाडौं, १ फागुन । उद्घाटन भएको ३ दिन बितिसक्दासमेत एमालेसम्वद्ध अनेरास्ववियुको नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधि विवाद सुल्झन नसकेकाले अधिवेशन लम्बिएको छ । दुईसमूह बनाएर निर्वाचनमा होमिएका समूहबीच प्रतिनिधि विवाद बढेकाले अधिवेशन लम्बिएको हो ।

शुक्रबार साँझ बसेको बन्द सत्रले वर्तमान केन्द्रीय समिति भंग गरी ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिसकेको छ । एमाले सचिव तथा मोर्चा संगठन इन्चार्ज गोकर्ण विष्टको अध्यक्षता गठन भएको अध्यक्ष मण्डलमा विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी, श्रीप्रसाद साह, खिमलाल भट्टराई, ठाकुर गैरे, राजेन्द्र राई र निवर्तमान अध्यक्ष किशोरविक्रम मल्ल छन् ।

उनीहरूले पनि विवाद मिलाउन प्रयत्न गरे पनि नसकेपछि छुट्टै समिति गठन गरिएको छ । अब, सो विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज रवीन्द्र अधिकारी, निवर्तमान कोषाध्यक्ष रश्मी आचार्य, सचिव महेश बर्ताैला, जीवन राई र अब्दुल हुसेन खाँ रहेको टोलीले पाएको छ । विवाद सुल्झिएपछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

विद्यार्थीको चुनावमा माथिल्लो तहका नेताहरूले नै अप्रतक्ष्य हस्तक्षेप गरेकाले विवाद सुल्झिन नसकेको एमाले सचिव गोकर्ण विष्टको बुझाइ छ । अधिवेशन सुरु हुनुअघि नै प्रतिनिधि विवाद सुल्झाउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले आफू अल्पमतमा पर्ने डरले बैठकै नराखेकाले यो समस्या उब्जिएको उपाध्यक्ष उम्मेदवार राधिका खतिवडा बताउँछिन् ।

यद्यपि, आइतबारसम्ममा प्रतिनिधि विवाद सुल्झिने र सोमबार बिहानबाट निर्वाचन सुरु हुने अपेक्षा गरिएको छ । यसका लागि शनिबारैबाट काम सुरु गरिसकिएको छ । विवाद नभएका प्रतिनिधिलाई कार्य वितरण गर्ने काम भइरहेको अखिल प्रवक्ता आरसी लामिछानेले बताए । उनले भने, ‘देशभरिबाट १ हजार ५ सय मतदाता रहेका छन् । यति ठूलो संख्याका मतदाताको सबै प्रक्रिया पूरा गरी मतदान पर्सि १०÷११ बजेबाट मात्र सुरु हुनेछ ।’

अखिलमा पार्टीभित्रको गुटको प्रत्यक्ष्य प्रभाव देखिएको छ र प्यानल पनि सोही अनुसार खडा गरिएको छ । अखिलको निर्वाचनमा संस्थापन पक्षको नेतृत्व नविना लामाले गरेकी छिन् भने नेता माधवकुमार नेपाल पक्षधरबाट दीपक गौतमले नेतृत्व गरेका छन् । दुई पक्षबीच निकै कठा प्रतिस्पर्धा हुने अनुमान अखिल प्रतिनिधिले गरेका छन् ।

अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेका गौतमका पक्षमा पूर्वअध्यक्षहरू राजेन्द्र राई, ठाकुर गैरे र रामकुमारी झाँक्री मैदानमा छन् भने संस्थापनकी उम्मेदवार लामालाई जिताउन पोलिटब्युरो सदस्य भानुभक्त ढकाल पूर्वअखिल अध्यक्ष खिमलाल भट्टराई, माधव ढुंगेल मैदानमा उत्रेका छन् ।

यस्तै उपाध्यक्षमा संस्थापन पक्षबाट रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेश लामा रहेका छन् । आचार्य अहिले कोषाध्यक्ष, बर्तौला सचिव तथा बराल र लामा सचिवालय सदस्य हुन् । नेपाल पक्षबाट उपाध्यक्षमा नीलकण्ठ आचार्य, जीवन राई, सरोज यादव र राधिका खतिवडा मैदानमा छन् । आचार्य र राई क्रमशः लेखा र अनुशासन आयोगको संयोजक तथा यादव र खतिवडा सचिव हुन् ।

यस्तै महासचिवमा ऐन महर र अब्दुल हुसेन खाँ बीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पश्चिमका रहेका महर उपाध्यक्ष र खाँ सचिव हुन । मुस्लिम समुदायबाट पहिलोपटक खाँ महासचिव पदमा प्रतिस्पर्धा गर्दैछन् । बाँके जिल्ला कमिटीको सचिवालय सदस्यसमेत रहेका खाँ अखिलभित्र प्रभावशाली नेता मानिन्छन् ।

७ सचिवमा संस्थापन पक्षले खुलातर्फ आरसी लामिछाने, समिक बडाल, वसन्त ढकाल र मकर खड्कालाई उम्मेदवारी बनाइएको छ । महिलातर्फ कमला बोहरा, मधेसीबाट दुर्गानन्द ठाकुर, जनजातिबाट अमृत बूढा चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्षमा पाटन संयुक्त क्याम्पसका सभापति झपिन्द्र खत्री भिड्ने भएका छन् । खत्रीको प्रतिस्पर्धा दिनेश आचार्यसँग हुने भएको छ । गौतम टिमबाट खुला सचिवमा सुदेश पराजुली, अशेष घिमिरे, भक्तकुमारी लामा, कमल शाही, भीम रावल रहेका छन् भने महिलातर्पmबाट सचिवमा आरती लामा उम्मेद्वार छिन् ।

प्रतिक्रिया