सीमांकन विवाद राजनीतिक संयन्त्रले टुंग्याउने

3dal-morcha_meeting_968899365 copyकाठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै सीमांकन विवाद टुंग्याउनका लागि राजनीतिक संयन्त्र बनाउन प्रमुख दल र मधेसी मोर्चा सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीको पहलमा शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले सीमांकनको विवाद मिलाउनका लागि ७ फागुनअघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको हो । प्रधानमन्त्री ओलीले ७ फागुनदेखि १२ सम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेको छ ।

पहिलो संविधान संशोधनपछि मधेसी दलको माग संवोधनको प्रक्रिया अघि बढेको भन्दै भारतले ५ महिनादेखि जारी नाकाबन्दी खुकुलो बनाउँदै लगेपछि सीमांकनको विवाद मिलाउन प्रमुख दल र मोर्चा सक्रिय भएका हुन् ।

बैठकमा यसअघि विघटन गरेर फेरि ब्युँताइएको कार्यदललाई पनि सक्रिय बनाएर छलफल गर्नुपर्ने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले गरेका थिए । ‘बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनको विवाद मिलाउन यथाशीघ्र राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गर्नुभयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँले जारी विवादलाई लामोसमय लान नहुने बताउँदै राजनीतिक संयन्त्र बनाएर संविधान संशोधनसहितका आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने कुरा मोर्चासँग राख्नुभयो ।’

बैठकमा मधेसी मोर्चाले भने राजनीतिक संयन्त्र बनाउनुअघि त्यसको हैसियत, अधिकार र कार्यक्षेत्रबारे टुंगो लगाइनुपर्ने अडान राखेको थियो । मोर्चाले संयन्त्रको टिओआरको पहिले टुंगो लगाउनुपर्ने बताएपछि प्रमुख तीन दलले टिओआरबारे साझा धारणा बनाउने भएका छन् ।

बैठकमा सहभागी मधेसी मोर्चाका नेताहरू हृदयश त्रिपाठी र लक्ष्मणलाल कर्णसहितले टिओआर बनाइसकेपछि संयन्त्र निर्माण गरिनुपर्ने धारणा राखेका थिए । ‘बैठकमा प्रधामन्त्रीले पनि आफू भारत जानुअघि नै सहमति जुटाउने प्रस्ताव राख्नुभयो’, दाहालले भने, ‘पर्सिसम्ममा संयन्त्रको टुंगो लगाउने कुरामा प्रमुख दल र मधेसी मोर्चा सक्रिय भएका छन् ।’

यसका लागि प्रमुख दल र मधेसी मोर्चाको कार्यदलस्तरमा पनि छलफल र संवाद अघि बढाउने निचोड दुई पक्षले निकालेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताउँदै धेरै लामो समय समस्या राख्न नहुनेमा जोड दिएका थिए ।

कांग्रेसको पनि महाधिवेशन केही पछि सरेकाले यही बीचमा सहमति जुटाउन प्रमुख दल र मोर्चा सक्रिय भएका हुन् । प्रधानमन्त्रीले आफू भारत जाँदा यहाँ सहमति भएको सन्देश लैजाने प्रयासस्वरूप भएको छलफल सकारात्करुपमा अघि बढेको प्रतिक्रिया मोर्चाका नेताहरूले पनि दिएका छन् ।

प्रतिक्रिया