भारतीय लगानीकर्ता आकर्षित गर्न सुझाव

anchoring copyकाठमाडौं, २८ माघ । लगानी उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय लगानी आकर्षित गर्ने दिशामा भारत भ्रमण केन्द्रित गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीको निम्तोमा बिहीबार बिहान बालुवाटार पुगेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्समा आवद्ध उद्योगी व्यवसायीहरूले मुलुकको आर्थिक विकासका लागि भारतीय लगानी अनिवार्य रहेको भन्दै लगानी आकर्षित गर्ने दिशामा भ्रमण केन्द्रित गर्न सुझाव दिएका हुन् ।

व्यवसायीहरूले नेपालको पारवहन अधिकार विपरीत भारतले अघोषित नाकाबन्दी लगाउनाले मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको तथ्यलाई ख्याल गरी अब आइन्दा पारवहन अधिकारमाथि हस्तक्षेप नहुने ग्यारेन्टीका लागि भ्रमणका क्रममा पहल गरिनुपर्ने पनि बताए ।

उनीहरूले रक्सौलबाहेकका अन्य नाकामा रेलबाट सामग्री ल्याउने विषयमा पनि भ्रमणमा कुरा उठाउनु नेपालको हितमा हुने बताए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरालगायतको उपस्थिति रहेको छलफलमा उद्योगी व्यवसायीहरूले प्रधानमन्त्रीको भ्रमण सफल बनाउनका लागि आफूहरूले पूरै सहयोग गर्ने भन्दै तयारीमा कुनै किसिमको कमजोरी नगर्न सरकारी अधिकारीहरूको ध्यानाकर्षण गराए ।

उद्योगी व्यवसायीहरूले नेपालमा ९ सय मेगावाट क्षमताका २ वटा जलविद्युत् आयोजना बनाउनका लागि भारतसँग आयोजना विकास सम्झौता भइसकेको अवस्थामा विद्युत् आयात निर्यातमा कुनै किसिमको समस्या आइपरे तत्काल समाधानका लागि स्थायी प्रकृतिको संरचना बनाउनुपर्ने विषयमा पनि भ्रमणमा छलफल गरिनुपर्ने बताए ।

प्रतिक्रिया