वार्ताको पहल गर्न जर्मनीमा बैठक

म्युनिच (जर्मनी), २८ माघ । सिरियामा शान्ति स्थापनाको कामलाई थोरै मात्र भएपनि गतिदिने उद्देश्यले विश्वका कैयौँ विदेशमन्त्रीहरुको बैठक जर्मनीको म्युनिचमा सुरु भएको बताइएको छ । बिहीबार सुरु भएको भनिएको सो सम्मेलनमा लगभग आस मरेको भनिएको सिरियाली शान्ति वार्तालाई पुनः गतिदिने प्रयास गरिने जनाइएको छ ।

बैठकको आयोजना रसियली र अमेरिकी विदेशमन्त्रालयले गरेको बताइएको छ । सो बेठकमा सिरियाली सम्पर्क समूहका सदस्य राष्ट्रका करिब १७ वटा देशका विदेशमन्त्री सहभागी हुनेछन् । यसअघि पनि केही दिनमात्र अघि सिरियाली शरणार्थीका लागि विश्वका दाताराष्ट्रहरुले लन्डनमा सिरियाका सहयोगी समूहको बैठक भएको थियो । सो बैठकमा सिरियाली दाताहरुले सहयोगको प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

दुई हप्तामात्र अघि सिरियासम्बन्धी शान्तिवार्ता जेनेभामा भएको थियो । तर त्यस वार्तामा सुरुमा उपस्थित हुने जनाएका सिरियाली विपक्षीहरुले पछि गएर भने वार्तामा बस्न नमानेपछि वार्ता त्यसै रोकिएको थियो ।

उता अलेपोमा रसियाली युद्धक विमानले आक्रमण गर्ने गरेका छन् । सो आक्रमणबाट बच्नका लागि दैनिकजसो हजारौँ सिरियालीले देश छोड्न खोजेका अधिकारवादीहरुले जनाएका छन् । बिहीबार म्युनिचमा सुरु भएको सो बैठक सिरियाली सम्पर्क समूहको हो । सिरियाको बारेमा आवश्यक सरसहयोग र परामर्श गर्नेगरी यो सम्पर्क समूह गठन भएको हो ।

सो बैठकमा सिरियामा पुनः शान्तिवार्ताका लागि आवश्यक तयारी र पहल गर्ने विषयमा छलफल हुने बताइएको छ । सिरियाको पाँच वर्षे हिंसाको अन्त्यका लागि जारी रहेका विभिन्न प्रयासमध्ये पछिल्लो समयमा यो बैठकको आयोजना गरिएको छ ।

जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताबीच वार्ताको तयारी भएको थियो । तर चार दिनको बसाईपछि सो वार्ता नै सुरु हुन नसकेको भन्दै अन्त्यको घोषणा गरिएको थियो । सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले पटक पटक वार्ताको प्रयास गर्ने गरेको थियो । तर ती वार्ता सफल हुन भने सकेका छैनन् । साउदी अरेबियाको अग्रसरतामा तय भएको यो पछिल्लो वार्ता पनि सम्भव हुन नसकेको बताइएको छ । सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो ।

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार सिरियाली सरकारलाई सुरक्षा र संरक्षण गर्नेगरी सिरियामा आक्रमण नगर्न पनि रसियालाई आग्रह गरिएको छ । अमेरिकाले रसियाले सिरियामा गरेको भनेको कारबाहीबाट सिरियाली सरकारी अधिकारी एवं राष्ट्रपति बसर अल असदको संरक्षण र सुरक्षा प्रदान गरेको भन्दै अमेरिकाले सो आक्रमण तत्कालै रोक्न आग्रह गरेको हो ।

सिरियाको उत्तरी प्रान्त अलेपोमा सिरियाली सैनिकले गरेको आक्रमणमा नै रसियाली सैनिकको पनि हात रहेको अधिकारवादीहरुले जनाएका छन् । उनीहरुले सो अक्रमणमा लगभग ५ सय व्यक्तिको मृत्यु भएको र अरु हजारौँले देश छोडेर भाग्न खोजिरहेको जनाइएको छ । त्यस क्षेत्रमा अधिकारवादीहरुका साथै अरु पनि कोही पुग्न नसकेको जनाइएको छ ।

यस नगरमा यही फेब्रुअरीको सुरुदेखि नै सिरियाली विद्रोही र आतङ्ककारीलाई लक्ष्यगरी गरेको यस आक्रमणहरूमा कैयौं सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । दक्षिणी टर्कीसँग सीमा जोडिएको यस क्षेत्रमा रहेको अलप्पो प्रान्तमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गर्ने गरेपनि ती क्षेत्रमा भएका कारबाहीहरुमा सर्वसाधारण नै बढी पर्ने गरेका छन् ।

प्रतिक्रिया