कति सहज मृत्यु ?

सुखी के हो ?
आश्चर्य के हो ?
बाटो कुन हो ?
कुरा भन्नु के हो ?

यक्षले गरेको माथिको प्रश्नमा युधिष्ठिरले दिएको उत्तरमा ‘जुन मानिस दिनको आठौँ पहरमा आफ्नो घरमा एक छाक साग मात्र पनि खान पाउँछ, जसलाई ऋण लागेको छैन, जसले परदेश जानु पर्दैन त्यही मानिस सुखी हो’ प्रतिदिन मानिसहरू बराबर मरेका देखिन्छन्, ता पनि बाँकी मानिस बाँचिरहने इच्छा गर्दछन्, यसभन्दा अर्को आश्चर्य छैन, आश्चर्य यही हो । तर्कताको भूल छैन, शक्ति भिन्नभिन्न छ, त्यस्तो ऋषि पनि एउटा छैन जसको वचन प्रमाणिक छैन । धर्मको तत्व एक गुफामा छ । कसैलाई थाहा छैन । यस प्रकारले महाजन (अग्रज)हरूले जुन बाटो हिँड्दछन् त्यसैलाई बाटो भन्नु ।

यस म हामीरूपी कराहीमा सूर्यरूपी अग्नि र रातदिनरूपी दाउरा मिलाएर महिना ऋतुरूपी दाबिलाले चलाउँदै कालरूपी भान्से सारा प्राणीलाई पकाइरहेछ । कुरा भन्नु यही हो । (नेपाली संक्षिप्त भारत, चक्रपाणी चालिसे पृष्ठ १५९)

हरेक मृत्युको सूचना र खबरले महाभारतमा उल्लेख भएको यक्ष युधिष्ठिरको संवादको अर्थ सम्झने कोशिस गर्छु । सक्तिनँ यति मात्र होइन, छोराको मृत्युले आहात भएपछि गौतमीले वुद्धलाई छोराको जीवन दिन आग्रह गर्दा बुद्धले प्रयोगिक रूपमा गराएको मृत्युको शास्वत बोधले पनि उदास, हतास र विचलित मन शान्त हुँदैन । म मृत्यु सिकाउँछु भन्ने ओशोको किताबले पनि चित्तलाई स्वाभाविक अवस्थामा ल्याउन सक्दैन । सुशील दाको मृत्युको सूचनाले पनि त्यस्तै भयो । मोबाइलमा आएको संदेश पढेँ । जाडोको छोटो दिन, लामोलामो रात । उज्यालो भएको थिएन । मोबाइलमा आएको सन्देश पढेँ । द्विविधामा परेँ । विश्वास भएन । फेरि पढेँ घरमा सबै सुतेका थिए । उठाउने मन भएन । छोरा बसु उठेको चाल पाएँ । यो पढ त भनेर उसलाई दिएँ । सुशील कोइरालाको भौतिक उपस्थिति नभएको कुरा उले आफ्नो शब्दमा भन्यो । त्यस्तो सूचना आधिकारिक नहुने कुरो थिएन । त्यसमा पनि यदु खनालजीले पठाउनुभएको सन्देश थियो । बिरामी भएर ओछ्यान परेको कुरा सुनेको पनि थिएन । अप्रत्यासित रूपमा आएको रुवाइले क्यान्सर रोगलाई विजय गर्न सक्ने त्यो तागत र सामथ्र्य भएको व्यक्तिको कति सहज मृत्यु मनमा लागिरह्यो ।

मानिसले लामो जीवन वा सक्रिय जीवन छान्न पाउने हो भने केलाई खोज्ने ? लामो जीवनको अर्थ छैन, सक्रिय जीवनको अर्थ छ । जीवनको अवधिलाई हेर्ने हो भने सुशीलदाको जीवन छोटो भएन भने सक्रिय जीवन नै उहाँले पाउनुभयो । सिनेमाको नायक बन्ने इच्छा पालेका व्यक्ति राजनीतिमा नायक नै रहे खलनायकमा उनी दरिएनन् । त्यो उनको सवल पक्ष हो । सन्यासीको भेषभुषा नभए पनि जीवन सन्यासीको भन्दा भिन्न पनि थिएन । यस अर्थमा अपरीग्रह पालना गरेका एक राजनीतिक सन्यासीको रूपमा उनको जीवनको मूल्यांकन गर्दा अन्यथा हुन्छ जस्तो पनि लाग्दैन । एउटा पाटोबाट हेर्दा राजनीतिक रूपमा असफल होइन, सफल पात्रको रूपमा उनको मूल्यांकन हुन सक्दछ । तर, भोलिको पुस्ताको मूल्यांकनको पाटोबाट हेर्ने हो भने देश राजनीतिक चक्रब्यूहमा यसरी फसेको छ । चक्र भेदन भएर राष्ट्र सग्लो रूपमा रहिरह्यो भने सुशीलदालगायत अहिलेका राजनीतिक पात्रको इतिहास बाच्दा पठनीय नै हुन्छ । देशको इतिहास नै रहेन भने राजनीतिक पात्रको इतिहास कहाँ उत्खनन् भइराख्छ र ! राख्दैन । भारतको नयाँदिल्लीमा भएको १२ बुँदे राजनीतिक सम्झौताको राजनीतिक यात्रा यहाँ पुगेर कसरी विश्राम लिन्छ समयलाई कुर्नुपर्ने हुन्छ । नियन्त्रण र संतुलनरहित राजनीतिक गति जुन रूपमा अगाडि बढिराखेको छ । प्रथम विश्वयुद्धपछिका विश्वका ४ ठूला राजनीतिक नेता र मध्यकालीन नेपालको पाटन राज्यको ५ प्रधानको भन्दा भिन्न अवस्था छैन । जहाँ नियन्त्रण र सन्तुलनको अवस्था रहँदैन त्यहाँ संभावित परिणाम सुखद हुँदैन भन्ने सन्देश प्रथम विश्वयुद्धपछि भए गरेका सम्झौताले दोस्रो विश्वयुद्धलाई रोक्न सकेन । त्यस्तै मध्यकालीन पाटनका ६ प्रधान जसले राजनीतिक उन्मुक्ति प्राप्त गरेका थिए उनीहरूले आफ्नो देशको सार्वभौमिकता र आफ्नो समेत बचाउ गर्न सकेनन् । त्यसैले अहिलेका राजनीतिक पात्रमा भौतिक उपस्थिति भएका र नभएका दुबैको राष्ट्रिय रूपले सफल वा असफल भनेर मूल्यांकन गर्ने जिम्मा भावी पुस्ताको हातमा छोड्नुपर्ने छ । आग्रह–पूर्वाग्रहयुक्त अहिलेका पुस्ताको मूल्यांकनको कुनै अर्थ रहँदैन ।

व्यक्तिगत रूपले मूल्यांकन गर्ने हो भने सुशीलदा असफल होइन, सफल राजनीतिज्ञ मान्नुपर्छ । उनको बराबर सादगी जीवन बिताउने राजनीतिज्ञ अर्को भएजस्तो पनि लाग्दैन । उनी निष्ठामा इमानदार रहे । आर्थिक प्रलोभनमा परेनन् । मन्त्री बन्ने अवसर पाउँदा पनि पदभन्दा संगठनमै क्रियाशील रहे । उनकै सभापतित्व कालमा भएको संविधानिसभाको निर्वाचनमा आफ्नो दललाई पहिलो हैसियतमा पु¥याए । उनको अनुपस्थितिपछि कोइराला परिवारको विरासत के हुने ? वा हुन्छ ? कांग्रेस सुदृढ भएर जान्छ वा खण्डित हुन्छ ? आम सर्वसाधारणको स्वाभाविक जिज्ञासा छ । त्यसको जवाफ कांग्रेस र अबको नेतृत्वमा छ । सुशीलदाले राम्रो गर्न नसके पनि दलको लागि नराम्रो गरेनन् । उनको सादगी र सरल पक्षले मृत्यु पनि त्यति सहज बनायो । त्यस्तो सहज मृत्यु जो कोहीले पाउँदैन । कति सहज मृत्यु रोज्नुभयो सुशीलदा भनेर सोध्न मन लागेको छ । यस्तो सहज मृत्यु ओशोले देखेका भए ‘म मृत्यु सिकाउँछु’ भनेर प्रवचन पनि दिइराख्ने थिएनन् होला ।

प्रतिक्रिया