तेल वितरण चाँडै सहज हुने

काठमाडौं, २६ माघ । नियमित रूपमा तेल आयात भएमा १० दिन भित्र तेल सहज हुने निगमले जनाएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेल मंगलबार रक्सौल डिपोबाट करिब १७ सय केएल इन्धन लोड हुने बताएका छन् । उनले बिस्तारै इन्धन आयातको मात्रा बढ्दै जानेछ र १० दिनभित्र उपभोक्ताले सहज रूपमा ग्यासबाहेक सबै प्रकारको इन्धन पाउने बताए ।

भारतले गरेको नाकाबन्दी पूर्ण रूपमा खुलेपछि पेट्रोलियम पदार्थको सहज कहिलेबाट होला भन्नेमा सर्वसाधारणको जिज्ञासा बढेको छ । नाका खुलेसँगै सबै नाकाबाट अहिले सहज रूपमा इन्धन नेपाल भित्रिरहेको छ । नाकाबन्दीको समयमा पनि वीरगन्जबाहेकका नाकाबाट केही परिमाणमा इन्धन भने आइरहको थियो । केही मात्रामा आएको इन्धनको व्यवस्थित र न्यायोचित वितरण नहुँदा कालोबजारी मौलाएको थियो ।

करिब ५ महिनापछि सोमबार पहिलो पटक वीरगन्ज नाकाबाट ३ सय ६८ केएल अर्थात ३ लाख ६८ हजार लिटर इन्धन नेपाल भित्रिएको छ । २४ वटा ट्यांकर सो परिमाणको इन्धन नेपाल भित्रिएको हो । जसमा पेट्रोल १ सय ८ केएल, डिजल १ सय ४० केएल र हवाइ इन्धन १ सय २० केएल भित्रिएको हो ।

नेपाल आयल निगमले माग गरको भन्दा पनि ४ गुणा कम इन्धन रक्सौल नाकाबाट नेपाल आएको थियो । निगमले पुनः मंगलबार पनि रक्सौलका डिपोमा तेल लोडिङका लागि ट्यांकर पठाएको जनाएको छ ।

वीरगन्ज नाकाबाट सामान्य अवस्थामा २५ सयदेखि ३ हजार केएलसम्म इन्धन आउने गरेको छ । आइओसीलाई निगमले बारम्बार माग गरेअनुसार नै इन्धन पठाउन आग्रह गरेको उनले जानकारी दिए । ‘भारतीय मन्त्रीलाई पुनः दोस्रो पटक मागे जतिकै इन्धन दिन आग्रह गरेका छौँ,’ उनले भने ‘त्यसपछि रक्सौलको डिपोलाई नेपालले माग गरे अनुसारको इन्धन दिन आइओसीले पत्राचारसमेत गरिसकेको जानकारी आएको छ ।’

खाना पकाउने ग्यास भने अझ केही समय सहज हुन नसक्ने घिमिरेले बताए । जाडो सिजनमा नेपाल र भारत दुबै देशमा माग बढी हुने र सोही रूपमा उत्पादन न्यून हुने भएकाले ग्यास सहज हुन केही समय लाग्ने उनको भनाई छ ।

जाडो पनि विस्तारै घट्दै जाने र ग्यासको खपत कम हुँदै जाँदा सहज हुने निगमको भनाई छ । अहिलेको समय सबैको घरमा रित्ता सिलिण्डर भएको र एकैपटक माग बढेकाले ग्यासको सहज हुन केही समय लाग्ने उनको तर्क छ ।

निगम प्रवक्ता घिमिरेका अनुसार अहिले नेपालमा दैनिक सरदर ३३ हजार मेट्रिक टन ग्यासको आवश्यक पर्ने भए पनि ११ हजार मेट्रिक टन मात्र ग्यासको आयात भएको छ । रक्सौल नाका भएर एलपी ग्यास आउन अझै नसकेको घिमिरेले बताए ।

आपूर्ति मन्त्रालयले पनि अबको केही दिनमा नै इन्धन सहज हुने बताएको छ । निगमले जस्तै १० दिनमै सहज हुन्छ भन्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ मन्त्रालयसम्बद्ध एक स्रोतका अनुसार निगमलाई तेल ल्याउन असहज गराउने गिरोहको चलखेलले पनि केही असहज हुन सक्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया