सुशील साच्चिकै सुशील

काठमाडौं, २६ माघ । ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो..’, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति अकस्मात् निधन भएपछि कविशिरोमणि लेखनाथ पौड््यालको यो कविता पाँचथर निवासी एक कांग्रेस कार्यकर्ता नरेश रिजालले उच्चारण गरे । उनको देहावसानको खबर सुनेपछि पत्याउन नसकेर आफँैं पुष्टि गर्न कोइराला निवास महाराजगन्ज आउनुभएका उहाँले भन्नुभयो, “मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रहेछ ।”

रिजाल मात्र होइन बिहानै कोइराला निवास पुगेका सबै कांग्रेसीजन नेता कोइरालाको निधनलाई पत्याउन सकिरहेका थिएनन् । उनीहरू जिज्ञासु भएर यताउता गरिरहेका थिए । नेता कोइरालाको मृत्यु स्विकारेका केही कार्यकर्ता भने ‘नेपाली कांग्रेस जिन्दावाद’, सुशील‘दा’ अमर रहून्जस्ता नारा लगाइरहेका थिए ।

नेपाल विद्यार्थी संघका कार्यकर्ता रुपा पोखरेल पार्टीले अभिभावक गुमाएको कुरा पत्याउन नसकिरहेको बताउँछन् । कोइरालाको अभिभावकत्व सधँै पाएको बताउँदै उनले भने, ‘उहाँ कार्यकर्तालाई धेरै रेखदेख गर्नुहुन्थ्यो, नचिनेको मान्छेलाई पनि एकै चोटि चिनेजसरी बोलाउनुहुन्थ्यो ।’

कोइराला निवासमा भेटिएका कांग्रेस युवा नेता गगनकुमार थापा पनि कोइरालाको निधन पत्याउन सकिरहनु भएको थिएन । कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको स्मरण गर्दै उनले भने, ‘कांग्रेसको एउटा धरोहर ढलेको छ, अब उहाँले लोकतन्त्रका लागि अविचलित भएर लडेको कुराबाट सिक्दै हामी अघि बढ्नुपर्छ ।’ नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई स्वच्छ छवि भएको नेतामध्ये कोइराला सबैभन्दा अगाडि रहेको बताउँदै भन्छन्, ‘देशले एउटा इमान्दार नेता गुमाएको छ ।’ नेवि संघका केन्द्रीय सदस्य प्रकाश महर्जन भन्छन्, ‘कोइरालाको सम्मानका लागि अब कांग्रेसले ६०÷४० को राजनीति त्याग्नुपर्छ ।’

निष्ठा र आदर्शका राजनीतिज्ञ

कांग्रेस कास्कीका नेता तथा कार्यकर्ताले कांग्रेसका सभापति सुशील कोइरालालाई निष्ठा र आदर्शका अनुकरणीय राजनीतिज्ञका रूपमा सम्झना गरेका छन् । कोइरालाको निधनसँगै शोकाकूल कास्की कांग्रेसका कार्यकर्ता बिहानैदेखि चिप्लेढुङ्गास्थित पार्टीको जिल्ला कार्यालयका भेला भएका छन् भने उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काठमाडौँ जाने तयारी पनि गरेका छन् ।

नेपालको राजनीतिमा एउटा निष्ठा र आदर्श बोकेका राजनीतिज्ञका रूपमा स्थापित कोइरालाबाट वर्तमानमा क्रियाशील प्रत्येक राजनीतिज्ञले धेरै सिक्नुपर्ने कास्की कांग्रेसका नवनिर्वाचित सभापति कृष्णबहादुर केसी बताउँछन् । ‘राजनीति गरेर आफूले केही पाउँछु भन्दा पनि राष्ट्र र समाजका लागि के दिन सकिन्छ भन्ने आजीवन सोच राख्ने कोइराला नेपाली राजनीतिकै अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो,’ उनले भने, ‘शक्तिमा हुँदा पनि कहिल्यै लोभलालच र प्रलोभनमा नफसी देश र नेपाली जनताको हितका लागि उहाँले गर्नुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।’

नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइराला, सुवर्णशम्शेर, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता राजनेताको प्रत्यक्ष सङ्गत गर्नुभएका कोइरालाले नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि गरेको अनवरत संघर्ष चिरकालपर्यन्त जीवन्त रहने कांग्रेस कास्कीकी नेत्री एवं सांसद शारदा पौडेल बताउँछन् ।

‘नेपाली जनतालाई नयाँ लोकतान्त्रिक संविधान प्रदान गर्नुभएका कोइरालाको संविधानको सफल कार्यान्वयन होस् भन्ने चाहनालाई कांग्रेससहित नेपालका राजनीतिक दलले आत्मसात गर्नुपर्ने’ कास्की कांग्रेसका नवनिर्वाचित सचिव सुदीपमोहन भट्टराई बताउँछन् ।

राजनीति आफ्ना लागिभन्दा पनि राष्ट्रका लागि हो भन्ने कोइरालाको आदर्शलाई प्रत्येक राजनीतिक दलका नेताले भुल्न नहुनेमा उनको जोड छ । पैसाको आडमा तडकभडक र राजनीतिमा प्रभाव पार्न खोज्ने जो कोहीले पनि कोइरालाको सादगी जीवनबाट धेरै सिक्नुपर्ने चर्चा यतिखेर कांग्रेससहित विभिन्न राजनीतिक वृत्तमा चलेको छ ।

कास्कीका पत्रकारको श्रद्धाञ्जली 

कांग्रेसका सभापति कोइरालाको गए राति असामयिक निधन भएकामा नेपाल पत्रकार महासंघ कास्कीले बिहान श्रद्धाञ्जलि सभा आयोजना गरी स्व कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा, वरिष्ठ पत्रकार एवम् अन्य पत्रकारले कोइरालाको सम्मानमा एक मिनेट मौनधारण गर्नाका साथै तस्बिरमा पूmलगुच्छा चढाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा महासंघका अध्यक्ष डा विष्टले कोइराला नेपालको राजनीतिमा एक आस्थाका प्रतीक र प्रजातान्त्रिक आन्दोलनका योद्धा भएको बताए । ‘उहाँको प्रधानमन्त्रीत्व कालमा देशले नयाँ संविधान पाउनु र सुशासनको थालनी हुनु ठूलो उपलब्धि हो’, उनले भने ।

प्रतिक्रिया