पूर्वप्रधानमन्त्री कोइरालाको निधन

sushil_koiralaकाठमाडौं, २६ माघ । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा आफ्नै निवास, महाराजगन्जमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको मध्यरात १२ बजेर ५० मिनेट जाँदा निमोनियाका कारण निधन भएको हो ।

फोक्सोमा भएको संक्रमण र निमोनियाका कारण उनको निधन भएको कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले लामो समयदेखि अर्बुद रोग (क्यान्सर) को उपचार गराइरहेका थिए ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उनलाई नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रूपमा हेरिएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उनी २७ माघ मा मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए ।

बुबा बोधप्रसाद र माता कुमुदिनी कोइरालाको सन्तानका रूपमा २८ साउन, १९९६ साल (सन् १९३९ अगष्ट १२) मा मोरङको विराटनगरमा सुशील कोइरलाको जन्म भएको थियो । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुगेका थिए ।

सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ८ः०० बजेसम्म निवासमै,बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि दशरथ रंगशालामा राखिएको थियो ।

संविधान जारी गर्न महत्वपूर्ण भूमिका
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान पु¥याएको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार विहान कोइराला निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै कोइरालाले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान प्रसंशा र सम्मानयोग्य भएको बताए ।

उनले कोइरालाको दृढ अठोटका कारण नै ३ असोजमा संविधान जारी गर्न सम्भव भएको भन्दै कोइरालाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न संविधानको कार्यान्वयनमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कोइरालाका आकांक्षा पूरा गर्ने दायित्व आफूहरुको काँधमा आएको भन्दै दायित्व पूरा गर्ने मामिलामा नचुक्ने बताए । उनले कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न कांग्रेसले मुख्य भूमिका निर्वाह गर्ने बताए । उनले कोइरालाको लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने स्वभाव तथा इमान्दारी र सादा जीवनबाट सबैले पाठ सिक्नुपर्ने पनि बताए ।

श्रद्धाञ्जलीका लागि कोइराला निवास पुगेका सबैजसो दलका नेताले कोइरालाको सादा जीवनको प्रसंशा गरेका छन् । उनीहरुले महत्वपूर्ण पदमा पुगेर पनि सम्पत्तिका लागि आशक्ति नदेखाउनु सबैका लागि अनुकरणीय भएको बताए ।

राजनीतिक समयरेखा : सुशील कोइराला
०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित ।
०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य ।
०५३ सालको काठमाडौं महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित ।
०५५ असोज २० मा उपासभापतमिा मनोनित ।
०५६ साउन १० गते महामन्त्री मनोनित ।
०५७ को पोखरा महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित ।
०५७ जेठ १७ गते महामन्त्रीमा मनोनित ।
११औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित, लगत्तै उपसभापतिमा मनोनित ।
०६४ असोजमा दुई पार्टी एकीकरणपछि कार्यबाहक सभापति ।
०६८ असोज ५ गते सम्पन्न १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित ।
०७० माघ २७ गते मुलुकको ३७ औँ प्रधानमन्त्रीको रूपमा चयन ।

प्रतिक्रिया