कामदार घटे पनि रेमिट्यान्स बढ्यो

काठमाडौं, २१ माघ । चालु आर्थिक वर्ष २०७२÷०७३ को पाँच महिनामा कामको खोजीमा विदेश जाने नेपाली कामदारको संख्यामा कमी आएको भएपनि विदेशबाट आउने रेमिट्यान्स भने बृद्धि भएको छ । रेमिट्यान्स आउने क्रम बढेपछि बैंकमा ठूलो मात्रामा पैसा थुप्रन गएको छ । चालु आर्थिक वर्षको गत पाँच महिनामा रेमिट्यान्स गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ दशमलव ४ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको पाँच महिनासम्ममा २ खर्ब ७१ अर्ब ३७ करोड १२ लाख रूपैया रेमिट्यान्स भित्रिएको छ । देशमा नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र बिग्रदै जादा रेमिट्यान्समा भने ठूलो बृद्धि देखिएको छ ।

भूकम्पले घर ढलेका कैंयनले आफ्नो घर पुनर्निर्माण गर्नको लागि घर पैसा पठाइरहेको कारण पनि रेमिट्यान्समा ह्वात्तै वृद्धि भएको बैदेशिक रोजगार विभागका महानिर्देशक केदार बहादुर बोगटीले जानकारी दिएका छन् ।

उनले भने, ‘मलेसियाबाहेक अन्य देशमा कामदारको ज्याला अहिले राम्रो छ, कमाउनेहरूले नेपालमा पैसा पठाइरहेका छन् जसले गर्दा रेमिट्यान्समा वृद्धि देखिएको हो ।’ साथै उनका अनुसार केहि देशमा काम गर्न गएका कामदारको तलवमा समेत वृद्धि भएको छ । जसले गर्दा पनि रेमिट्यान्समा यो वर्ष उच्च बृद्धि देखिएको हो ।

गत आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव ७ प्रतिशतले मात्रै वृद्धि भएको थियो । अहिले रेमिट्यान्समा भएको बृद्धिका कारण खुद ट्रान्सफर आय २२ प्रतिशतले वृद्धि भई ३ सय १५ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको पाँच महिनामा यस्तो आय १ दशमलव ३ प्रतिशतले मात्रै बढेको थियो ।

रेमिट्यान्सलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने ने कामदारहरूको संख्यामा भने गत वर्षको सोहि अवधिको तुलनामा कमी आएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७१÷०७२ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रोजगारीको खोजिमा विदेश जाने नेपाली कामदारको संख्या चालु आर्थिक वर्ष २०७२÷७३ को सोहि अवधिमा २२ दशमलव ६ प्रतिशतले घटेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८ दशमलव ६ प्रतिशतले बढेको थियो ।

बोगटीका अनुसार फ्रि भिसा र फ्रि टिकट कायम गरिएको भएपनि विदेश जाने कामदारको संख्या भने यो वर्ष ह्वात्तै घटेको छ । विभिन्न सामाजिक सञ्जाल तथा आमसञ्चारका माध्यममा विदेशमा गएका कामदारको बारेमा नकारात्मक समाचार आएपछि विदेश जाने कामदारको संख्या घटेको उनको तर्क छ ।

साथै वैशाखमा आएको भूकम्प र अहिलेको नाकाबन्दीले पनि विदेश जाने कामदारको संख्यामा कमी आएको बोटी बताउँछन् । बोगटीले भने, ‘भूकम्पपछि मानिसहरू बाहिर जान चाहेनन् झन् अहिले त नाकाबन्दी छ, जसले गर्दा यातायातको अभाव छ त्यसैले पनि बाहिर जाने कामदारको संख्यामा प्रभाव परेको छ ।’ भारततर्फको सीमा क्षेत्रको जनजिवन अझै सामान्य हुन सकेको छैन भने अन्य क्षेत्रमा पनि सहज रूपमा यातायात उपलब्ध छैन ।

अहिले मलेसियामा गएका कामदारको अवस्था भने त्यती राम्रो नभएको बिभागको भनाई छ । मलेसिया आर्थिक मन्दीमा फस्दै गएपछि त्यहाका कम्पनीले कामदारलाई उपलब्ध गराउँदै आएको सेवा सुबिधामा पनि कमी ल्याएका छन् । जसका कारण पनि बाहिर जाने कामदारको संख्यामा कमी आएको बोगटीले बताए ।

मलेसियामा जाने कामदारलाई फ्रि भिसा फ्रि टिकट उपलब्ध गराइएको छ । तर पनि मलेसिया जाने कामदारको संख्यामा भने निकै गिरावट आएको छ । कहि समय अघिसम्म नेपाली कामदारको श्रम गन्तब्यको रूपमा पहिलो स्थानमा रहेको मलेसिया अहिले भने तेस्रो स्थानमा झरेको बोगटी बताउँछन् ।

प्रतिक्रिया