तोडफोड नगर : आयोग

काठमाडौं, २१ माघ । राष्ट्रिय मानवअधिकार आयोगले मधेसी मोर्चाको व्यवहारप्रति आपत्ति जनाएको छ । आयोगले तोडफोड यथाशीघ्र बन्द गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई अनुरोधसमेत गरेको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले बिहीवार प्रेस विज्ञप्ति जारी गरी मोर्चाले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई धनुषा जिल्ला प्रवेशमा रोक लगाई उनीहरूको घर तथा सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको जनाएको हो ।

आन्दोलनका क्रममा सर्वसाधारणको ज्यान जाने गरी कारबाही नगर्न तथा झडप हुने स्थिति आउन नदिई संयमता अपनाउन आयोगले सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । शान्तिपूर्वक भेला भई आन्दोलन गर्न पाउने अधिकारको रक्षा गर्दै वार्ता र संवादका माध्यमबाटै यथाशीघ्र विद्यमान समस्याको हल निकाल्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप हुँदा केही प्रदर्शनकारी तथा प्रहरी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनका क्रममा घाइते भएकालाई निःशुल्क उपचार व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

मोर्चाको विरोधका कारण कांग्रेसका सांसद आफ्नो निवासबाट बाहिर निस्कन नसक्ने अवस्था रहेको आयोगको अनुगमनबाट पाइएको छ ।

प्रतिक्रिया