अझै पाइँदैन तेल, सरकारले भन्यो

no_petrol copyकाठमाडौं, २१ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै आए पनि सोअनुसार आन्तरिक रूपमा मूल्य समायोजन नभएको भन्दै आपूर्ति मन्त्रालयमार्फत् नेपाल आयल निगमलाई निर्देशन दिइएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमशः घट्दै गए पनि सोअनुसार मूल्य समायोजन गरेको छैन ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पनि तत्काल सार्वजनिक सवारी साधनको भाडा घटाउन पत्रमार्फत् निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । उपभोक्तावादी संघसंस्था तथा विभिन्न विद्यार्थी संगठनले इन्धनको मूल्य समायोजन गर्न तथा सार्वजनिक सवारी साधनको भाडा घटाउन आग्रह गर्दै आएका छन् ।

निगमले प्रत्येक महिनाको १ र १५ गते इन्डियन आयल कर्पोरेसनले पठाउने मूल्यसूचीका आधारमा इन्धनको स्थानीय मूल्य तोक्ने गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ३० अमेरिकी डलरको हाराहारीमा छ ।

प्रतिक्रिया