खोजखबर

बागलुङको खानेपानी ५८ प्रतिशत जीर्ण

सौर्य अनलाइन २०७२ माघ २१ गते १२:११ मा प्रकाशित

बागलुङ, २० माघ । जिल्लामा सञ्चालित खानेपानी आयोजनामध्ये बागलुङमा ५८ प्रतिशत योजना जीर्ण अवस्थामा रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले गरेको सर्वेक्षण अनुसार ४२ प्रतिशत आयोजना मात्र सही अवस्थामा सुचारु रहेको पाइएको हो ।

कतिपय आयोजना अलपत्र परेर कामै नलाग्ने अवस्थामा समेत पुगेका छन् । खानेपानीको बढ्दो मागअनुरूप भएका आयोजना सही अवस्थामा सञ्चालन नहुँदा उपभोक्तामा अभाव सिर्जना हुँदै गएको छ । स्तर सुधार र मर्मत नभएका आयोजना पूर्ण क्षमतामा काम गर्न नसकी कमजोर अवस्थामा पुगेको डिभिजन प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए ।

पुराना आयोजनाको लागि ‘पुनःस्थापना’ कार्यक्रम सञ्चालन भए पनि त्यो अपूर्ण रहेको उनको भनाइ छ । ‘पुराना र जीर्ण बनेका खानेपानी आयोजनाको लागि पुनःस्थापना कार्यक्रम छ, तर त्यसको बजेट ज्यादै कम छ’ प्रमुख उपाध्यायले भने ‘यो वर्ष जम्मा २१ लाख रुपैयाँ उक्त कार्यक्रमलाई छुट्टिएको छ, तर अझै स्वीकृत भएर आएको छैन ।’

करोडौँ रुपैयाँ खर्चेर बनेका आयोजनाको रेखदेख, संरक्षण र व्यवस्थापन प्रभावकारी नहुँदा पनि समस्या उत्पन्न हुने गरेको प्रमुख उपाध्यायले बताए । उपभोक्ता समितिमार्फत बनेका आयोजनाले निर्माणपछि व्यवस्थापकीय समस्या झेल्ने गरेका छन् । ‘आयोजना बन्ने बेलासम्म उपभोक्ता समिति पनि एकदमै सक्रिय हुन्छ, बनिसकेपछि बेवास्ता गर्ने परिपाटी छ, जसका कारण व्यवस्थापकीय कमजोरी आउने गरेका छन् ।’ कार्यालयले निर्माणपछि स्थानीयवासीलाई नै आयोजना हस्तान्तरण गर्ने हुँदा संरक्षण, व्यवस्थापनमा पनि समितिको दायित्व रहने प्रमुख उपाध्यायको भनाइ छ ।

सरकारको ८० प्रतिशत र २० प्रतिशत जनसहभागितामा हाल जिल्लामा ५० भन्दा बढी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये ६ वटा आयोजना उच्च÷मध्यमस्तरका ठूला आयोजना छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङका अनुसार जिल्लाको ९० प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय