अब राजधानी केन्द्रित : मोर्चा

काठमाडौं, २० माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्ने बताएका छन् । बुधबारको एक साक्षात्कारमा उनीहरूले आन्दोलनले सबैभन्दा बढी तराई–मधेसकै जनता पीडित भएकोे उल्लेख गर्दै १÷२ दिनमै बस्ने बैठकले नयाँ कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा तराई–मधेस सदभावना पार्टीका वरिष्ठ नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकैनासले धेरै अगाडिसम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित नयाँ कार्यक्रम ल्याउने बताए । उनले भने, ‘हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रयाप्त छलफल गरेका छौँ । रायले ५ महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोले पनि आन्दोलनको स्वरूप परिवर्तन गरे पनि आन्दोलन जारी राख्ने बताए । उनले अबको आन्दोलनलाई उचाइमा पु¥याउन मधेस केन्द्रित आन्दोलनलाई पहाड हिमालसम्म पु¥याउन आवश्यक रहेको तर्क गरे ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रित हुने र त्यसका लागि स्वरूप परिवर्तन आवश्यक भएको भएको बताए । उनले भने, ‘अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौँ । राजधानी केन्द्रित नभई परिवर्तन हुने स्थिति छैन । त्यसैले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ ।’ श्रेष्ठले वार्ताबाट समस्याको समाधान नभए आन्दोलनबाटै छिनोफानो हुने दावी गर्दै सरकारले यथास्थितिवादी चिन्तन नछाडेसम्म समस्या समाधान नहुने बताए ।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबैभन्दा पीडित भएकोले आफूहरू आन्दोलन रोक्न आतुर रहेको भन्दै यसका लागि आफूहरूले उठाएका जायज मागहरूको तत्काल संवोधन हुनुपर्ने बताए । मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दाबी गर्दै सुमनले भने, ‘पीडापर्दा कुटुम्बकोमा जाइन्छ । बिहारका २६ लाख चेली यहाँ बुहारी भएर आएका छन् । नेपालबाट २० लाख बिहारमा बुहारी भएर गएका छन् । आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो । हामीले नैतिक समर्थन खोजेका हौँ, भौतिक समर्थन खोजेको होइन ।’

प्रतिक्रिया