महानगरमा मेसिनले भाडा बुझ्ने सिटिबस

काठमाडौं, १९ माघ । काठमाडौंं महानगरपालिकाले चिनियाँ कम्पनी सिआरआरसीले निर्माण गरेको मेसिनले पैसा बुझ्ने अत्याधुनिक सिटी बस भित्र्याउन लागेको छ । महानगरपालिकाको एक टोलीले हालै मात्रै चीन गएर मेसिनले पैसा बुझ्ने इलेक्ट्रिक बसको अध्ययन गरेर आएको छ ।

सिटी बसको रूपमा भित्राउन लागिएको उक्त बसमा यात्रा गर्न यात्रुले मेसिनमा नोट वा सिक्का खसाल्नुपर्छ । साथै यस खालको बसमा कार्ड समेत प्रयोग गर्न सकिन्छ । यसको सञ्चालनको जिम्मा लिएको कम्पनीले प्रदान गरेको कार्ड देखाएर पनि यो बसमा यात्रा गर्न सकिन्छ ।

एक करोडको हाराहारीमा सिआरआरसीको बस भित्राउने महानगरको योजना रहेको काठमाडौं महानगरपालिकाको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । तर, अहिले यो बसको वास्तबिक मूल्य भने डेढ करोड रुपैयाँ पर्न आउँछ ।

यसमा रहेका एसी तथा अन्य आरामदायी सुबिधा हटाएर यो बसलाई झन्डै एक करोडमा भित्राउने महानगरपालिकाको योजना रहेको छ । यो बस एकपटक चार्ज गरेपछि १ सय २० देखि १ सय ५० किलोमिटरसम्म गुड्ने गर्दछ । यो बस चार्जका हिसाबले २ किसिमका छन् ।

काफ्लेले भने, ‘एकथरी बस १५ देखि २० मिनेटमा चार्ज हुन्छ भने अर्काेथरी चार्ज हुन ३ घन्टा लाग्छ हाम्रो देशको विद्युत्को अवस्था हेर्दा ३ घन्टा जार्च गर्ने उपयुक्त देखेका छौँ ।’ बसको अध्ययन गर्न गएको टोली गत बिहीबार मात्रै काठमाडौं फर्केको छ ।

भारतको अघोषित नाकाबन्दी पछि पेट्रोल तथा डिजेलको अभाव भएपछि विद्युतीय साधन भित्राउन सरकारले तयारी थालेको हो । त्यसै बमोजिम इलेक्ट्रिक बसको अध्ययन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले महानगरका ४ जना उच्चपदस्थ अधिकारीलाई चीन पठाएको थियो ।

‘चीनले हाम्रो बाटोको अवस्था र हाम्रो चाहना बमोजिमको बस निर्माण गरिदिन्छु भनेको छ’, काफ्लेले भने । अहिले यसको बनावट भने काठमाडौंको सडकमा उपयुक्त नहुने काफ्ले बताउँछन् । काठमाडौंको सडकमा पानी जम्ने भएको कारण अहिले यसले राखेको ब्याट्रीको स्थान परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

साथै सिआरआरसीले अहिले ६ मिटर, ८ मिटर, १० मिटर र १२ मिटर लामो बसको निर्माण गर्ने गरेको छ । महानगरपालिकाले भने १० मिटर लामोवाला बस भित्राउने तयारी गरेको छ । अहिले सिसिआरसीले निर्माण गरेको इलेक्ट्रिक बसहरू चीन, युरोप, थाइल्यान्ड, भारत र अमेरिकामा चल्ने गरेका छन् । महानगरपालिकाले भने यो बसमा रहेका आरामदायी सुबिधा हटाउन लागेको छ ।

एसि र आरामदायी सिट राख्दा यसको मूल्य अत्यन्तै महँगो पर्ने भएका कारण महानगरपालिकाले यी सुबिधा हटाउन लागेको छ । बसभित्र सिटभन्दा बढी खाली स्पेस राख्ने महानगरपालिकाको योजना रहेको छ ।

काफ्लेले भने, ‘सिटिबस आरामदायीभन्दा धेरै मानिसले यात्रा गर्न मिल्ने हुनुपर्छ त्यसैले एक लाइनमा मात्रै सिट राखिन्छ भने अन्य तीन लाइनमा मानिस उभिएर यात्रा गर्ने व्यवस्था गरिन्छ ।’ महानगरले यो बस भित्राउने योजना बनाएको भए पनि आर्थिक अध्यादेश नै यो भित्राउनलाई बाधक देखिन्छ । ४१ सिटे बसलाई दिएको सुविधा यो बसले नपाउने देखिन्छ ।

यो बस सिटमा भन्दा पनि मिटरको आधारमा महानगरले भित्राउन लागेको छ । जसले गर्दा आर्थिक अध्यादेशमा दिएको सुविधामा संशोधन गरी मिटरको सुविधा प्रदान नगर्दासम्म भने यो बसलाई नेपाल भित्राउन कठिन हुने महानगरपालिकाले निष्कर्ष निकालेको छ ।

स्रोतका अनुसार महानगरपालिकाले अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ४१ सिटे मात्रै नभई १० देखि १२ मिटर लामो बसलाई समेत कर छुट प्रदान गर्ने प्रावधान ल्याउन पहल गरिरहेको छ ।

महानगरपालिका र ललितपुर उपमहाननगरपालिकाले १२ बस खरिद गर्ने योजना बनाइएको छ । बाँकी ८ वटा भने चीन सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया