सिरियाका दाता राष्ट्रको सम्मेलन लन्डनमा हुन

लन्डन, १९ माघ । सिरियालाई सहयोग गर्दै आएका विश्वका विभिन्न दाता राष्ट्रहरूको सम्मेलन लन्डनमा हुने भएको छ । आगामी बिहीबार सो सम्मेलन हुन लागेको जनाइएको हो । उक्त सम्मेलनमा सिरियाली गृहयुद्धमा परेका नागरिकलाई सहयोग गर्दै आएका देशहरूको सहभागिता हुने जनाइएको छ ।

उक्त सम्मेलनमा सिरियाका दशौंलाख शरणार्थीको सहयोगका लागि आवश्यक रकमको प्रतिबद्धता व्यक्त हुने र आवश्यक रकमका लागि छलफल हुने पनि जनाइएको छ ।

सिरियाका दशौँ लाख नागरिक विगत लामो समयदेखि शरणार्थीका रूपमा बाँचिरहेकोले उनीहरूका साथै युरोपमा छिरेका अन्य शरणार्थीका लागि सो सम्मेलनमा कम्तीमा पनि नौ अर्ब अमेरिकी डलर रकमको प्रतिबद्धता आउने बताइएको छ ।

सो बैठक सिरियाली दाताराष्ट्रहरूका रूपमा यो चौथोपटक बस्न लागेको हो । यसपटकको बैठकमा सिरियाली नागरिककै लागि कम्तीमा पनि ७ अर्ब ७३ करोड अमेरिकी डलर बराबरको रकम जम्मा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

सिरियाली शरणार्थीकै लागि कम्तीमा पनि त्यति रकम आवश्यक रहेको संयुक्त राष्ट्रसंघले पनि बताउँदै आएको छ । साथै यस बैठकमा सिरियाबाहेकका अरू देशका शरणार्थीको सहयोगका लागि पनि आवश्यक परामर्श हुने जनाइएको छ ।

केही समययता युरोपका पनि कयौँ देशमा शरणार्थीको ओइरो लागेको बताइन्छ । जसका कारण त्यहाँ पनि शरणार्थीका लागि आवश्यक सहयोग पुग्न सकेको छैन ।

सोही कारण पनि ती देशका शरणार्थीका लागि तत्कालका लागि करिब १ अर्ब २३ करोड अमेरिकी डलर रकमका लागि दाताहरूले प्रतिबद्धता गर्नेछन् ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सो बैठकको आयोजना गरेका हुन् । उक्त बैठकमा विश्वका कम्तीमा पनि ७० देशका नेताहरूको सहभागिता हुने जनाइएको छ ।

उक्त सम्मेलनमा जर्मन चान्सलर एन्गेला मार्केल, संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुन, लेबनानी प्रधानमन्त्री तम्मम सलाम र चिनियाँ विदेशमन्त्री वाङ यीे सहभागिता रहनेछ ।

सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको मागगर्दै सुरु भएको जनआन्दोलनले त्यसको २ वर्षपछि नै सिरियामा गृहयुद्धको रूप लिएको थियो ।

सो गृहयुद्धमा परी कम्तीमा पनि २ लाख ६० हजार सिरियालीको ज्यान गइसकेको छ । लाखौँ नागरिक घरबारविहीन भएका छन् । सो गृहयुद्धले गर्दा सिरियाका करिब ४५ लाख नागरिकले घर छोडेका छन् । उनीहरू छिमेकी देशहरूमा शरण मागेर बसिरहेको समाचारमा जनाइएको छ ।

गृहयुद्धका कारण घर छोडेर भाग्न बाध्य लाखौँलाख शरणार्थी छिमेकी देशहरू जोर्डन, लेबनान, टर्की, इराक, इजिप्टलगायतमा शरणार्थीका रूपमा बस्न बाध्य भएका छन् ।े

प्रतिक्रिया