अलग अभियानको माघ शृंखला

IMG_5999 copyललितपुर, १८ माघ । अलग अभियानको माघ शृंखला ललितपुर सातदोबाटोस्थित अलग आर्ट हबमा सम्पन्न भएको छ । अलग अभियानको माघ शृंखलामा कविहरू सांकेन बान्तावा, नविन प्यासी, ईश्वर थोकर, जिचेन स्याङ्तान, बम बानियाँ, उदिम किरातीलगायतले कविता वाचन गरेका थिए । मण्डल साम्पाङ, नाकिमाको शब्द र मण्डल साम्पाङकै संगीतमा पार्वती राई र मण्डल साम्पाङ, मोहनकुमार गुरुङको शब्द र दीप श्रेष्ठको संगीतमा रेवत राई, सन्ध्या राईको शब्द र मण्डल साम्पाङको संगीतमा सुनिता राई, नाकिमा, नदीश, प्रतिमा पाठकको शब्द र मण्डल साम्पाङ, राजकुमार समाल, रेवत राईको संगीतमा सागर संसार राई र बाँसुरीवादक पावल थुलुङले ‘ए कान्छा मलाई…’ प्रस्तुत गरेका थिए ।

साहित्यतर्फका अतिथि लक्ष्मी मालीले ‘आमा तिम्रो नाम के हो ?,’ ‘मेरी छोरी’, ‘हली मैसापको वार्ता’, ‘म नेपाली’, ‘न्यूयोर्कको जिन्दगी’, ‘लेकजर्जमा एक साँझ’, ‘प्रश्नै प्रश्न’ शीर्षकका सशक्त कविताहरू वाचन गरिन् । संगीततर्फका अतिथि गायक तथा संगीतकार राजन राईले आफ्ना लोकप्रिय गीतहरू ‘शिरैमा मेरो शिरैको टोपी’, ‘कान थापेर सुनिदेऊ बहिनी’, ‘मेट्न सक्दैनौ हाम्रो पहिचान’, ‘धानै पो नाचिन्छ’, ‘मन जलाउने’ र ‘तारा खसौली’ प्रस्तुत गर्दा युगल गायनमा गायिका आभा मुकारुङले साथ दिएकी थिइन् ।

‘कान थापेर सुनिदेऊ बहिनी’ गीत प्रस्तुत भइरहँदा सहभागीहरू उठेर नाचेका थिए । कवि मालीले कार्यक्रम धेरै राम्रो लागेको र आगामी शृंखलाहरूमा पनि कविता सुनाउन आउने प्रतिबद्धता जनाइन् भने गायक राईले अलग अभियन्ताहरूको सामूहिक प्रयास प्रशंसनीय रहेको र यसले भोलि ठूलो अर्थ राख्ने बताए ।

स्रोताको अनुरोधपछि कार्यक्रमको अन्तिममा गायक कुवेर राईले ‘मायाले मूलबाटो भुलेछ’ र अर्को एक गीत गाएका थिए । गिटारमा रोशन बान्तावा, बाँसुरीमा पावल थुलुङ, हार्मोनियममा मण्डल साम्पाङ, तबलामा यमकुमार समाल, मादलमा रमेश खड्का र फोटोग्राफीमा सुक तुम्रोकले साथ दिएको कार्यक्रमलाई गायिका बबिना किरातीले सञ्चालन गरेकी थिइन् । साहित्य र संगीतको सिर्जनशील यो अभियानको मासिक शृंखला हरेक महिनाको तेस्रो शनिबार सम्पन्न हुँदै आएको छ ।

प्रतिक्रिया