डल्फिनको गणना गर्न पहल

dolphin.jpeg copyधनगढी, १८ माघ । कैलाली जिल्लाका नदीमा वर्षायाममा देखिने डल्फिनको वैज्ञानिक रूपमा गणना गरिने भएको छ । त्यहाँस्थित निजी क्षेत्रको डल्फिन संरक्षण केन्द्र थापापुरको पहलमा डल्फिनको वैज्ञानिक रूपमा गणना गर्न गर्ने पहल थालिएको हो ।

दुर्लभ तथा निकै बुद्धिमानी मानिने जलचर प्राणी डल्फिनको एकिन संख्या पत्ता लगाउन पहल थालिएको केन्द्रका प्रमुख एवं संरक्षणप्रेमी भोजराज श्रेष्ठ ‘गुलेली बाजे‘ले जानकारी दिए । केन्द्रका सचिव विजय श्रेष्ठ र कैलालीमा पाइने डल्फिन संरक्षणमा लागेकी अमेरिकी संरक्षणप्रेमी श्रीमती सारा लेविनले भारतको पटनादेखि भागलपुरसम्म पर्ने गँगा नदीको भागमा डल्फिनको वैज्ञानिक गणनासम्बन्धी दक्षता हासिल गरिसकेको उनको भनाइ थियो ।

गणनामा भारतको पटना विश्वविद्यालय र भागलपुर विश्वविद्यालय (विहार)का प्राध्यापकले समेत सहयोग गर्न लागेको श्रेष्ठले बताए । उनले भने, ‘वैज्ञानिक गणनाका लागि स्वीकृति लिन सरकारसँग पटकपटक आग्रह गरिसकेको छु, ।’ उनले आगामी असारदेखि असोज महिनासम्ममा कैलालीका नदीमा देखिने डल्फिनको गणना गर्ने अठोट लिएको पनि बताए । पानीमा उफ्रिएको अवस्थामा झन्डै ७ वर्षअघि गरिएको गणनाबाट कैलालीका नदीमा १ सय ३० वटासम्म डल्फिन पाइएको दाबी संरक्षण केन्द्रको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले डल्फिन संरक्षणका लागि हालै केन्द्रलाई आर्थिक सहयोग गर्नेबारेमा एक सम्झौता पनि गरेको छ । यो सहयोगबाट स्थानीय बासिन्दाका साथै विभिन्न विद्यालयका विद्यार्थीमाझ डल्फिन संरक्षणसम्बन्धी चेतानामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको छ । कैलाली जिल्लाको मोहना, कांन्द्रा, पथरैया, गौरी नाला, कर्णालीलगायतका नदीमा वर्षायाममा गेङ्गटी प्रजातिको डल्फिन पाइने गरेको छ ।

यो प्रजातिको डल्फिन विश्वमा नेपाल, उत्तर भारत र बंगलादेशमा मात्र पाइने गरेको बताइन्छ । मानिसपछिको दोस्रो चेतनशील प्राणी डल्फिनलाई मानिन्छ । डल्फिनले पानीभित्रै बच्चा जन्माउने र सुतेको बेला पनि घुमिरहने स्वभावका हुने संरक्षणप्रेमी बताउँछन् । डल्फिनको बासस्थान वरिपरिको पानी निकै शुद्ध हुन्छ भन्ने विश्वाससमेत रहेको छ ।

प्रतिक्रिया