फेरि बौरियोे कार्यदल

barta copyकाठमाडौं, १८ माघ । केही दिनअघि भंग भएको घोषणा गरिएको कार्यदललाई प्रमुख दल र आन्दोलनरत मधेसी मोर्चाले फेरि ब्यँुताएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालको पहलमा सोमबार बसेको प्रमुख तीन दल र मोर्चाको बैठकले कार्यदललाई ब्युँताउने सहमति गरेको हो । कार्यदलमार्फत नै सहमति खोज्न सबै पक्ष राजी भएपछि कार्यदल ब्युँताइएको नेताहरूले प्रतिक्रिया दिएका छन् । प्रमुख तीन दल र आन्दोलनरत मोर्चाका चारै नेताबीच सिंहदरबारमा सोमबार दिउँसो बसेको बैठकले कार्यदललाई ब्युत्याउँदै चाँडोभन्दा चाँडो निकास खोज्ने सहमति गरेका हुन् । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यदल जहाँ अड्किएको हो त्यहीँबाट सहमतिको प्रयास सुरू हुने बताएका छन् । कार्यदल मंगलवारबाटै सक्रिय हुने नेता पौडेलले जानकारी दिएका छन् ।

मोर्चाले माफी माग्यो

बैठकमा प्रमुख दलका नेताहरूले कांग्रेसको १३औँ महाधिवेशनका लागि मधेससहित देशभर भइरहेको वडा, गाविस र नगर निर्वाचनमा मोर्चाले गरिरहेको अवरोधको कडा आलोचना गरेका थिए ।

‘मधेसमा कांग्रेसको अधिवेशन बिथोलेर मोर्चाले गरिरहेको निषेधको राजनीतिको हामीले विरोध जनायौँ’, उपप्रधानमन्त्री भीम रावलले भने, ‘मोर्चाका नेताहरूले कांग्रेसको अधिवेशन बिथोल्ने नियत नभए पनि त्यसो हुन गएकोमा माफी माग्नुभयो ।’

मोर्चाका नेताहरूले कांग्रेसको अधिवेशन मधेसका विभिन्न जिल्लामा बिथोलिएको प्रति दुःख ब्यक्त गर्दै आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएका थिए ।

बैठकमा सहभागी नेपाल सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको बताउँदै तत्काल नाका नखुल्ने अडान दोहो¥याए । ‘सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई दिने भनेको राहत तथा क्षतिपूर्ति नदिएसम्म सहमति बन्न सक्दैन’, उनले भने, ‘विगतका सहमति कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर नभएसम्म नाका पनि खुल्दैन, आन्दोलन पनि टुंगिदैन ।’

बैठकबाट बाहिरिँदै संक्षिप्त प्रतिक्रिया दिएका एमाओवादी अध्यक्ष प्रचण्डले जतिसक्दो चाँडो सहमति जुटाएर निकासको प्रयास भइरहेको जनाउँदै त्यसैका लागि आइतबार सत्तारूढ दलको उच्चस्तरीय संयन्त्रको बैठक बसेको बताए । ‘चाँडोभन्दा चाँडो निकास निकाल्न सहमतिको प्रयास भइरहेको छ’, उनले भने, ‘संयन्त्रको बैठक बसेपछि सहमतिको वातावरण बनाउन मैले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई भेटिसकेको छु । अब कार्यदलबाटै सहमति बन्छ ।’

प्रतिक्रिया