उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

samyantra copyकाठमाडौं, १७ माघ । सरकार सञ्चालनका लागि गठित राजनीतिक संयन्त्रको आइतबारको बैठकले नाकाबन्दी खुलाउन प्रयास जारी राख्ने निर्णय गरेको छ । सरकारमा सामेल दलहरूबीचको एकतालाई कायम राख्दै मुलुकमा आइपरेका समस्या हल गर्ने निष्कर्षमा सत्तारुढ दलहरू पुगेका छन् ।

संयन्त्रको बैठकले सरकारमा सहभागी दलहरूबीचको एकता कायम राख्ने, सरकारको कामलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । भारतको अघोषित नाकाबन्दीपछि पनि सरकारको क्रियाशीलता सकारात्मक उद्देश्यका लागि नै केन्द्रित रहेको निष्कर्षसमेत बैठकले निकालेको छ ।

बैठकपछि उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको समसामयिक राजनीतिक विषय, प्रधानमन्त्रीको भारत भ्रमण, सरकारको क्रियाशीलतालगायतका विषयमा छलफल भएको जानकारी दिए । उनले अप्ठ्यारो र असहज अवस्थामा पनि सरकारले जनताको पक्षमा काम गरेको तर, सोचेजति प्रगति हुन नसकेका कारण जनतामा निरासा फैलनसक्नेतर्फ ध्यान दिँदै थप क्रियाशीलता बढाउने निर्णय भएको बताए ।

यस्तै एमाओवादीका महासचिव कृष्णबहादुर महराले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नियमित राखेर जनताको पक्षमा अधिकभन्दा अधिक काम गर्ने निष्कर्ष निकालेको जानकारी दिए । नेपालको संविधानको पहिलो संशोधनपछि पनि मधेसवादी दलले त्यसलाई अस्वीकार गरिरहेको अवस्थामा कसरी अगाडि बढ्ने र कसरी उनीहरूको माग सम्बोधन गर्ने विषयमा सत्तारुढ दलहरूबीच छलफल भएको उनले बताए । वार्ता र संवादमार्फत मधेसवादी दलका मागलाई सम्बोधन गर्ने र उनीहरूले उठाएका जायज विषयलाई राजनीतिक संवादबाट नै हल गर्ने विषयमा मतैक्य भएको छ ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेकोे भारत भ्रमणको क्रममा राष्ट्रिय हितलाई मुख्य केन्द्रबिन्दुमा राख्नुपर्ने र त्यसका लागि आवश्यक तयारी गर्नसमेत बैठकले सुझाव दिएको छ । भारत भ्रमणका क्रममा राष्ट्रिय अखण्डता र स्वाभिमानमा धक्का हुने खालको कुनै पनि निर्णय नगर्न र मुलुकका तमाम् समस्यालाई हल गर्न राष्ट्रिय संकल्प कायम गर्नुपर्नेमासमेत बैठकले जोड दिएको महासचिव महराले जानकारी दिए ।

संयन्त्रको बैठक लामो समय बस्न नसक्दा सत्तारुढ दलकै बीचमा कतिपय विषयमा मतैक्य हुन नसकेको भन्दै संयन्त्रको बैठकलाई नियमित बनाउने विषयमासमेत सहमति भएको छ । बैठकमा सरकारमा सहभागी दलका शीर्ष नेताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया