भूकम्पका कारण माथिल्लो तामाकोसीमा ३ अर्बको क्षति

anchoring copyकाठमाडौं, १६ माघ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भूकम्पका कारण ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको विभिन्न संरचनाहरूमा भूकम्पले ३ अर्ब रुपैयाँ बराबरको क्षति पु¥याएको प्रारम्भिक विवरण आएको जानकारी दिए ।

‘क्षति विवरण संकलनको काम पूरा भइसकेको छैन । ठेकेदार कम्पनीहरूले संकलनको काम गरिरहेका छन’, न्यौपानेले भने ‘आयोजनाको प्रवेशमार्गमा सबैभन्दा धेरै क्षति पुगेको छ ।’ सडकका साथसाथै प्रसारण लाइनलगायत संरचनाहरूमा भूकम्पले क्षति पु¥याएको थियो । अहिले भूकम्पबाट क्षति पुगेको सडक मर्मतको काम भइरहेको छ । बाँधस्थल लामाबगरसम्म सडक पु¥याउने काम भइरहेको छ । भूकम्पका कारण सुरुङमा भने कुनै क्षति नभएको न्यौपानेले बताए ।

आयोजनाको भूमिगत विद्युत्गृहका लागि निर्माण गर्नुपर्ने सुरुङको काम मार्च महिनाबाट सुरु गरिने भएको छ । भूकम्पअघि विद्युत्गृह निर्माण स्थलमा कंक्रिटिङ गर्ने काम भइरहेको थियो । मार्चबाट सुरुङको काम सुरु गर्ने तयारीमा रहेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

लामो मजदुर आन्दोलनपछि निर्माण कार्यले गति लिन लागेका बेला भूकम्पका कारण आयोजना निर्माण सम्पन्न हुने समयावधि पछि धकेलिएको छ । ४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना स्वदेशी लगानीमा दोलखाको लामाबगर गाविसमा निर्माण भइरहेको छ ।

बर्सेनि ऊर्जा संकट बढ्दै गइरहेको सन्दर्भमा यो आयोजनाले ऊर्जा संकट कम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया