क्षेत्रीय रणनीति आवश्यक : मन्त्री चौधरी

काठमाडौं, १६ माघ । स्वास्थ्यमन्त्री रामजनम चौधरीले खुला सिमाना तथा आप्रवासी शरणार्थी लगायतको स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न विश्व स्वास्थ्य संगठनले क्षेत्रीय रणनीति बनाउनुपर्ने बताएका छन् । जेनेभामा जारी विश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको १३८औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री चौधरीले खुला सिमानाका कारण सिर्जित द्विदेशीय आप्रवासी विशेष प्रकारको हुने र त्यस्ता सम्बन्धबाट उत्पन्न हुन सक्ने स्वास्थ्य सम्बन्धी विषयलाई सम्बोधन गर्न संगठनले क्षेत्रीय रणनीति ल्याउनुपर्ने बताएका छन् ।

जेनेभास्थित स्थायी नेपाली नियोगका अनुसार हाल विश्वमा करोडौँ जनसंख्या विस्थापित रहेकामा आप्रवासी, शरणार्थी तथा आन्तरिक विस्थापितहरूको स्वास्थ्यका विषय चुनौतीपूर्ण रहेको उनले बताए । आप्रवासीहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न स्थान र परिस्थिति दृष्टिगत गरी विशेष कार्ययोजना ल्याउनुपर्ने भन्दै त्यसो गर्दा आतिथ्य मुलुकका बासिन्दाको स्वास्थ्य सुविधामा कुनै प्रकारको सम्झौता हुन नहुने उनको भनाइ थियो ।

नेपाल सन् २०१५ देखि २०१७ सम्मका लागि संगठनको कार्यकारी बोर्डको सदस्य रहेकोछ ।

प्रतिक्रिया