सूर्य नेपाल वेस्टर्न ओपन गल्फ २०१५–१६

पोखारा । सूर्य नेपाल वेस्टर्न ओपनको बिहीबार भएको दोस्रो दिनको खेलमा भूवन नगरकोटीले अग्रता लिएका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा भएको खेलमा नगरकोटीले एक स्ट्रोकको अग्रता लिए । डिफेन्डिङ च्याम्पियन नगरकोटीले दोस्रो दिन दुई अन्डर ६८ स्कोर गर्दै कुल ३६ होलको खेलमा तीन अन्डर १ सय ३७ स्कोर बनाए । चौथो सस्करणको सूर्य नेपाल गल्फ टुर २०१५–१६ को खेलमा नगरकोटीले नेपाल नम्बर एक प्रो शिवराममाथि एक स्ट्रोकको अग्रता लिएका हुन् । रोयल नेपाल गल्फ क्लबका श्रेष्ठले दोस्रो दिनको खेलमा तीन ओभर ७३ स्कोर गरे । श्रेष्ठले पहिलो दिन ५ अन्डर ६५ स्कोर गरेका थिए ।

आर्मी क्लबका प्रो धन बहादुर थापा(७२) र सन्जय लामा(६८) का साथ संयुक्त रूपमा तेस्रो स्थानमा रहँदै कुल एक अन्डर १ सय ३९ स्कोर बनाए । कुल ३ ओभर १ सय ४३ स्कोर गर्दै पाँचौँ स्थानमा रहेका सूर्यप्रसाद शर्माले दोस्रो दिन इभन पार ७० खेले । त्यस्तै ३ प्रो. भूबहादुर गुरुङ(७२), रवि खड्का (७१) र पशुपति शर्मा(७५) संयुक्त रूपमा छैठौँ स्थानमा रहँदै कुल १ सय ४६ स्कोर गरे । दोस्रो दिन पाँच ओभर ७५ स्कोर गरेका रामे मगर नवौँ स्थानमा रहे । मगरले कुल ३६ होलको खेलमा ९ ओभर १ सय ४९ स्कोर कार्ड बनाए । दिपक मगर(७५) दशौँ स्थानमा रहँदै कुल १ सय ५१ स्कोर गरे ।

त्यस्तै दोस्रो दिनको ३६ होलको खेलसम्म अग्रता लिएका नगरकोटीले फ्रन्ट नाइनमा एक ओभर ३६ र ब्याक नाइनमा तीन अन्डर ३२ गरे । उनले दोस्रो र छैठौँ होलको सट खेर फाले तर नवौँ होलमा बर्डिज गरे । ब्याक नाइनतर्फ भूवनले १०औँ, १६औँ र १७औँ होलमा बर्डिज प्रहार गरे । पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै पाँच अन्डर ६५ स्कोर गरेका शिवरामले दोस्रो दिन खराब प्रदर्शन गरे । दोस्रो दिन पहिलो नाइनमा एक अन्डर ३५ को सामान्य प्रदर्शन गरेका शिवरामले ब्याक नाइनमा चार ओभर ३९ को खराव प्रदर्शन गरे । शिवरामले पहिलो नाइनमा बर्डी प्रहार गर्दै दिनको राम्रो सुरुआत गरेका थिए तर पाँचौँ होलमा बोगी खेपे । शिवरामले पार ४ को १२औँ होलमा डबल पार गरे ।

उनले ११औँ होलमा एक्लो बर्डी प्रहार गर्दा १८औँ होलको सट खेर फाले । आर्मीका धनले पहिलो नाइनमा दुई ओभर ३८ र दोस्रो नाइनमा एक अन्डर ३४ को स्कोर कार्ड बनाए । आर्मीकै सन्जय लामाले पहिलो नाइन एक ओभर ३६ र दोस्रो नाइन तीन अन्डर ३२ को स्कोर गरे । २४ ओभर १ सय ६४ पश्चात् कट फरम्याट लागू हुँदा २१ प्रो.हरूले फाइनल राउन्डमा प्रवेश पाउनेछन् ।

जसमा एमेच्योरतर्फ १० खेलाडी रहनेछन् । त्यस्तै प्रतियोगितामा जयराम श्रेष्ठ, प्रदीपकुमार लामा र सन्जयबहादुर नेपाली १ सय ५३ का साथ ११औँ स्थानमा रहे । अर्कोतर्फ प्रभातकुमार राजवहाक, विकाश अधिकारी, दिनेश प्रजापति, सविन सापकोटा, रमेश नगरकोटी, रमेश अधिकारी, गोपाल नगरकोटी र चुडाबहादुर भण्डारी कट नियमबाट बाँचे । एमेच्योरतर्फ एक अन्डर ६९ स्कोर गरेका टंक कार्की अग्र स्थानमा छन् ।

उनले कुल ११ ओभर १ सय ५१ स्कोर कार्ड बनाए । टंकभन्दा एक स्ट्रोक पछिरहेका कमल तामाङले तीन ओभर ७३ स्कोर गरे । तेस्रो स्थानमा रहेका जीवन राई (७७) ले कुल १ सय ५४ को कार्ड बनाए । त्यस्तै सदावहार अग्रता लिने शिवकुमार माझी, शुक्रबहादुर राई, मन्दीप केसी, सोनम भूजेल, एसएसपी राजेन्द्र श्रेष्ठ, विनोद के.सी र लक्ष्मीप्रसाद गुरुङ फाइनल राउन्डमा प्रवेश गरे । कुल ५ लाख पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६३ हजार तेस्रो हुनेले ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया