नयाँ जहाज किन्न ३७ अर्ब

maxresdefault copyकाठमाडौं, ११ माघ । नेपाल वायुसेवा निगमले नयाँ ४ वटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ । जहाज अभावका काण अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जनाउँदै निगमले अन्तर्राष्ट्रिय उडानकै लागि नयाँ जहाज खरिदको योजना बनाएको हो ।

निगमले २ वटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र २ वटा न्यारोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम सञ्चालक समितिका अध्यक्ष एवं पर्यटनसचिव दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार निगमले तयार पारेको ३ वर्षे सुधार कार्ययोजना अनुसार जहाज खरिद पहिलो प्राथमिकतामा छ । निगमले ३ वर्षभित्र २ वटा वाइडबडी खरिद गर्ने निर्णय एक साताअगाडिको निगम सञ्चालक समितिको बैठकबाट गरिसकेको छ ।

यो निर्णय निगमले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक हुँदै अर्थमा पेस गरेको छ । अर्थको सहमति पाएपछि यो प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनेछ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि जहाज खरिद प्रक्रिया अगाडि बढ्ने भएकाले पनि धेरै हल्ला नगरी काम नै गर्ने भनेर प्रक्रिया अगाडि बढाएको सचिव थपलियाले बताए ।

निगमले एअरबसको अहिले उडान गरेकै ए३२०–२०० सिरिजका २ सय ५० सिट क्षमताभन्दा माथिका वाइडबडी खरिद गर्ने निर्णय गरेको छ । हाल उडानमा रहेका २ वटा न्यारोबडी १ सय ५६ सिट क्षमताका छन् । यही क्षमतामा थप २ वटा जहाज एअरबसकै जहाज खरिद गर्नेगरी निगमले निर्यण गरेको पनि उनले बताए ।

निगमले दुर्गम क्षेत्रका जनताको सुविधाका निम्ति यात्रु तथा कार्गो सेवा प्रदान गर्न ५ वटा नयाँ हेलिकोप्टर खरिदको तयारी गर्ने निर्णय गरेको छ । निगमले यसअघि हेलिकोप्टरको सम्भाव्यता अध्ययन गर्न समितिसमेत गठन गरेको थियो । निजी क्षेत्रको एकाधिकार तोड्न पनि हेलिकोप्टर खरिद गनुपर्ने देखिएकाले आवश्यक तयारी गर्ने निर्णय भएको थपलियाले बताए ।

भूकम्पपछिको पुनर्निर्माणको काममा कम्तीमा ४÷५ वर्ष प्रयोग गर्न सकिने, हरेक गाविसमा १ हेलिप्याड बनाउने सरकारी नीतिले हेलिकोप्टर सेवा गाउँगाउँमा आवश्यक भएको महसुस भएको छ । दुर्गम क्षेत्रमा यात्रु सेवा दिनुपर्ने भएकोले पनि हेलिकोप्टर आवश्यक भएको थपलियाले बताए । एमआई १७ क्षमताको ठूलो हेलिकोप्टर खरिद गरिने उनको भनाइ छ । यस्तो हेलिकोप्टरले विकास निर्माणको काम गर्न, २० र २२ जना यात्रु बोक्न वा दुर्गम क्षेत्रका जतनाका लागि यात्रु तथा कार्गो सेवा प्रदान गर्न सकिन्छ । निगमले ०४० सालअगाडि पनि हेलिकोप्टर सेवा दिएको थियो ।

वायुसेवा निगमले ३ वर्षे सुधार कार्ययोजना तयार पारेको छ । निगमको आन्तरिक सुधार, आगामी रणनीति तथा तत्काल र दीर्घकालीन महत्वका लागि हुने कामको गतिविधिसहित तयार भएको निगम सुधार कार्ययोजना पहिलोपटक तय भएको थपलियाले बताए । यो योजनामा निगमका कर्मचारीको व्यवस्थापन, आवश्यक दक्ष र प्राविधिक जनशक्तिको आवश्यकताअनुसार आउटसोर्सिङ, निगमको आर्थिक पारदर्शिता, निगम सुधारको निम्ति स्पष्ट कानुनी व्यवस्थासहितको विषय समेटेर सुधार योजना तय भएको छ ।

यो योजनामा अन्तर्राष्ट्रिय गन्तव्य देशमा जनरल सेल्स एजेन्ट्स नियुक्ति, जहाज ग्राउन्डेड हुँदा खरिद हुने आवश्यक उपकरणको तत्काल खरिद, भएकै जहाजको पूर्ण क्षमतामा प्रयोग, अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानका लागि जहाज खरिद तथा हेलिकोप्टर सेवासहितको योजनालाई समेटेर निगमले सुधार योजना तय गरेको हो । अनलाइन टिकटको व्यवस्था तथा अनलाइन टेन्डर प्रणालीसहितका विषयलाई प्राथमिकता दिनेगरी सुधार योजना तय भएको निगमले जानकारी दिएको छ ।

योजनामा पहिलो प्राथमिकता २ वटा वाइडबडीको खरिद नै भएको निगमले जनाएको छ । सरकारले आवश्यक रकम जोहो गरिदिने हो भने जहाज सजिलै ल्याउन सक्ने दाबी निगमको छ । निगमले वाइडबडी र न्यारोबडी दुवैका लागि आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । निगमले आफ्नो पुरानो गन्तवमा मात्रै उडान गर्ने हो भने पनि नाफा गर्न सक्छ । नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया