जग्गामालिक नै धमाधम ‘क’ वर्गको हलिया

जाजरकोट, २९ पुस । जाजरकोट जिल्लामा हलियाको परिचयपत्र प्राप्त गर्नेहरु अधिकांस सँग जग्गा जमिन रहेको तथ्य खुलेको छ । जिल्ला मालपोत कार्यालय जाजरकोटको श्रेष्ता दर्तामा ‘क’ वर्गको हलिया परिचय पाएकाहरुसँग प्रशस्त जग्गा भएको खुलेको हो ।

जिल्लामा ‘क’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येका दसेरा–८ का कालीबहादुर चदाराका बुबा तुले चदाराको नाममा ४३ रोपनी जग्गा दर्ता भएको मालपोतमा भेटिएको छ । मालपोत कार्यालयको जग्गाधनी दर्ता श्रेस्ता अध्ययन गर्दा कालीबहादुर चदारा जस्तै काली वर्गको हलिया परिचयपत्र पाइसकेका ढिमे–५ की नन्दकली कामीका पति धनसिंह कामीको नाममा २५ रोपनी, दशेरा– ९ का मानसिंह चदाराका बुबा ददे चदाराका नाममा २३ रोपनी, साल्मा–५ का वीरवल कामीका बुबा धने कामीको नाममा २७ रोपनी, ढिमे–२ का विर्षबहादुर तिरुवाको आफ्नै नाममा–९ रोपनी, कार्कीगाउँ–६ का जीतबहादुर सार्कीको आफ्नै नाममा पाँच रोपनी जग्गा दर्ता रहेको मालपोत कायौलयको श्रेस्तामा पाइएको छ ।

त्यसैगरी ‘‘क’’ वर्गकै हलिया परिचयपत्र पाउनेमध्येकी साल्मा–५ की मनसरी कामीलगायत हरिबहादुर नेपाली र कल्से कामी गरी तीन जनाको संयुक्त जग्गाधनी दर्ता श्रेस्तामा २३ रोपनी, १४ आना, एक पैसा तीन दाम जग्गा रहेको श्रेष्तामा देखिएको छ । ती जग्गाधनी ‘क’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येकै हुन् । ‘क’ वर्गको हलिया परिचयपत्र लिइसकेका कालीबहादुर चदाराले दुई वर्षसम्म शेरा–८ का नरबहादुर डाँगीको घरमा रहेर हलिको रूपमा काम गरेको विवरण उल्लेख गरेका आधारमा परिचय पत्र लिएका थिए । त्यस्तै साल्मा–५ की मनसरी कामीले साल्मा–५ कै भीमबहादुर बस्नेतको घरमा सात वर्ष हलिया बसेको उल्लेख गरेकी छिन् । ढिमे–२ का वीर्षबहादुर तिरुवा ढिमे–२ कै हिउकली चन्दको घरमा आठ वर्ष, ढिमै–५ की नन्दकली कामीले ढिमे–५ कै कृष्णबहादुर विष्टको घरमा ६ वर्ष हलिया रहेको उनीहरुले पेश गरेको विवरणमा उल्लेख छ ।

जिल्लामा ‘क’ वर्गमा ४६, ‘ख’ वर्गमा ५, ‘ग’ वर्गमा सात र ‘घ’ वर्गमा ७० जना गरी जम्मा १२८ जनाले हलिया परिचयपत्र पाइसकेको जिल्ला मालपोत कार्यालय प्रमुख जनक हमालले बताए ।

उनले जिल्लामा ४ सय ४४ जनाको लगत संकलन भएकामध्ये १६५ जनाको प्रमाणीकरण भइसकेको जानकारी दिएका छन् । हमालकाअनुसार चालु आर्थिक वर्षमा सय जना हलिया पूनःस्थापनाका लागि मन्त्रालयबाट स्वीकृत बजेट एक करोड २८ लाख ६० हजार रुपिँया रहेको छ । जसमा जग्गा खरिद ३५ जना, घर निर्माण पाँचजना, घरमर्मत ६० जना परेको जनाइएको छ । जग्गा खरिदमा प्रति व्यक्ति दुई लाख पाँचसय, घर निर्माणमा प्रति व्यक्ति तीन लाख २५ हजार रुपिँया र घर मर्मतमा प्रतिव्यक्ति एक लाख २५ हजार रुपिँयाका दरले अनुदान दिने जनाइएको छ ।

दुर्गम र भौगोलिक विकताका कारण नेपाल सरकारको मुक्त हलिया पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न निकै गाह्रो भएको भन्दै उनले सबै जिल्लामा हुने सबैखालका जटिलताले मुक्त हलिया पुनःस्थापना कार्यक्रम त्रृटिपूर्ण हुनसक्ने बताएका छन् । जिल्लामा हलियाको लागतमा नभएर तीनपुस्ते विवरणमा जग्गा नभएका सुकुम्वासीको संख्या ११९ जनाको लगत जिल्ला मालपोत कार्यालयमै भएको पनि जानकारीमा आएको छ ।

प्रतिक्रिया