बुल्स रेसमा कुमार पहिलो

Bulls copyकाठमाडौं, २५ पुस । अनलाइन सुक्युरिटिजका कुमार घिमिरे दोस्रो शनिबार भएको नेप्से कर्पोरेट बुल्स रेसमा पहिलो भएका छन् । ५ किलोमिटर दूरी कुमारले १७ मिनेट ४० सेकेन्डमा पूरा गरे ।

लिन्च स्टोक मार्केटका नवीन अधिकारी दोस्रो भए । उनले निर्धारित दूरी तय गर्न १८ मिनेट ४५ सेकेन्ड समय खर्चे । १८ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेका श्री हरि सेक्युरिटिजका इराजकुमार रावत तेस्रो बने ।

पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार जिते । रेस भद्रकालीस्थित नेप्सेको हाताबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः नेप्सेमै आएर टुंगिएको थियो ।

रेसमा आयोजक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका २ सय प्रतिस्पर्धीको सहभागिता रहेको नेप्सेका प्रवक्ता शम्भुप्रसाद पन्तले जनाएका छन् । खेलकुदको माध्यबाट स्टक मार्केटसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गतवर्षदेखि रेसको सुरुआत गरिएको प्रवक्ता पन्तले बताए ।

विजेतालाई २९ पुसमा नेप्सेको वार्षिकोत्सवको अवसर पारेर पुरस्कार दिइने आयोजकले जनाएको छ । रेसमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।

रेसको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेप्सेका अध्यक्ष रामजी रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । विजेतालाई नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बधाइ दिए ।

प्रतिक्रिया