कुरा होइन काम गर

देशको कार्यकारी प्रमुख भनेको काम गर्ने पद हो । कामको नाममा सिन्को नभाँच्ने अनि ठुल्ठूला महात्वाकांक्षी योजना सुनाएर दुनियाँ हसाइरहेका छन् वर्तमान कार्यकारी प्रमुख केपी ओली । एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भनेको त धेरै पटक भयो । अब त हावाबाट विजुली निकाल्ने, फोहरबाट तेल निकाल्ने योजनाको काम होइन, कुरा बुनिन थालेको छ । हुँदाहुँदा शुक्रबार त पाइपलाइनबाट घरका चुलो–चुलोमा ग्यास पु¥याउने नयाँ योजना थपिए । अहिले सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा यसको खिल्ली उडाइएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीलाई बोलीमा विचार गर्न सुझाव दिएछन् । मोहन वैद्यले देशकै बेइज्जत भएको बताएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेको यस्तो हावादारी कुराको उनकै पार्टीका कार्यकर्ताले हाँसोमा उडाए भने अरुले पत्याउने कुरा नै भएन ।

प्रधानमन्त्रीको कुर्सीमा आसिन व्यक्तिले यस्तो हावा गफ त्यसै गरेका पक्कै पनि होइनन् होला । प्रधानमन्त्री चुनिनु पहिले नै विकराल स्थिति थियो धेरैलाई लागेको थियो, विस्तारै ओलीले समस्यालाई समाधान गर्दै जानेछन् । तर, उनी सो कुर्सीमा पुगेको सयदिन नाघ्दासमेत समस्याको थुप्रो घट्नुको सट्टा झन् बढ्दै गएको छ । सय दिन पूरा गर्दासमेत गर्भमै बोकेर ल्याएको नाकाबन्दी र मधेस आन्दोलन अझै प्रशव पीडामै छ । यस्तोमा सरकारको दिनगन्ती सुरु भएको भन्नेहरु बढ्दै गएका छन् । त्यसैले पनि ‘मैले त गर्न लागेको हो तर, सघाउनेभन्दा भन्दा खिल्ली उडाउने धेरै भएर काम गर्नै दिएनन्’ भन्ने देखाउन प्रधानमन्त्री ओलीले यस्तो गफ दिएको धेरैले अनुमान गरेका छन् । कुरा यही हो भने यो उनको आत्मरतीवाहेक अरू हुन सक्दैन । किनभने प्रधानमन्त्री हुँदा उनको लोकप्रियता जति उचाइमा पुगेको थियो त्यसपछि सो लोकप्रियता निरन्तर ओरालो झर्दै सयदिन पूरा हुँदा नहुँदै टुप्पाबाट फेदमा पुगिसकेको छ । उनले मधेसको समस्या त समाधान गर्न सकेनन् नै नाकाबन्दीको समय उत्तरी छिमेकीसँगको ब्यापार विस्तारमा पनि खुट्टा कमाएको प्रष्ट भयो । चीनसँगको व्यापार सम्झौताको हल्ला ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ जस्तो देखियो । आगामी फेब्रुअरीमा पहिले भारत भ्रमण गर्ने निर्णयले उनको राष्ट्रवादी छवि पनि पानीका फोका झै भएका छन् ।

बालुवाटार ओलीलाई सधैंका लागि सरकारले उपलब्ध गराएको निवास होइन । यो मुलुकको कार्यकारी प्रमुखको निवास हो भन्ने हेक्का राख्नेले कुराभन्दा काम गर्छ । सो निवास छोड्दा गर्वसाथ भन्न सक्नु पर्छ ‘म जति यो निवासमा बसेँ, जनताका पक्षमा यो–यो राम्रो काम गरेँ ।’ अहिलेसम्म प्रधानमन्त्रीका रुपमा ओलीका औँला भाँचेर गन्नु पर्ने कुनै काम भएका छैनन् । रुसी लेखक निकोलाइ आस्त्रोभस्कीले भनेजस्तो ‘मृत्यु शैय्यामा जब जीवनका पानाहरु एकपछि अर्को गरी पल्टने छन्’ त्यतिखेर ओलीलाई पश्चाताप हुनेछ । त्यतिखेर हुने पश्च्यातापले मरेपछि पनि आत्माले शान्ति नपाउने हुन्छ । कम्युनिस्ट आदर्श बोकेका प्रधानमन्त्रीले पक्कै आस्त्रोभस्कीको ‘अग्नि दिक्षा’ नामक सो पुस्तक पढेकै हुनुपर्छ । आत्मशान्तिका लागि पनि प्रधानमन्त्री ओलीलाई परिणाम देखिने गरी काम गर्नुको विकल्प छैन । यसमा उनको हित त छदैछ मुलुक र मुलुकवासीको हित पनि यसैमा छ ।

प्रतिक्रिया